उमेर विवादपछि डीआईजी सिंहद्वारा राजीनामा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले राजीनामा दिनुभएको छ । नागरिकता विवादमा तानिनुभएका उहाँले बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर राजीनामा बुझाउनुभएको हो । उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले त्यसअघि नै राजीनामा दिनुभएको हो । राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्नुभएको थियो ।

सिंहको जन्म मिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिले अख्तियारले उहाँको छानविन गरिरहेको छ । अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालयलाई समेत सोधेको थियो । प्रहरी कितावखानामा रहेको रेकर्डमा उहाँको नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको मिति डेढवर्ष बढी फरक परेको पाइएको छ ।

डिआइजी सिंहको २०४२ जेठ २२ गते कैलालीबाट जारी भएको एउटा नागरिकताको प्रतिलिपिसमेत फेला परेको थियो । उक्त नागरिकता प्रमाणपत्रमा नागरिकता जारी भएको बेला सिंह १८ वर्ष उमेर पूरा भएको उल्लेख छ । नागरिकता लगायतका प्रमाणपत्रमा जन्म मितिको विवरणमा वर्ष मात्रै उल्लेख भएको अवस्थामा जारी भएको मितिलाई नै जन्म भएको मिति तथा महिना र गते कायम हुने भनेर प्रहरी निमायवली २०७१ को दफा १२७ का उपदफाहरूमा प्रष्ट रूपमा उल्लेख गरिएको छ । जसअनुसार सिंह २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको भन्ने उल्लेख भएकाले उहाँको जन्म मिति २०२४ जेठ २२ गते नै हुन्छ । तर, उच्च स्रोतका अनुसार प्रहरी सिटरोलमा सिंहको जन्ममिति भने २०२५ पुस १६ उल्लेख छ । यसरी फरक–फरक जन्ममिति पाइएपछि उहाँविरुद्धको छानबिनलाई अघि बढाइएको थियो ।

योसँगै डिआइजी सिंहले पेस गर्नुभएका शैक्षिक योग्यताका प्रमाणपत्रसमेत नक्कली रहेको दाबी गर्दै उजुरीसमेत परेको छ । सिंह आफूले पढ्दै नपढेको भारतीय कलेजबाट नक्कली सर्टिफिकेट ल्याएर प्रहरी सेवामा प्रवेश गरेको दाबी गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?