प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

पाँच हजारको जिम्मा लिन्छु भन्ने प्रचण्डको भनाइविरुद्ध छानबिन गर्न माग

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो । यसअघि सर्वोच्चमा दायरका लागि प्रस्तुत गरिएको रिट निवेदन प्रशासनले दरपीठ गरेको थियो । यो विषय नियमित अदालतमा नभई सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रअन्तर्गत पर्ने भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो । उक्त दरपीठ आदेशविरुद्ध सर्वोच्च अदालतमा अर्को निवेदन परेको थियो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको इजलासले उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो ।

के थियो रिट निवेदन ?
१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो । व्यक्ति हत्यामा संलग्नको पहिचान गर्न कठिनाइ भइरहेका बेला पाँच हजार व्यक्तिको हत्याको जिम्मा आफूले लिन्छु भनेको प्रचण्डको सन्दर्भसमेतलाई उल्लेख गर्दै उनीहरूले यसका अलवा द्वन्द्वकालमा गरिएको सम्पत्ति लुटपाट विस्थापन बेपत्तालगायत सबै घटनाको जिम्मेवारी प्रचण्डले लिनुपर्ने जिकिर गरेका छन् ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यही विषयलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो । सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेस भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । दरपीठ आदेशविरुद्ध निवेदकहरू सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो ।

निवेदकहरूले भने, २०५२ सालमा माओवादीले थालेको सशस्त्र हिंसामा आफ्ना आफन्तहरूको हत्या गरिएको, बेपत्ता बनाइएको र त्यसको मूल जिम्मेवार माओवादी अध्यक्ष प्रचण्ड भएको भन्दै न्यायको माग गरेका छन् । दुई निवेदनमध्ये एउटामा सशस्त्र द्वन्द्वकालमा मारिएकाहरूको हकमा प्रचण्डले सार्वजनिक रूपमा नै जिम्मेवारी लिएकाले उनीमाथि छानबिनको माग गरिएको छ । अर्को निवेदनमा द्वन्द्वका कारण विस्थापित, घाइते र सम्पत्ति हरण भएकाहरूले संलग्नमाथि कारबाही र आफूलाई भरणपोषणको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
न्यायाधीशहरू खतिवडा र फुँयालको इजलासले उक्त निवेदन दर्ता गर्न आदेश दिएपछि निवेदकहरूले आइतबार निवेदन दर्ता गराउने योजना बनाएका छन् ।

निवेदनमा उनीहरूले भनेका छन्, ‘प्रचण्डको हामी निवेदकहरू समेतको परिवारको सदस्य मारेको स्वीकारोक्तियुक्त आपत्तिजनक अभिव्यक्ति (भाषणको ट्रान्सकृष्ट) सूचना सञ्जाल युट्युव तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा हालसम्म प्रसारित÷प्रकाशित भइरहेका हुनाले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउनु (नबढाएमा पीडितलाई अपूरणीय क्षति पुग्न जाने विधिको शासनमाथि प्रश्न चिन्ह उठ्ने सुविधा र सन्तुलनको मान्यताविपरीत पनि हुने भएकोले) भनी विपक्षीहरूका नाममा सर्वाेच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिपाऊँ ।’

अरू निकायमा पनि उजुरी
प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्द्वका पीडित पक्षले उहाँमाथि कारबाहीको माग गर्दै प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायमा पनि उजुरी दिएका थिए । उजुरीमाथि कारबाहीको अपेक्षा राखिए पनि प्रक्रिया अघि नबढाइएको भन्दै हिंसापीडितहरूले प्रक्रिया अघि बढाउन माग राखी सर्वोच्च अदालतमा निवेदन पेस गरेका हुन् ।

पीडित ज्ञानेन्द्र आरण लगायतले हालेको मुद्दामा आफूहरूले न्यायका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोगमा समेत उजुरी दर्ता गराएका छन् । तर, उक्त उजुरीविरुद्ध अहिलेसम्म उक्त कुनै कारबाही नभएको प्रसंग पनि उल्लेख गरेका छन् ।

१० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको सुप्रिम कमाण्डर रहनुभएका पुष्पकमल दाहाल प्रचण्डमाथि बारम्बार आरोप लाग्छ, १७ हजार मान्छे मारेर आएको ।

के हो पाँच हजार मारेको प्रसंग ?
२०६२/६३ को जनआन्दोलन सफल भएसँगै शान्ति प्रक्रियामा आएको माओवादीले ०६४, ०७० र २०७४ को चुनाव लड्यो । प्रचण्ड दुईपटक प्रधानमन्त्री बन्नुभयो भने अहिले तेस्रोपटक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहनु भएको छ । सशस्त्र विद्रोहबाट आउनुभएका अर्का नेता डा. बाबुराम भट्टराईले पनि मुलुकको नेतृत्व सम्हाल्नुभयो । माओवादीले थुप्रैपटक सरकारको नेतृत्व गरिसक्यो ।

तर, प्रचण्डलाई १७ हजार मान्छे मारेको आरोपले पछ्याउन छाडेको छैन । २०७६ सालको माघी महोत्सवमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रूपमा निम्त्याइनुभएको थियो । उहाँभन्दा अगाडि सम्बोधन गरेका केही वक्ताले त्यही १७ हजारको कुरा निकाले ।

सायद यो आरोपले आजित भएर होला, प्रचण्डले यसबारे मुख खोल्नुभएको थियो । सम्बोधनको सुरुमै उहाँले तथ्यांक सच्याउन भन्दै उहाँले भन्नुभयो, मलाई १७ हजार मारेर आएको भन्ने गरिन्छ । यो सत्य होइन ।’ उहाँले भन्नुभएको थियो, ‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको । साथीहरू यो सत्य होइन । यो सत्य होइन, सत्य के हो भने हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर, हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । मैले सधैँ भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर, नगरेको कामको दोष पनि मलाई थुपार्नुभएन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?