राजतन्त्र माओवादीको जनयुद्धले अन्त्य भएको होइन : ओली

‘संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ?’

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी गर्नुभएको छ । २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य नभएको अध्यक्ष ओलीले तर्क गर्नुभयो । ‘२०५२ सालपछि त राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए । नेपालमा भएको के थियो, के प्राप्तिको लागि मारिए ?

बहुदलीय व्यवस्था आएकै थियो । के को लागि मारिए त भन्दा अनौठो छ’, उहाँले भन्नुभयोे, ‘आज गणतन्त्रका लागि भनिन्छ । २०६३ सालको सुरुमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा बृहत् शान्ति सम्झौता भयो कात्तिकमा । ६५ सालमा गएर राजतन्त्र संविधानसभाले हटायो भने जनयुद्धले त हटाएन होला ? जनयुद्धबाट कब्जा त गरेको होइन होला त ? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ?’ अध्यक्ष ओलीले राष्ट्र र जनताको हितविपरीत चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरूले सफल हुन नदिने बताउनुभयो । सुखानीका शहीदहरूको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुःखाए हुनेसमेत बताउनुभयो । राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि अतिक्रमण गरिए वा होच्याउने काम गरिए आफूलाई स्वीकार्य नहुने उहाँको भनाइ थियो । ओलीले भन्नुभयो, ‘नेपाल राष्ट्रको हित, नेपाली जनताको हितभन्दा विपरीत सरकार कुनै पनि कारणले, कुनै पनि हिसाबले चल्न चाहन्छ, खोज्छ भने त्यसको हामी विरोध गर्छौँ । र, त्यस्ता कुराहरूलाई सफल हुन दिँदैनौँ । यहाँ नेकपा एमाले भन्ने पार्टी छ । यसले राष्ट्रहितविरुद्धका कदमहरूलाई सफल हुन दिँदैन ।’

सत्ता समर्थक दलहरूले सत्ता स्वार्थको राजनीति गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरू भने राष्ट्र र जनताको हितका लागि काम गरिरहने बताउनुभयो । उहाँले सत्ता स्वार्थको राजनीति गर्दा देश डुब्छ भने, देशको भूगोलमाथि अतिक्रमण हुन्छ भने त्यसमा टुलुटुलु हेरेर बस्ने नसकिने बताउनुभयो । उहाँले न्याय र समानताको आधारमा सबै राष्ट्रहरूसँग बराबरीको सम्बन्ध आफूहरूले राख्न चाहेको पनि उल्लेख गर्नुभयो । ‘अहिलेको राजनीति नेकपा (एमाले) बाहेकको राजनीति लगभग त्यसमा पनि आफूलाई अलि ठूलो भन्ने अहिले सरकारमा हुने पार्टीहरू या सत्ता समर्थक पार्टीहरू तिनीहरू जम्माजम्मी सत्ताको राजनीति गरिरहेका छन् । स्वार्थको राजनीति गरिरहेका छन् । लाभको राजनीति गरिरहेका छन्,’ उहाँले भन्नुभयो ।

‘कम्युनिष्ट एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक छ’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताउनुभएको छ । झापा विद्रोहका सन्दर्भमा शहीद भएकाहरूको स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको पुनर्गठन, पुनर्निर्माण, एकीकरण, निःस्वार्थ जनसेवा, बलिदान र समृद्ध एवं समुन्नत राष्ट्रका सपना जस्ता झापा आन्दोलनले स्थापित गरेका मूल्य आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरू रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जंगलमा लगी २००९ फागुन २१ गते हत्या गरिएको थियो ।

राजनीतिमा देखा परेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएको उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्र संकुचन, मन्दी र संकटको चरणबाट गुज्रिएको र विगतमा अवलम्बन गरिएका कतिपय आर्थिक विचलन र हानिकारक नीतिका कारण अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा नेपालको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्नचिह्न खडा भएको बताउनुभयो । राजनीतिमा जवाफदेहिता, पारदर्शिता, विश्वसनीयता र मूल्यको केही अर्थ छैन भन्ने जस्ता विकृतिलाई संस्थागत गरिँदा जनतामा नैराश्य निरन्तर बढिरहेको उहाँको भनाइ छ ।

सामाजिक सद्भाव, सौहार्दता र मौलिक मूल्यको विघटन तीव्र बन्दै गएको भन्दै अध्यक्ष ओलीले यो नैराश्यबाट लाभ लिन एकातिर पश्चगामी शक्ति सलबलाई रहेको र अर्कातिर समाजलाई अराजकतातिर धकेल्ने प्रयास पनि तीव्र बन्दै गएको दाबी गर्नुभयो । बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सम्भव भएको भन्दै उहाँले स्थायित्वको बलमा मात्रै राष्ट्रिय हितको रक्षा, विकास र समृद्धि प्राप्ति, सुशासन एवं सामाजिक न्यायको प्रत्याभूति हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?