प्रदूषणको विडम्बनापूर्ण प्रभाव

हिमालय टाइम्स
Read Time = 7 mins

नेपाल विश्वका सुन्दर देशहरूमध्येको एक हो । विशेषतः यहाँको प्राकृतिक सौन्दर्य विश्वभरिका मानिसहरूलाई आकर्षित गर्ने खालको छ । देशको भूगोल सानो छ अथवा विश्वमानचिभत्रमा नेपाल सानो छ तर यहाँजति विविधता अन्यत्र कतै पाउन सकिँदैन । भौगोलिक, सामाजिक, सांस्कृतिक जुनसुकै दृष्टिकोणबाट पनि नेपाल विविधतायुक्त सुन्दर देशका रूपमा चित्रण हुन सक्छ । पानी, खानी, प्राणी, वन, जडिबुटी जुनसुकै कुरा हुन् ती नेपालका पहिचान नै हुन् । तिनले विश्वका मानिसहरूलाई लोभ्याउने गर्दछ । हिमाल त भन्ने नै हो भने नेपालका एकलौटी सम्पत्ति हुन्भन्दा पनि हुन्छ । विश्वका आठ हजारमाथिका चौधवटा हिमशिखरमध्ये आठवटा त नेपालमै मात्र छन् ।

हाम्रा अझै केही हिमशिखरहरूको पहिचान हुन बाँकी नै छ भनिन्छ । ती सबैको पहिचान गर्न सकेको खण्डमा अरू अग्लामध्येका केही हिमालहरू प्रमाणित हुन सक्नेथिए । नेपालमा जातजातिका बीच अझै बढी विविधता छ तर विविधता भएर पनि एकता हाम्रो पहिचान हो । यति भएर पनि हामी हाम्रा आफ्नै कारणले विश्वकै प्रदूषित ठाउँका बासिन्दा बन्न बाध्य भइरहेको छौं । काठमाडौं हाल विश्वकै दोस्रो प्रदूषित शहर बन्नपुगेको छ । काठमाडौं नेपालको राजधानी हो । यो ठाउँ उपत्यकाका रूपमा रहेको छ । यो नेपालकै सबैभन्दा ठूलो र सुन्दर उपत्यका हो । हुन त स-साना उपत्यकाहरू नेपालमा अरू पनि छन् तैपनि यति ठूला उपत्यका अरू छैनन् ।

पूर्वमा अरुण उपत्यका, पश्चिममा पोखरा, दाङ, सुर्खेत उपत्यकाहरू चर्चामा रहेका उपत्यका हुन् तर काठमाडौं उपत्यकासँग दाँजिने उपत्यका नेपालमा अरू छैनन् । काठमाडौं उपत्यका सुन्दरमात्र होइन सम्पन्नशाली पनि थियो । यहाँ अत्यन्त धेरै उब्जनी हुने उर्वर तलैया माटो भएका कारण तराई जत्तिकै उब्जाउ यहाँ हुनेगरेको थियो । पहाडी समशीतोष्ण हावापानीलगायतका कारण नेपालका सबै जिल्लामा र छिमेकी देशबाट आएरसमेत मानिसहरू बस्ने गर्दागर्दै काठमाडौं उपत्यकाको ०.५ प्रतिशत क्षेत्रफलमा झण्डै २० प्रतिशत जनसंख्या स्थायी÷अस्थायी गरी बसोवास गर्दै आइरहेको छ । जति धेरै मानिस त्यही अनुपातमा सवारीसाधनको प्रयोग हुने नै भयो ।

कलकारखानाहरू सञ्चालन हुने नै भए । त्यही अनुपातमा फोहोर मैलाको उत्सर्जन पनि हुने नै भयो । यी विभिन्न कारणले गर्दा यो सुन्दर उपत्यका भएर पनि यहाँको हावापानी र वातावरण प्रदूषित बन्न पुगेको छ । यहाँका बागमती, विष्णुमती, मनोहरा, कर्मनासा, रुद्रमती इच्छुमती मनुमन्तेलगायत खोला ढलमा परिणत भएका छन् । हिउँद महिनामा मात्र होइन बर्खामा पनि यी नदीहरू संलिएर बग्न पाउँदैनन् । यी नदीहरूमा मानिसका मलमूत्रमात्र होइन गलैंचा धोएकोदेखि अन्य विभिन्न रसायनसमेत मिसिनाले यहाँ कुनै प्रकारका जलचरसमेत विचरण गर्दैनन् । स्थल यातायातका साथै हवाईजहाजहरूको आवाज जति नै बेला आइरहेकै हुन्छ । जसले गर्दा ध्वनि प्रदूषणको समस्या अत्यधिक मात्रामा छ ।

यसैगरी यस्ता सवारीसाधन तथा कलकारखानाबाट पैदा हुने धुवाँले गर्दा यहाँको हावा प्रदूषित हुन पुगेको छ । हावामा कार्बन मिसिनाले वायु प्रदूषित बन्न जान्छ । हावामा कार्बन मनोअक्साइड, सल्फर अक्साइड, नाइट्रोजन अक्साइड जस्ता हानीकारक तत्वहरू फैलिन्छन् । पानी पर्दा हावामा भएका यस्ता तत्व मिसिएर जमिनमा झर्छन् र जमिनमा अम्लीयपन आउँछ । उब्जाउ हुँदैन माटोसमेत अम्लीयपनले बिग्रिन पुग्छ । यसमध्ये पनि काठमाडौं उपत्यका हालका दिनमा विश्वकै प्रदूषित शहरहरूमध्ये दोस्रो स्थानमा रहेको तथ्य सार्वजनिक भएका कारण चिन्ता बढ्नु स्वाभाविकै हो । काठमाडौं शहर प्रदूषित हुने कारण यतिमात्रै छैनन् । नेपालका ७७ जिल्लाकै मानिसहरू आफ्नो गाउँघरमा नबसी काठमाडौंमै आएर बस्ने गरेका छन् ।

विकेन्द्रित शासन प्रणाली लागू भएर पनि त्यसले जनतालाई पत्यार दिलाउन सकेको छैन । जनतालाई काठमाडौंमा सबै सुखसुविधा छ भन्ने परेको छ । त्यसैले जम्मा जनसंख्याको २० प्रतिशत जति मानिस काठमाडौं उपत्यकामै केन्द्रित छन् । यस्ता समस्या देखाएरमात्र हुँदैन कारण पत्ता लगाएर समाधान खोज्नुपर्छ । यसको समाधान भनेको एक त कानुन बलियो हुनुपर्छ र त्यसको कार्यान्वयनमा कडाइ गर्नुपर्छ । अर्को कुरा गाउँगाउँमा जनताका लागि सेवासुविधा र रोजगारीका अवसर सिर्जना गर्नुपर्छ, जसले गर्दा गाउँका मानिस गाउँमै रहन सक्ने वातावरण बन्छ । होइन भने यस्ता रेकर्ड थपिँदै जाने र हामी त्यसको अभिलेख तयार गर्दै जाने अवस्था आइनै रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?