अक्षय-तृतीया र परशुरामको अवततार

Read Time = 17 mins
A A- A+

✍️ तोयराज नेपाल
वैशाखशुक्ल तृतीया तिथिलाई अक्षय-तृतीया भनिन्छ । यसै दिन शिवपार्वतीको विवाह भएको भन्ने किंवदन्ती छ । त्रेतायुगको आरम्भ भएकाले युगादि पर्वसमेत भएको हुँदा यस दिनलाई पवित्र पर्व मानिएको हो । यसबारे शास्त्रको वचन यस्तो छ-
झझ वैशाख शुक्लपक्षस्य तृतीयायां च धीमता । गोभूहिरण्यरत्नादि तत्र दत्वा क्क्षयो भवेत् ।। दानं घर्मघटादीनां मधुसूदनपूजनम् । तत्र जप्तं हुतं दत्तं सर्वमक्षय्यमुच्यते ।। यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु । तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।। उदकुम्भान् सकनकान् सान्नान् सर्वरसैः सह । यवगोधूमचणकान् सक्तुदध्योदनं तथा ।। ग्रैष्मिकं सर्वमेवात्र सस्यं दाने प्रशस्यते ।। भविष्यपुराण।
अर्थात् कुनै कुरा थोरै वा धेरै जति दान गरिन्छ त्यो दान अक्षय हुन्छ अर्थात् कहिल्यै नाश हुँदैन । त्यसकारण वैशाखशुक्ल तृतीयालाई अक्षय-तृतीया भनिएको हो ।

यस दिन देवतालाई र पितृलाई उद्देश्य गरेर छुट्टाछुट्टै उदककुम्भदान गर्नुपर्दछ, सुवर्णसमेत राखेर विभिन्न अन्न, जौ, सातु, चामल, गहुँ, चना, दही, विभिन्न रस, ग्रीष्म ऋतुमा फल्ने विभिन्न अन्न र विभिन्न फलसहित घडा दान गर्नुपर्दछ , भनिएको छ । यसका साथै सक्नेले गाई, भूमि, रत्न, ग्रीष्मऋतुमा आवश्यक पर्ने छाता, जुता, लौरो, कपडा, आदि र अरू पनि जे आफूलाई दान गर्न मन लाग्दछ, यथाशक्ति जेसुकै पनि दान गर्न सकिन्छ । यस दिन गरेको दान कल्प कल्पसम्म क्षय हुँदैन, परलोकमा आफूलाई आवश्यक पर्दा प्रप्त हुन्छ, भनिएको हुँदा यथाशक्ति दान गर्नु उपयुक्त कुरा हो । यो दिन त्रेतायुगको आरम्भ भएको हुँदा युगादि पर्व मानेर श्राद्ध गर्नुपर्छ ।

यस दिन दियो, कलश र गणेश पूजा गरी वैशाखका अधिष्ठातृदेवता मधुसूदन (विष्णु) को यथाशक्ति पूजा गरेर दानादि गर्नुपर्छ । पहिले देवताई उद्देश्य गरेर घडादि दानगर्ने/त्यसपछि पितृलाई उद्देश्य गरेर घडादि दान गर्ने ।

देवतका लागि दान गर्दा यस्तो संकल्प गर्नुपर्दछ- अद्येत्यादि देशकालौ संकीर्त्य अमुकगोत्रः अमुकनामशर्माहं/अमुकनामदेवी अहं मम सकलपापक्षयपूर्वकपरमेश्वरप्रीतिद्वारा उदकुम्भदानकल्पोक्तफलावाप्तये ब्राहृमणाय ससुवर्णसान्नोकघर्मघटदानमहं करिष्ये, अस्मिन् कर्मणि अमुकगोत्रम् अमुकनामशर्माणं ब्राहृमणं त्वामहं वृणे ।। यस्तो संल्प गरेर घडालाई धागाले बेरी अन्नमाथि राखी सुवर्ण राखेर त्यसकासाथमा सातु, अन्न फल, ताम्बूल द्रव्य, यथाशक्ति छाता, जुता, लौरो, कपडा आदि दानगर्ने सबै वस्तुहरूराखी
ॐ ब्रहृमाविष्णुशिवात्मकाय सान्नोदकघर्मघटाय नमः यस मन्त्रले चन्दन अक्षता पुष्पादिले घडाको पूजा गरी धूपदीपनैवेद्यादि समर्पण गरेर ब्राहृणलाई पनि पूजा गरी वरण गरेर पुनः कुशादि लिएर संकल्प गर्ने/ ॐअद्येह पूर्वाेच्चरितसंकल्पसिद्धिरस्तु अमुकगोत्रःमुकनामशर्माहं/अमुकनामदेवी अहं मम श्रीमत्पमेश्वरप्रीतये इमं सान्नोदकसुवर्णसक्तुफलछत्रोपानहय ष्टिवस्त्रादिसमन्वितं घर्मघटं वरुणदैवतं पानकं जलं वरुणदैवतम् अन्नं प्रजापतिदैवतं सुवर्णम् अग्निदैवतम् सक्तून् पूषदैवतान् फलं वनस्पतिदैवतं छत्रम् उत्तानांगिरोदैवतम् उपानहौ उत्तानाङगिरोदैवते यष्टिं वनस्पतिदैतां द्रव्यं श्रीविष्णुदैवतम् अद्येह अमुकगोत्राय अमुकशर्मणे सुपूजिताय ब्राहृमणाय तुभ्यमहं सम्प्रददे तत्सन्न मम भनी प्रार्थना गर्ने ।। एषघर्मघटो दत्तो ब्रहृमविष्णुशिवात्मकः। अस्य प्रदानात् सकला मम सन्तु मनोरथाः।। इति । यो प्रार्थना गरी ब्राहृमणलाई दिने र दानप्रतिष्ठा गर्ने ।

त्यसपछि पितृलाई उद्देश्य गरेर सान्नोदक कुम्भ, घर्मघटदान गर्ने । पहिले जस्तै घडालाई धागाले बेरेर घडामा सुवर्ण, चन्दन, कपुर र तिल राखेर प्रतिज्ञासंकल्प गर्ने–अद्येत्यादि…मम समस्तपितृणाम् अक्षय्यतृप्तिद्वारा परमेश्वरप्रीतये सान्नोदकघर्मघटदानमहं करिष्ये, संकल्प गरी कुम्भको र ब्राहृमणको पनि पूर्ववत् पूजा गरी ब्राहृमण वरण गरेर कुशादि लिएर संकल्प गर्ने-अद्येह अमुकगोत्रः अमुकनामशर्माहं/अमुकनामदेवी अहं मम समस्तपितृणां तृप्तिद्वारा परमेश्वरप्रीतये इमं सान्नोदकघर्मघटं वरुणदैवतं सुवर्णम् अग्निदैवतं जलं वरुणदैवतम् अन्न्नं प्रजापतिदैवतं सक्तून् पूषदैवतान् फलं वनस्पतिदैवतम् छत्रम् उत्तानांगिरोदैवतम्, उपानहौ उत्तानांगिरोदैवते यष्टिं वनस्पतिदैवतां वस्त्रं बृहस्पतिदैवतं द्रव्यं श्रीविष्णुदैवतम् अद्येह अमुकगोत्राय अमुकनामशर्मणे सुपूजिताय ब्राहृमणाय घर्मघटदानत्वेन तुभ्यमहं सम्प्रददे तत्सन्न मम, भनी प्रार्थना गर्ने ।। एष घर्मघटो दत्तो ब्रहृमविष्णुशिवात्मकः। अस्य प्रदानात्तृप्यन्तु पितरोकपि पितामहाः।। गन्धोदकतिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् । पितृभ्यः सम्प्रयच्छामि ह्यक्षय्यमुपतिष्ठतु ।। इति। यो मन्त्रले ब्राहृमणलाई दिने र दानप्रतिष्ठा गर्ने । त्यसपछि प्रार्थना गर्ने-

ॐ यस्य स्मृत्या च नामोक्त्या तपो यज्ञक्रियादिषु । न्यूनं सम्पूर्णतां याति सद्यो वन्दे तमच्युतम् ।। ॐ चतुर्भिश्च चतुर्भिश्च द्वाभ्यां पञ्चभिरेव च । हूयते च पुनर्द्वाभ्यां स मे विष्णुः प्रसीदतु ।। ॐ प्रमादात् कु्वतां कर्म प्रच्यवेताध्वरेषु च । स्मरणादेव तद्विणोः सम्पूर्णं स्यादिति श्रुतिः।। ॐ अच्युताय नमः । ॐ अच्युतायनमः । ॐ अच्युताय नमः।। ततः ॐ कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् । करोमि यद्यत् सकल परस्मै नारायणायेति समर्पयामि।। ॐ अच्युतायनमः ३ ।। इति । त्यसपछि टीकाप्रसाद ग्रहण गरी ब्रहृमणभोजन गराउने ।

परशुरामको अवततार
यसै दिन परशुरामको अवततार पनि भएकाले परशुराम जन्मजयन्तीका रूमा पनि यस पर्वलाई मनाइन्छ र परशुरामको पूजाआाराधना पनि गरिन्छ । यी विभिन्न कारणले गर्दा यो पर्व महत्वपूर्ण मानिन्छ ।

ऋचीक ऋषिले गाधि राजाकी छोरी सत्यवतीसँग विवाह गरे । कुनै दिन सत्यवती र सत्यवतीकी आमा गाधिराजाकी रानी दुवैले सन्तानको इच्छा गर्दा ऋचीक मुनिले दुवैलाई छुट्टा छुट्टै पायस चरु तयार गरी आफू स्नान गर्न गए । त्यसै बेलामा छोरीलाई तयार गरिएको चरु आमाले छोरीसँग मागेर खाइन् । आमाको चरु छोरीले खाइन् । ऋचीक ऋषि नुहाएर आएपछि थाहा भयो, चरु साटिएछ । अनि ऋषिले भने-हे सत्यवती तिम्रा भाइ अर्थात् गाधि राजाका छोरा ब्रहृमज्ञानी र तिम्रो छोरो मूर्ख स्वभावको हुनेछ । अनि सत्यवतीले अनुनय विनय गर्दा भइगो त छोरो ज्ञानी नै हुनेछ, तर नाति मूर्ख स्वभावको हुनेछ, भन्नुभयो । त्यसैले गाधि राजाका छोरा विश्वामित्र ज्ञानी भए । सत्यवती र ऋचीकका छोरा जमदग्नि पनि ज्ञानी नै भए । सत्यवतीका नाति जमदग्नि र रेणुकाका छोराका रूपमा भगवान् नारायणले परशुराम अवतार लिनुभयो । पृथिवीमा अनेक दुष्ट राजाहरूले उपद्रव मच्चाइरहेका हुँदा पृथिवीको भार हरण गर्न भगवान्ले मूर्ख स्वभाव लिनुभएको हो ।तर स्वभाव मूर्खको जस्तो भएपनि चारै वेद र धनुर्वेद समेत सबै उहाँलाई कण्ठस्थ थियो ।

अग्रतश्चतुरो वेदाः पृष्ठतः सशरं धनुः। इदं ब्राहृममिदं क्षात्रं शापादपि शरादपि ।। भनेर बुद्धिको काममा ब्राहृमणको प्रतिनिधित्व गर्दछु, मेरा अगाडि मुखमा चारै वेद कण्ठस्थ छन् भने बलको काममा क्षत्रीयको प्रतिनिधित्व गर्न मेरा पछाडि बाण समेतको धनु झुण्डिएको छ । म दुवैतिर तयार छु, भन्नुहुन्थ्यो । जमदग्नि ऋषिका चार भाइ छोरामध्ये कान्छा छोराका रूपमा परशुरामको अवतार भएको थियो । एक पटकको घटना हो । पूजा गर्ने जल लिन गंगाजी गएकी परशुरामकी माता रेणुका गन्धर्व र अप्सराहरूको जलक्रीडा देखेर केहीबेर ढिलो घर फर्किइन् । पत्नी आएपछि ध्यानदृष्टिले विचार गर्दा गन्धर्व र अप्सराको क्रीडामा भुलेर ढिलो घर फिरेको बुझेपछि यो व्यभिचरिणी हो, यसलाई काट, भनी छोराहरूलाई आदेश दिए । जेठादेखि नै पालै पालो गरी अमालाई काट, भन्दा परशुरामका दाजुहरू तीनै भाइले काट्न मानेन्।अन्त्यमा कान्छा छोरा परशुरामलाई दाजुहरूसमेत आमालाई काट्ने आदेश दिँदा परशुरामले बाबुको प्रभाव जानेका हुँदा आज्ञा पाउनासाथै आमा समेत तीनै दाजुहरूलाई काटिदिनुभयो । अनि जमद्ग्नि प्रसन्न भएर के वरदान माग्दछौं ? भन्दा परशुरामले आमासमेत दाजुहरू सबै जीवित हऊन्, साथै उनीहरूलाई जीवन भर आफ्नो मृत्यु भएको थाहा नहवोस्, भनी वरदान माग्नुभयो । जमदग्निले तथास्तु भनी सबैलाई बचाइदिनुभयो । हैहयवंशी राजा अर्जुनले दत्तात्रेयका प्रसादबाट एक हजार हात पाएका हुँदा उनको नाम नै सहस्रार्जुन भन्ने प्रसिद्ध थियो । एक दिन सहस्रार्जुन राजा सेना आदिका साथमा जमदग्नि ऋषिका आश्रममा जाँदा जमदग्निले सबैको ठूलो स्वागत सत्कार गरे । यो सत्कार कामधेनु गाईका कारणबाट भएको हो, भन्ने कुरा राजाले बुझेर ती गाई मागे, तर जमदग्निले नदिँदा जबर्जस्ती हडपेर लगे । त्यसबेला परशुराम त्यहाँ हुनुहुन्नथ्यो । परशुराम आएर सबै हाल बुझेपछि परशुराम हातमा बन्चरो लिएर राजाका तिर लाग्नुभयो । त्यहाँ सहस्रार्जुनको र परशुरामको ठूलो युद्ध भयो । परशुरामले राजाका सबै सेनाका साथमा राजाका हजारै हात काटी अन्त्यमा उनको शिरसमेत काटेर गाई लिएर आउनुभयो । त्यसबेला राजाका छोराहरूले भागेर ज्यान बचाएका थिए ।

त्यसपछि राजालाई मारेको पाप लाग्दछ, त्यो पाप प्रक्षालन गर्न एक वर्ष पर्यन्त तीर्थयात्रा गर, भनेर पिता जमदग्निले आदेश दिएपछि परशुरामले तीर्थयात्रा गर्नुभयो । एक वर्ष सम्म विभिन्न तीर्थ यात्रा गरी घर फिर्ने बेला भएपछि अहिले परशुराम छैनन्, यही मौकामा बाबु मारेको बदला लिनुपर्दछ, भनी सहस्रार्जुनका छोराहरू जमदग्निका आश्रममा आई उनलाई काटेर शिर लिएर गए । त्यसै बेला परशुराम घर आइपुग्दा ता बाबुको शिर काटी राजकुमारले लगेको र आमाले एक्काइसौं पटकसम्म छाती पिट्दै रोएको खबरले मर्माहत भएका परशुराम बाबुको शिररहित देहको सुरक्षा गर्ने काम दाजुहरूलाई जिम्मा लगाएर हातमा बन्चरो लिएर सहस्रार्जुनका छोराहरूसँग युद्ध गर्न जानुभयो र सहस्रार्जुनका छोराका साथै सम्पूर्ण क्षत्रीयहरूको संहार गर्नुभयो । उहाँले एक्काइस पटक पृथिवी घुमेर क्षत्रीयहरूको संहार गरी पृथिवीको भार हरण गर्नुभयो । ती क्षत्रीयहरूका रगतले कुरुक्षेत्रमा नवोटा कुण्डहरू बनाउनुभयो । ती कुण्डहरूलाई परशुराम कुण्ड भनिन्छ । ती कुण्ड अहिले पनि पवित्र परशुराम तीर्थका रूपमा प्रसिद्ध छन् । जसमा स्नान दानादि गर्नाले समस्त पाप नाश भई पितृहरूको उद्धार हुन्छ ।

त्यसपछि पिता जमदग्निको शिर ल्याएर शरीरमा जोडी जमदग्नि ऋषिलाई बचाउनुभयो । जमदग्नि ऋषि अहिले पनि जीवितै हुनुन्छ । उहाँ सप्तर्षिमध्ये एक हुनुहुन्छ भने, परशुराम अष्ट चिरञ्जीवी मध्येका एक हुनुहुन्छ । त्यसपछि परशुरामले बाबु जमदग्निलाई यज्ञमा दीक्षित बसाई अनेक यज्ञद्वारा आत्मस्वरूप भगवान्को आराधना गर्नुभयो । ती यज्ञमा पूर्वदिशा होतालाई, दक्षिणदिशा ब्रहृमालाई, पश्चिमदिशा अध्वर्युलाई, उत्तरदिशा उद्गातालाई, आग्नेयादिकोण ऋत्विक्हरूलाई र बीचको भूमि कश्यप ऋषिलाई दिनुभयो । फेरि उपद्रष्टालाई आर्यावर्त र अरू सदस्यहरूलाई अन्यान्यदेश दक्षिणा दिनुभयो । त्यसपछि ब्रहृमनदी सरस्वतीमा यज्ञान्त स्नान गर्नुभयो । परशुराम अवतारको मुख्य कर्म नै दुष्ट क्षत्रीयहरूको विनाश गर्ने थियो । त्यो काम पूर्ण गर्नुभयो । परशुराम नारायणका दशावतारमध्ये छैटौं अवतार मानिनुहुन्छ । ॐ श्रीकृष्णार्पणमस्तु ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?