बुटवलमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन एकजुट

हिमालय टाइम्स
Read Time = 3 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । बुटवलमा गठबन्धनका पाँच दल एकैठाउँ उभिएका छन् । पाँच दलका केन्द्रीयदेखि नगरस्तरसम्मका नेताहरूले गठबन्धनका सबै उम्मेदवारहरूलाई विजयी बनाउन बुटवलवासीलाई अपिलसमेत गरेका छन् । गठबन्धनका नेताहरूले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिए पनि बुटवलवासीले विकासको अनुभूति गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताएका छन् ।

संयुक्त संकल्प पत्र सार्वजनिक भएपछि बुटवलमा राम्रो वातावरण बनेको बताउँदै उनीहरूले बुटवलमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनका लागि टोलटोलबाट खटिन आ≈वान गरेका हुन् । उनीहरूले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउनका लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न पनि आव्हान गरेका छन् । बुटवलमा प्रमुख पदमा नेपाली कांग्रेसबाट खेलराज पाण्डे र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवारी दिनुभएको छ ।

यस्तै, एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँले यसपालि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध रहेको बताउनुभयो । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनालले बुटवलमा गठबन्धनले जित्ने सुनिश्चित भइसकेको बताउनुभयो । माओवादी केन्द्रका नेता महेन्द्र भुसालले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आव्हान गर्नुभयो । ‘बुटवलको एकदमै बदनाम भएको छ, बुटवलमा भएको बेथिति र अनियमितता रोक्नका लागि पनि यसपटक गठबन्धनले जित्न जरुरी छ, जुनसुकै हालतमा गठबन्धनलाई विजयी बनाउनुपर्छ, त्यसका लागि मुलुकलाई संकटका बेलामा काँध थाप्ने गठबन्धनलाई विजयी गराउनका लागि मतदान गर्न म सबै बुटवलबासीलाई आव्हान गर्दछु ।’ राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठले पनि गठबन्धनलाई विजयी बनाउनका लागि बुटवलवासीलाई आव्हान गर्नुभयो ।

कांग्रेसका नेताहरू क्षेत्रीय उपसभापति परशुराम ढकाल, प्रदेश सदस्य रामबहादुर कार्की, क्षेत्रीय सचिव प्रजापाल गिरीले बुटवललाई साझा बनाउनका लागि पाँच दलीय गठबन्धनले जित हासिल गर्नुपर्ने बताउनुभएको थियो । प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउनका लागि गठबन्धनलाई विजयी बनाउन अपिल गर्नुभयो । यसअघि गठबन्धनले संकल्प पत्र सार्वजनिक गर्दै बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?