स्थानीय तह निर्वाचन-२०७९ : आज रातिदेखि मौन अवधि सुरु हुने, मादक पदार्थ बिक्री वितरणमा कडाइ

हिमालय टाइम्स
Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनको लागि आज (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि मतदान नसकिन्जेलसम्म लागू हुनेछ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाइँदैन ।

यस्तै, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार-प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौन अवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचार सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचार संहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ ।

मौन अवधिमा विभिन्न सामाजिक सञ्जालमार्फत पनि प्रचार-प्रसार गर्न नपाइने उहाँले बताउनुभयो । मौन अवधि सुरु हुनु अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोष्टहरू हटाउन र नयाँ पोष्ट नगर्न निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

तीन दिन सीमा नाका बन्द हुने
यस्तै, आजै मध्यरातदेखि चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । आज राति १२ बजेदेखि मतदान हुने दिन शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै आजदेखि जाँड रक्सी बिक्री वितरणमा पनि कडाइ गरिनेछ । आयोगले वैशाख मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

गण्डकीका मुख्यमन्त्रीसहित राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई सोधियो स्पष्टीकरण
निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्पष्टीकरण सोधेको छ । सरकारी गाडी लिएर कांग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकीका मुख्यमन्त्री नेपाली पोखरेललाई स्पष्टीकरण सोधेको हो । उहाँलाई आयोगको पत्र प्राप्त भएको मितिले तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी जवाफ पेश गर्न निर्देशन दिएको छ ।

त्यस्तै, राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । चितवनको भरतपुरस्थित गणेश थानमा निर्वाचन आचारसंहिता विपरीत भूमिको निस्सा बाँड्ने काम गरेको भन्दै आयोगका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्कालाई तीन दिनभित्र आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । साथै आयोगले निर्वाचन आचारसंहिता विपरीत समाचार छापेको भन्दै गोरखापत्र लगायतका सञ्चार माध्यमलाई स्पष्टीकरण सोधेको उहाँले बताउनुभयो ।

वर्षाबाट निर्वाचन सामग्रीको सुरक्षा गर्न निर्देशन
निर्वाचन आयोगले मतदान हुने समय बिहान ७ बजेदेखि मतदान हुने देशभरका सबै मतदान केन्द्रमा मतदानको समय र मतगणनाको समयमा वर्षातले समस्या पार्न सक्ने भएकाले निर्वाचन सामग्रीको सुरक्षा गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार वर्षातका कारण आउन सक्ने समस्या समाधानका लागि आयोगले सबै स्थानीय तहहरूलाई मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न पनि भनेको छ । संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई यसबारे निर्देशन गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचनको मिति वैशाख ३० गतेभन्दा अघि वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गर्न पनि सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देश गरेको छ । यसैगरी, आयोगले कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई सचेत गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?