मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु, ११ घाइते सबैको अवस्था गम्भीर, शोकमा पूरै गाउँ

Read Time = 4 mins

स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । १४ जनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे दश बजेको समयमा वालिङ-१४को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका-१४ पञ्चमूल अर्खलबास बस्ने ७० वर्षीया भीमकला कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया फूलदेवी कुँवर, ६३ वर्षीया माया पुन, ५० वर्षीय कुलदीप कुँवर, नौ वर्षीय प्रविण कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ५० वर्षीया टेककला कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४२ वर्षीया ज्ञान दली कुँवर, ४३ वर्षीया जानुका कुँवर र ५० वर्षीया मीना कुँवर हुनुहुन्छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनाका घाइतेहरूको थप उपचार पोखराको गण्डकी मेडिकल कलेजमा भइ®हेको छ । घाइतेहरू सबैको अवस्था गम्भीर रहेको बताइएको छ । सबैलाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि पोखरा पठाइएको थियो । पोखरा पठाइएका घाइतेहरूमा वालिङ नगरपालिका-१४ पञ्चमूल अर्खलबासकी बेलमाया कुँवर, चालक भूलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवर रहनुभएको छ ।

ग२च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जिप सडकबाट खसेको थियो । सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेको र उहाँको वालिङमै उपचार भइरहेको छ । तिवारी पसलको मतदान केन्द्रमा मतदान गर्न आउँदै गरेका उनीहरूको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँ नै पूरै शोकमा डुबेको छ । मृतकमध्ये १३ जना कुँवर परिवारका छन् । जिप सडकबाट पाँच सय मिटर तल पुगेको थियो ।

यसैबीच, दुर्घटनालाई लिएर कांग्रेसले शोक वक्तव्य जारी गरेको छ । उक्त दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसले दुःख व्यक्त गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभयो । साथै कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ‘सभापति देउवाले उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?