आजदेखि संसद्को बजेट अधिवेशन सञ्चालन हुँदै, सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न सभामुखको अपिल

Read Time = 5 mins

काठमाडौं । आज (मंगलबार)देखि संसद्को बजेट अधिवेशन सञ्चालन हुँदैछ । संघीय संसद्का दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुन लागेको हो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम जेठ ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद्को अधिवेशन बोलाउनुभएको थियो ।

बर्खे अधिवेशनको पहिलो बैठकका लागि संसद् सचिवालयले कार्यसूचीहरू तय गरेको छ । जसमा अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउनेदेखि अर्थमन्त्रीले २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेसम्मका कार्यसूची छन् ।

वार्षिक बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण मन्त्रिपरिषद्ले बर्खे अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । तर, बजेट ल्याउनुअघि पूरा गर्नुपर्ने प्रक्रिया नियम निलम्बन गरेर मात्र पूरा हुने भएको छ । जेठ ३ गतेदेखि संसद्को अधिवेशन बोलाइएकाले संसद् नियमावलीबमोजिम बजेट प्रस्तुत गर्ने दिनभन्दा १५ दिनअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्री–बजेट) सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्नुपर्छ । तर, स्थानीय तहको निर्वाचनका कारण समयमा प्री-बजेट छलफल गर्ने अवस्था रहेन । प्रक्रियागत रूपमा प्री-बजेट छलफल सकिएपछि सरकारको नीति तथा कार्यक्रम ल्याउने गरिन्छ । पूर्व-बजेट छलफल सामान्यतया झण्डै एकमहिना गर्नुपर्ने भए पनि यसपटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि प्रमुख प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद् अधिवेशन चल्न दिएको छैन । एमाले नेतृत्वको सरकारले गत वर्षको जेठमा अध्यादेशबाट बजेट ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेका कारण अध्यादेशबाट बजेट ल्याइएको थियो । संसद्को हिउँदे अधिवेशन २०७८ मंसिर २८ गते सुरु भई चैत १ गतेसम्म चलेको थियो ।

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गर्नुभएको छ । सोमबार संसद् भवन अवलोकनका लागि नयाँ बानेश्वर पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मंगलबारदेखि सुरु हुने संसद्को अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गर्नुभएको हो ।

उहाँले आफ्नो कुराकानी नभए पनि कानुनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताउनुभयो । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरूका बीचमा समझदारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताउनुभयो । उहाँले सर्वसम्मत भइसकेको विधेयकहरूलाई अगाडि बढाउनका लागि राजनीतिक दलहरूका बीचमा समझदारी भएमा त्यसलाई अगाडि बढाउन संसद् सचिवालय तयार रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?