शिक्षकले खोले आफ्नै लगानीमा सहकारी

Read Time = 5 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । पाल्पाका शिक्षकहरूले आफ्नै लगानीमा सहकारी स्थापना गरेका छन् । यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट्टै सहकारी सञ्चालनमा ल्याएका हुन् । शिक्षकहरूको पेशागत क्षमताको विकाससँगै आर्थिकरूपमा सबल र सक्षम बनाउने उद्देश्यले सहकारी स्थापना गरिएको बताइएको छ । सो संस्थामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमात्र सदस्य बन्न पाउँछन् । हाल एक सय ४१ जना सेयर सदस्य रहेका छन् भने सहकारीको पुँजी सात लाख रहेको छ । शिक्षकहरूले जिल्लाभर कार्य क्षेत्र रहने गरी गत फागुन १८ गते दर्ता गरी शनिबारदेखि विधिवत्रूपमा सहकारी सञ्चालनमा ल्याएका हुन् ।

एक कार्यक्रमबीच सहकारीको उद्घाटन तथा प्रथम साधारणसभा गरिएको छ । सहकारीको शिक्षक महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गर्दै पाल्पामा शिक्षक संघले शिक्षकको पेशागत हितसँगै रचनात्मक गतिविधिमा समेत सक्रियता देखाएको भन्दै संघको प्रशंसा गर्नुभयो । उहाँले शिक्षकलाई पेशागतरूपमा सक्षम बनाउन सहकारीको अवधारणा ल्याइएको बताउनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘शिक्षकको आर्थिक अवस्था अत्यन्त कमजोर हुन्छ, उनीहरूले आफ्ना छोराछोरीको विवाह, व्रतबन्ध, पूजाआजा गर्न पनि गाउँका साहुबाट ऋण लिनुपर्ने अवस्था छ । त्यसको अन्त्यका लागि पनि सहकारीको अवधारण ल्याइएको हो ।’ उहाँले सदस्यता वृद्धि गर्दै लैजान सहकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले शिक्षकहरूले सहकारी सञ्चालन गरेर अनुकरणीय कार्य गरेको बताउनुभयो । हरेक तह र तप्कामा रहेका व्यक्तिहरू उत्पादन, श्रम र रोजगारसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँँले शिक्षकलाई सबल र सक्षम बनाउन सहकारी महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गर्नुभयो । सभापति श्रेष्ठले गरिब, विपन्न र असहाय नागरिकको घरदैलोसम्म सेवा प्रवाह गर्न सहकारीलाई आग्रह गर्नुभयो ।

शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा रूपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछानेले सहकारीमार्फत् अन्य आर्थिक स्रोतको पहिचान गर्र्न आग्रह गर्नुभयो । उहाँले सहकारीले विद्यालय र मिडिया सञ्चालन गर्ने, विद्यालयका लागि आवश्यक शैक्षिक सामग्रीसमेत उत्पादन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल कर्मचारी युनियन संघका पूर्वकेन्द्रीय सदस्य लिला अर्याल, नेपाल सरकारका पूर्वउपसचिव श्रीकृष्ण नेपाल, शिक्षक संघ रूपन्देहीका उपाध्यक्ष रूपकुमार रायमाझी, सदस्य चतुर्भुज रेग्मी, संघका संस्थापक अध्यक्ष मिनबहादुर केसी, संघका पूर्वअध्यक्षहरू लक्ष्मण बस्याल, देवीप्रसाद भट्टराई, एन्टो पाल्पाका अध्यक्ष धु्रवराज पन्तलगायतको उपस्थिति रहेको थियो । सहकारी स्थापनामा सहयोग पु¥याउने लिला अर्याल र श्रीकृष्ण नेपाललाई सम्मानसमेत गरिएको छ ।

सहकारीको अध्यक्षमा गाहा
कल्याणकारी शिक्षक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा धनकला गाहा चयन हुनुभएको छ । सहकारीको प्रथम साधारणसभाबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो । गाहा शिक्षक संघको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । साधारणसभाले उपाध्यक्षमा शारदा पाण्डे, सचिवमा अशोक घिमिरे, सहसचिवमा सुन्दर गाहालाई चयन गरेको छ भने सदस्यमा आशा आले, डिला रानाभाट, धनकुमारी राना, डोलराज गौतम रहनुभएको छ । पाँचसदस्यीय सल्लाहकारमा नेपाल शिक्षक संघका सल्लाहकार मीनबहादुर केसी, सीता कार्की, ममता ज्ञवाली, संघका पूर्वअध्यक्षहरू लक्ष्मण बस्याल, देवीप्रसाद भट्टराई रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?