स्थानीय तह निर्वाचनमा चार नयाँ दलको प्रवेश

Read Time = 14 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । आइतबार अबेरसम्म पाँच महानगरपालिकासहित तीन दर्जन स्थानीय तहको परिणाम आउन बाँकी छ । आइतबारसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दास्रो स्थानमा रहेका छन् । मत परिणाम अन्तिम चरणमा पुगिसकेकोले पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको स्थान परिवर्तन हुने सम्भावना छैन । यो स्थानीय तह निर्वाचनले राजनीतिक दलहरूको समीकरण परिवर्तन भएको छ भने केही नयाँ दलहरूको स्थानीय तहमा उदय भएको छ ।

यो चुनावमार्फत स्थानीय तहमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, सिके राउतको जनमत पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र रविन्द्र मिश्रको विवेकशील साझा पार्टी स्थानीय तहमा उदय भएका छन् । यीमध्ये तीन पार्टी अस्तित्व रक्षा गर्न सफल भए पनि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी भने अनपेक्षित परिणाम ल्याउन सफल भएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं.१ मा फराकिलो मतान्तरले विजयी हुनुभएका रेशम चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टीको गठन गर्नुभएको हो ।

२०७२ सालमा टीकापुर घटनामा संलग्नता पुष्टि भएपछि अहिले पनि जेलजीवन बिताइरहनुभएको छ । सोही घटनाका अभियुक्त चौधरीले फरार रहेकै अवस्थामा पनि २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जित्नुभएको थियो । आफू जेलमै रहेको अवस्थामा पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ मध्ये चार स्थानीय तह जितेर ठूला राजनीतिक दललाई चक्मा दिएको छ । चौधरीको पार्टी कैलालीमा सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको छ । चौधरीको पार्टीले टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिका जित्दा स्थानीय तह निर्वाचनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तीनवटा स्थानीय तह मात्र जितेको छ ।

कुनै बेला देश विखण्डनको नाराले देशै तरंंगित बनाउनुभएका सिके राउतको पार्टीले सप्तरीका हनुमान नगरी कंकालिनी नगरपालिका र बालन-विहुल गाउँपालिका गरी दुई स्थानीय तह जितेको छ । मधेशवादी पार्टीबाट लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री हृदयेश त्रिपाठीले पछिल्लो समय ‘जनता प्रगतिशील पार्टी’ नामक दल खोल्नुभएको थियो । सो पार्टीले रुपन्देही मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जित्दै अस्तित्व जोगाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा वैकल्पिक शक्तिको हुँकार दिएर उदाएको विवेकशील साझा पार्टीले यो निर्वाचनमा बाराको फेटा गाउँपालिका जितेर अस्तित्व जोगाएको छ । विवेकशील साझाका उम्मेदवार अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा निलम साहले जित निकालेका छन् ।

१३ दलको मात्र अस्तित्व
२०७२ साल असोजमा संविधानसभाबाट जारी संविधानअनुसार दोस्रोपटक भएको स्थानीय तह निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा ७९ राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये चुनावमा जितका आधारमा १३ वटा दल अस्तित्वमा देखिएका छन् । दर्ता भएकामध्ये १३ दलले स्थानीय तहको नेतृत्व (मेयर/अध्यक्ष) जितेर अस्तित्व राखेका छन् ।

१३ दलमा क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । यस्तै, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा पार्टी र जनप्रगतिशील पार्टीले पनि चुनाव जितेर स्थानीय तहमा अस्तित्व राखेका छन् । आइतबारसम्म ११ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनले के पायो ? के गुमायो ?
स्थानीय तहको सम्पूर्ण नतिजा आइसक्न बाँकी रहे पनि नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, जसपा चौथो र एकीकृत समाजवादी पाँचाँै स्थानमा रहने लगभग निश्चित देखिन्छ । चुनावले राजनीतिक समीकरण र शक्ति सन्तुलन देखाइसकेको छ । स्थानीय तह निर्वाचन मुख्यगरी नेपाली कांग्रेस नेतृत्वकोे पाँच दलीय सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नेतृत्वमा विभिन्न सात दल सम्मिलित गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । विशेष गरी सत्तारूढ पाँच दलीय गठबन्धनमा चुनावी तालमेल सफल भयो कि असफल भन्ने विषयमा अनौपचारिक बहस सुरु हुन थालेको छ ।

स्थानीय तह निर्वाचनबाट प्रतिपक्ष दल एमालेलाई साइजमा ल्याउने उद्देश्यले देशभर चुनावी तालमेल गर्ने निर्णय गरे पनि सत्तारूढ पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले ७५३ मध्ये करिब एकतिहाइ पालिकामा मात्र चुनावी तालमेल गर्न सफल भए । तर, व्यवस्थापन कमजोर बन्दा तालमेल गरेका पालिकामा गठबन्धनले सोचेअनुसार सफलता पाउन सकेन । पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेलाई कमजोर बनाउनु रहे पनि सोचेअनुसार सफलता पाउन सकेन । कतिपय पालिकामा नेकपा एमालेका उम्मेदवारले गठबन्धनका संयुक्त उम्मेदवारलाई पराजित गरेको छ ।

तर, चुनावी तालमेलकै कारण लामो समयदेखि एमालेको गढको रूपमा रहेका कतिपय पालिकामा सत्ता गठबन्धन एमालेको विरासत भत्काउन भने सफल भएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस २०४९ सालको स्थानीय तह निर्वाचनपछि पहिलोपटक स्थानीय तहमा पहिलो पार्टी बन्न सफल भयो । सत्तारूढ दलका घटकसँग चुनावी तालमेल गरेरै कांग्रेसले ३० वर्षदेखि एमालेको किल्लाको रूपमा रहेको बुटवल, इटहरी उपमहानगरपालिका र कीर्तिपुर, कागेश्वरी महनोहरा, बिहादी लगायतका पालिकामा एमालेको गढ भत्काउन सफल भयो । गठबन्धनकै अर्को घटक माओवादी केन्द्रले बाराको जितपुर सिमरा उपमहानगरपालिका जस्तो एमालेको किल्ला भत्काउन सफल भयो भने गत भदौमा मात्र एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादीले गठबन्धनकै कारण पोखरा र हेटौँडा उपमहानगर जस्तो एमालेको किल्ला तोड्न सफल भएको छ ।

गठबन्धनकै कारण दोलखा, रामेछाप, ओखलढुंगा, जुम्ला लगायतका जिल्लामा एमालेले हात धुनुपरेको छ । सत्तारूढ गठबन्धनकै घटक जनता समाजवादी पार्टीलाई भने चुनावी तालमेलको फाइदा देखिएन । एक्लै लड्दा पनि बलियो दलको रूपमा देखिने गरेको समाजवादी यसपटकको चुनावमा मधेशमै कमजोर देखिएको छ । परिणाम सोचेअनुसार नआएपछि जनता समाजवादी र एकीकृत समाजवादीका कतिपय नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाइसक्नु भएको छ । गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले विगतमा आफ्नो पकडमा रहेका पालिकालाई निरन्तरता दिए पनि गठबन्धनबाट फाइदा लिएर आफ्नो प्रभाव विस्तार गर्न सफल भएन । तालमेल गरेर चुनावी मैदानमा गए पनि गठबन्धनले घोराही, कलैया लगायतका पालिकामा एमालेको गढ भत्काउन सकेन । समग्रमा हेर्दा पाँच दलीय सत्तारूढ गठबन्धनले जुन उद्देश्यका साथ चुनावी तालमेल गरेको थियो, त्यो उद्देश्यमा गठबन्धन २५ प्रतिशत मात्र सफल भएको देखिन्छ ।

यी हुन् राजनीतिक दललाई पछारेर जित निकालेका स्वतन्त्र उम्मेदवार
यसपटकको स्थानीय तह चुनावमा स्वतन्त्रको लहर नै चल्यो । आइतबार सम्मको नतिजा हेर्दा ७५३ स्थानीय तहमध्ये ११ स्थानीय तहको नेतृत्वमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार दुई उपमहानगरपालिका, तीन नगरपालिका प्रमुखमा र ६ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार धरान उपमहानगरपालिकोको प्रमुखमा हर्क साम्पाङ (राई), धनगढी उपमहानगरपालिकाको प्रमुखमा गोपाल हमाल विजयी हुनुभएको छ । यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा प्रह्लादकुमार बुढाथोकी, जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा राजुसिंह कठायत, कालिकोटको खाँडाचक्र नगरपालिका प्रमुखमा कमलबहादुर शाहीले दलका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको छ ।

बैतडीको डिलासैनीमा सन्तोषप्रकाश जोशी, भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा दौलथकुमार कुलुङ, ओखलढुंगाको मानेभञ्ज्याङको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा कार्मा छोइवेल गुरुङ, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा मोहनबहादुर केसी र हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा प्यारीलाल शाही निर्वाचित हुनुभएको छ ।
स्वतन्त्रबाट महोत्तरीको बर्दिबास नगरपालिकाको उपप्रमुखमा तारा देवी, डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्षमा पेम्मावाङछेन गुरुङ, मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको उपाध्यक्षमा छिरिङ गुरुङ र बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुख रामबहादुर बोहरा निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?