राई सूर्य नेपाल गल्फ च्याम्पियनसिप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । अन्तिम दिन ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २६९ को सानदार नतिजा निकालेर राईले उपाधि उचाल्नुभयो ।

करियरकै उत्कृष्ट स्कोर निकाल्नुभएका उहाँले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौँ उपाधि हात पार्नुभयो । उपाधिसँगै दुई लाख ५० हजार नगदसहित उहाँ पहिलोपटक नेपाल नम्बर एक गल्फर बन्न सफल हुनुभएको छ ।

२ ओभर ७४ सहित समग्रमा १३ अन्डर २७५ स्कोरसहित निरज दोस्रो हुनुभयो । तेस्रो हुनुभएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाउनुभयो । अन्तिम दिन २-अन्डर ७० स्कोर गर्नुभएका भुवनले समग्रमा १२ अन्डर २७६ स्कोर गर्नुभयो । एमेच्योर वाङचेन डोन्डुपले १ ओभर ७३ सहित समग्रमा ११ अन्डर २७७ सहित एमेच्योरतर्फ उपाधि जित्नुभयो ।

अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०-अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो हुनुभयो । सुवास तामाङले समग्रमा ७ अन्डर २ सय ८१ सहित पूर्णबहादुर शर्मासँग संयुक्तरूपमा छैटौँ रहनुभयो ।

सूर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदरपत्रसहित सम्मान गरिएको थियो । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित चारदिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योरसहित ५४ खेलाडीको सहभागिता थियो भने प्रतियोगितामा कुल पुरस्कार राशि १४ लाख ६१ हजार रहेको थियो । जहाँ प्रथम विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रोले क्रमशः एक लाख ५५ हजार र एक लाख १० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?