देशभर १४ हजार ४०२ महिला निर्वाचित

हिमालय टाइम्स
Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय सरकारको नेतृत्वमा पुग्ने महिलाको संख्या वृद्धि भएको छ । २०७४ सालको तुलनामा यसपालि पालिकाको नेतृत्वमा पुग्ने महिलाको संख्या बढेको हो । गत निर्वाचनमा १८ जना महिला पालिकाको नेतृत्वमा पुगेका थिए । यसपटक उक्त संख्या बढेर २५ पुगेको छ । यसपालि २५ वटा स्थानीय सरकारको नेतृत्वमा महिला निर्वाचित भएका हुन् ।

पालिकाको नेतृत्वमा पुग्ने महिलाको संख्या बढे पनि उपप्रमुखमा भने महिलाको संख्या घटेको छ । यो निर्वाचनमा महिलाको संख्या घटेर साँढे पाँच सयमा झरेको छ । संवैधानिक व्यवस्थाअनुसार एउटै दलबाट प्रमुख/उपप्रमुखमा एकजना महिला उम्मेदवार अनिवार्य गरेकोमा यसपटक दलहरूले गठबन्धन गरेपछि उपप्रमुखमा निर्वाचित हुने महिलाको संख्या घटेको हो । कतिपय पालिकामा गठबन्धन दलहरूले प्रमुख/उपप्रमुख दुवैमा पुरुष उम्मेदवार बनाएका थिए ।

स्थानीय तह निर्वाचन कुल १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । ५५ हजार ६९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४०२ महिला निर्वाचित भएका हुन् । सबैभन्दा धेरै महिला मधेश प्रदेशमा निर्वाचित भएका छन् भने सबैभन्दा कम कर्णालीमा निर्वाचित भएका छन् । प्रदेश १ मा दुई हजार ४५५ जना महिला निर्वाचित भएका हुन् । त्यस्तै, मधेश प्रदेशमा दुई हजार ७७० जना निर्वाचित भएका छन् । बागमतीमा दुई हजार ३४७, गण्डकीमा एक हजार ६२२, लुम्बिनीमा दुई हजार १२४, कर्णालीमा एक हजार ५२४ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५६० जना निर्वाचित भएका छन् ।

एक/एक महानगर र उपमहानगरमा महिला नेतृत्व
मुलुकका ६ महानगरमध्ये एउटामा मात्रै महिला मेयर निर्वाचित भएका छन् । चितवनस्थित भरतपुर महानगरमा रेनु दाहाल मेयरमा निर्वाचित हुनुभएको हो । यसअघि पनि भरतपुरको नेतृत्व गरिसक्नुभएकी उहाँ नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको थियो । महानगरको नेतृत्व गर्ने उहाँ एक्लो महिला हुनुहुन्छ । भरतपुरबाहेक अन्य पाँच महानगरमा भने पुरुष मेयर निर्वाचित हुनुभएको छ ।

११ उपमहानगरमध्ये एकमा मात्रै महिला नेतृत्व पुगेको छ । मकवानुपुरको हेटौँडा उपमहानगरमा मीनाकुमारी लामा मेयरमा निर्वाचित हुनुभएको छ । यसअघि हेटौँडाको उपमेयर रहनुभएकी लामा नेकपा (एकीकृत समाजवादी)बाट मेयरमा निर्वाचित हुनुभएको हो । उपमहानगरको नेतृत्व गर्ने उहाँ एक्लो महिला हुनुहुन्छ । अन्य १० उपमहानगरको नेतृत्वमा पुरुष पुगेका छन् ।

महानगर र उपमहानगरको उपप्रमुखमा एमालेको कब्जा
एक/एक महानगर र उपमहानगरको नेतृत्वमा महिला पुगे पनि उपप्रमुख हुने महिलाको संख्या भने धेरै छ । ६ महानगरमध्ये चार वटामा महिला उपप्रमुख निर्वाचित भएका छन् । वीरगञ्ज र भरतपुरबाहेक चार महानगरमा महिला उपप्रमुख निर्वाचित भएका छन् । भरतपुर र वीरगञ्जमा पुरुष नै उपप्रमुखमा निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल निर्वाचित हुनुभएको छ । उहाँ नेकपा (एमाले)बाट उपमेयरमा निर्वाचित हुनुभएको हो । ललितपुरमा एमालेकै मञ्जली शाक्य उपप्रमुखमा निर्वाचित हुनुभएको छ । त्यस्तै, विराटनगर र पोखरामा पनि एमालेबाटै उपप्रमुखमा निर्वाचत भएका छन् । विराटनगरमा शिल्पा निरौला कार्की र पोखरामा एमालेकै मन्जुदेवी गुरुङ उपप्रमुखमा निर्वाचित हुनुभएको छ । चार महानगरको उपमेयरमा महिला निर्वाचित भएकोमा चारैजना एमालेबाट निर्वाचित भएका छन् ।

उपमहानगरमा पनि महिलाको उपस्थिति कमजोर छ । ११ मध्ये एकमा महिला प्रमुख भएकोमा पाँच उपमहानगरमा मात्रै महिला उपप्रमुख निर्वाचित भएका छन् । पाँचै महानगरको उपप्रमुखमा निर्वाचित महिला नेकपा एमालेकै उम्मेदवार हुन् । उपमहानगरमध्ये धनगढीमा नन्दकला राना, तुलसीपुरमा स्यानी चौधरी, घोराहीमा हुमाकुमारी डिसी, बुटवलमा शावित्रादेवी अर्याल र इटहरीमा संगीता चौधरी उपप्रमुखमा निर्वाचित भएका छन् । ६ महानगरमध्ये एउटाको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका छन् । ११ मध्ये पाँच उपमहानगरको प्रमुख र उपप्रमुखमा महिला शून्य छन् ।

मतगणना अन्तिम चरणमा, बाजुराको बूढीगंगा नगरपालिकामा मतगणना नै सुरु भएन
स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । बिहीबार अबेरसम्म ७५० पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्य दुई पालिकाको अन्तिम नतिजा बिहीबार रातिसम्म आइसक्ने छ । प्राप्त परिणामअनुसार कांग्रेसले ३२७ सिट जितेको छ दुईमा अगाडि छ । एमालेले २०५सिट जितेको छ । माओवादी केन्द्रले १२१ सिट जितेको छ । जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६, राप्रपाले चार र अन्यले २६ ठाउँमा जितेका छन् ।

बाजुराको बूढीगंगा नगरपालिकाको विवादमा भने निर्वाचन आयोगले नै निर्णय दिन सकेको छैन । कांग्रेस र एमालेले एक-अर्कालाई धाँधलीको आरोप लगाएपछि त्यहाँ मतगणना सुरु नै हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?