सबैका आफ्ना आफ्ना बाहना

हिमालय टाइम्स
Read Time = 6 mins

काममा लगनशीलता हुँदाको कुरा फरक हो तर कामबाट पन्छिने हो भने त अनेक प्रकारका बाहना पाइहालिन्छ । अरू त के सरकारमै बसेका मानिस नै आफ्नो जिम्मेवारीबाट अनेक बाहना बनाएर पन्छिने गर्छन् । पदमा पुग्नु भनेको काम गर्न हो भन्ने मान्यता मेटिँदै गएको छ । राजनीति त अझै यस्ता काममा अरू क्षेत्रभन्दा दुई कदम अगाडि छ । त्यसैले हाम्रो देशमा बेलाबेलामा बहस हुने गर्छ, राजनीति समाजवसेवा हो कि जागिर भनेर । हुन त राजनीति भनेको समाजसेवा नै हो तर राजनीतिमा लागेका र विभिन्न पदमा रहेका मानिसको प्रवृत्तिले गर्दा राजनीति समाजसेवा हो भन्ने मान्यतामा तुषारापात हुँदै गएको छ । राजनीति त पेशा व्यापार वा जागिर हो भन्ने राजनीतिक व्यक्तिहरूका प्रवृत्तिबाट पुष्टि हुँदै गएको छ ।

त्यत्तिमात्र होइन समाजसेवी कार्य गर्नेमध्ये सबैले विशुद्ध समाजसेवा गरिरहेका छैनन् । सममाजसेवाका नाममा आफ्ना स्वार्थ परिपूर्ति गर्नेहरू धेरै छन् । जो व्यक्ति जुन कार्यका लागि त्यहाँ पुगेको छ वा जुन निकाय जुन कामका लागि स्थापना भएको छ तिनले आफ्नो जिम्मेवारीका काम पूरा नगरेका वा समयमा पूरा नगरेको उदाहरण धेरै भेटिन्छन् । आज जेठ महिनाको १३ गते बितिसकेको छ । नेपालमा वैशाख महिना लाग्नासाथ शैक्षिक सत्रको सुरुवात हुन्छ । कक्षा सुरु हुनु भनेको पठनपाठन सुरु हुनु हो । पठनपाठनका लागि पाठ्यपुस्तकको आवश्यकता पर्छ तर अहिलेसम्म पाठ्यपुस्तकको छपाइमा भएको छैन भन्दा छक्क पर्नुपर्ने अवस्था छ ।

जनक शिक्षा सामग्री केन्द्रले यसका लागि रूस र युक्रेन युद्ध तथा निर्वाचलाई कारण देखाएर पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जनाएको छ । यी कारणलाई पूर्णरूपमा नकार्न नसकिएला तर ढिलाइमा यी मात्र कारण होइनन् भनेर अनुमान गर्न गाह्रो पर्दैन । नेपालमा विद्यालय तहका पुस्तक छाप्ने जिम्मेवारी पाएको आधिकारिक निकाय हो जनक शिक्षा सामग्री केन्द्र लिमिटेड । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमबमोजिक विभिन्न विषयका विद्वान मानिसलाई पाठ्यपुस्तक लेखनको जिम्मेवारी दिने गरिन्छ र त्यसरी तयार भएका पाठ्यपुस्तकको छपाइको काम जनक शिक्षाले गर्दै आएको छ । विद्यालय तहका पाठ्यपुस्तक छपाइको सम्पूर्ण जिम्मेवारी जसिसाकेको रहेको हुनाले यस विषयमा केन्द्रमै यसको दायित्व रहेको छ ।

कुन समयमा पुस्तक छपाइ गर्दा समयमै मेची-महाकाली पुर्‍याउन सकिन्छ भन्ने कुराको लेखाजोखा त केन्द्रले गर्नु नै पथ्र्यो । शैक्षिकसत्र सुरु भएको दुई महिना बित्न लाग्दा नेपालका मेची-महाकालीका विद्यार्थीका हातमा पाठ्यपुस्तक पर्न नसक्नु भनेको प्रशंसायोग्य विषय निश्चय होइन । रूस र युक्रेनको लडाइँ कारण वा नेपालमा हालै स्थानीय तहको निर्वाचनका कारणले विद्यार्थीहरूले पढ्न नपाउने भन्ने होइन । त्यसको बाबजुद केन्द्रले किन तयारी गर्न सकेन । अबको केही समयपछि प्रथम त्रैमासिक परीक्षा आउने बेला हुन्छ । ती विद्यार्थी जसले पाठ्पुस्तक नै पाएका छैनन् तिनले कुन पुस्तक पढेर परीक्षा दिने ? यो संवेदनशील प्रश्न हो ।

सबै विद्यार्थीका दाजुदिदी नहुन सक्छन् र तिनले पढेका पुराना पुस्तकले सबैको माग पूरा नहुन सक्छ । कतिपय पुस्तक हराएर र च्यातिएर गएका हुन्छन् तीबाट विद्यार्थीले काम लिन सक्दैनन् । नयाँ पुस्तक पढ्ने रहर धेरैको हुन्छ । रहर पूरा नभए पनि पुरानैबाट काम चलाऊँ भन्दा पाइँदैनन् भने तिनले के पढ्ने ? अबको केही समय पुस्तक छाप्नै लाग्ला अनि तिनलाई मेची-महाकाली पु¥याउन समय लाग्छ । अनि शैक्षिकसत्र सुरु भएको तीन चार महिनापछि प्राप्त भएको पुस्तक विद्यार्थीहरूका लागि लगनपछिको पोतेजस्तो मात्र हुन जान्छ । अब जति ढिलो भयो भइगयो अझै सकेसम्म सम्बन्धित निकायले यथासक्य छिटो छपाइ गरेर देशका सबैभागमा पाठ्यपुस्तक पु¥याउनु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?