बालेन्द्र साहहरूको उदय र सामना गर्नुपर्ने चुनौतीहरू

Read Time = 16 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
भारतको पञ्जाव राज्यमा आमआदमी पार्टीबाट मुख्यमन्त्री बनेका भगवन्त मानले आफ्नै मन्त्रिमण्डलका स्वास्थ्यमन्त्री डा.विजय सिंगलालाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरेर कारबाहीका लागि प्रहरीको जिम्मा लगाएका छन् । आफैंले गरेको स्टिङ अपरेसनमा मन्त्रीले हरेक कारोबारमा एक प्रतिशत कमिसन माग गरेको पुष्टि भएपछि उनीमाथि कारबाही भएको हो । मन्त्री स्वयंले पनि भ्रष्टाचार गरेको स्वीकार गरिसकेकाले उनी सजायको भागी बन्ने पक्का भएको छ । आम आदमी पार्टीका मुख्यमन्त्रीको यो कदमले सर्वत्र प्रशंसा कमाएको छ । अन्य मन्त्री र प्रशासकको मुटुमा ढ्यांग्रो ठोकेको छ भने उनको यो जनमुखी कदमबाट जात, धर्मका नाममा राजनीति गर्नेहरूलाई सधैं जनतालाई भ्रमित पार्न नसकिएला कि भनेर चिन्ता पसेको छ ।

नेपाली जनताले खोजेको कुरा माक्र्सवाद लेनिनवादसम्बन्धी सैद्धान्तिक भाषण होइन, न त प्रजातान्त्रिक समाजवादका नाममा व्यवहारमा आसेपासे पुँजीवादलाई पोस्ने परिपाटी हो । जनताले खोजेको भ्रष्टाचाररहित सहज सेवा प्रवाह र जनजीविकामा सहजता हो । जनजीविका र सेवा प्रवाहमा चुस्ततालाई केजरीवाल मोडेल वा सिद्धान्त भन्न मिल्ने भए नामकरण गरिदिए हुन्छ । सिद्धान्त र आदर्शका बौद्धिक बहसमा लाग्नुभन्दा जनचाहना बुझेर व्यवहारवादी बन्नु नै अहिलेका जनताको चहना हो । पञ्जावका मुख्यमन्त्रीको आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई थुनेर कारबाही गर्ने विषयले नेपाली युवाहरूको मनमा त्यहाँ जस्तै मुहानबाट नै शुद्धीकरण गर्ने दिन कहिले आउने होला भनेर उत्सुक बनाएको हुनुपर्छ ।

स्थानीय चुनाव २०७९ को परिणाम अनुसार नेपाली युवाहरूले बालेनबाट केजरीवालको जस्तो सेवा प्रवाहमा सुधारको अपेक्षा गरेको पाइन्छ । हालको परिणामबाट नेपाली कांग्रेस पार्टी प्रसन्न रहेको विषय पार्टीका प्रवक्ताले जारी गरेको विज्ञप्तिबाट सार्वजनिक भइसकेको छ । तर, यो प्रसन्नता जनताको भित्री मन जितेर प्राप्त भएको नभई बाध्यात्मक रूपमा जनता धेरै खराबभन्दा कम खराब विकल्प छान्नुपर्ने अवस्थामा पुगेका हुन् । यो नितान्त अस्थायी प्रकृतिको जनमत हो । एमालेलगायत पार्टी छिन्नभिन्न भएको र सबैजसो पार्टी मिलेर गठबन्धन बनेको कारण र ओलीको बलमिच्याइँ र एकलौटीपनलाई परास्त गर्न उजागर भएको जनमत हो ।

एमालेमा ओली प्रवृत्ति र ओलीको अवसान भएको दिन यो सबै परिदृश्यमा बदलाव आउने सम्भावना प्रबल छ । त्यो काम आगामी संसद्को निर्वाचन अगाडि नै पनि हुन असम्भव छैन । विविध कारणले अहिलेको सत्ता नेतृत्वसँग असन्तुष्ट रहेको उत्तर छिमेकीलगायत विदेशी शक्ति र देशभित्र बसेर काम गरिरहेका शक्तिहरूले यसका लागि भगीरथ प्रयत्न गरिरहेका कारण यो धेरै कठिन विषय नबन्न सक्छ ।

नेपाली जनता अहिलेका ठूला पार्टी कांग्रेस र एमालेलगायत कर्मबाट असन्तुष्ट भएका कारण काठमाडौं, धरान, धनगढीलगा यतक्षेत्रमा स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धी उम्मेदवारभन्दा ठूलो मतान्तरले विजयी भएको कुराले पुष्टि गरेको छ । हुन त कांग्रेस प्रवक्ताले यसलाई अपवाद भएको र यसलाई सामान्यीकरण गर्न नमिल्ने बताउँनु भएको छ । तर, यो विषय उहाँले बताए जस्तो सहज भने छैन । बालेन्द्रहरूको विजयले जनता खासगरी युवा जनमत विकल्पको खोजीमा रहेको संकेतलाई इन्कार गर्न मिल्दैन ।

नेपाली कांग्रेस पार्टी सम्भावित प्रधानमन्त्रीमा वैकल्पिक र लोकप्रिय उम्मेदवारको नाम सार्वजनिक नगरी अहिलेकै उराठलाग्दो नेतृत्वको निरन्तरताको मनशायले चुनावमा गयो भने पतनको मार्गमा जाने निश्चित छ । किनभने जनता युवा र सक्षम उम्मेदवारको खोजीमा रहेका छन् भन्ने पक्का छ । गठबन्धनका अन्य पार्टीहरूको अवस्था गत चुनावमा खासै प्रतिकूल देखिएको छैन । माओवादी केन्द्रले २०७४ को निर्वाचनमा भन्दा सुधार गरेको छ । पार्टीका ठूला नेता एमालेमा दलबदल गरेको अवस्थामा पार्टी संगठनमा कम क्षति पुग्नु र एमालेमा गएका नेताहरूको पक्षमा खासै जनमत नदेखिनु माओवादी नेतृत्वका लागि प्रसन्नताको विषय बनेको हुनुपर्छ ।

प्रतिष्ठाको विषय बनाइएको भरतपुर महानगरपालिकामा कांग्रेसका विद्रोही उम्मेदवारको उम्मेदवारीको बाबजुद आशा गरिएको भन्दा निकै ठूलो मतान्तरबाट रेणु दाहालको विजय हुनुले नेता प्रचण्डलाई सफलता मिलेको छ । अर्को गठबन्धनमा रहेको जसपाले, पार्टी विभाजन, नातावाद, आकर्षक र स्वीकार्य नेतृत्वको अभावको बाबजुद लगभग पहिलेकै अवस्थामा कायम रहन सक्नुलाई सन्तोषको विषय मानेको हुनुपर्दछ ।

एकीकृत जनता समाजवादी पार्टी संगठन विस्तार गर्न नपाई तयारीविना चुनावमा गएर पोखरा महानगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा विजयी बन्नुलाई गुणात्मक रूपमा सफलता मिलेको मान्न सकिन्छ । यद्यपि संख्यात्मक रूपमा कम नतिजा देखिएको छ । तर, मूलपार्टी एमालेले एउटा पनि महानगरपालिका प्रमुखमा उपस्थिति देखाउन सफल नभएको अवस्थामा पोखरा महानगरपालिका प्रमुखको विजय ओलीसँगको वाकयुद्धमा समाजवादीका नेतालाई बचाउ गर्ने विषय बनेको छ ।

यो सफलताको जगमा गठबन्धनलाई निरन्तरता दिएर कांग्रेसको वर्तमान नेतृत्व नै संसदीय निर्वाचनपछिको नेता बन्ने परिस्थितिमा निर्वाचनमा गयो भने कांग्रेसले अघि सारेको असक्षम नेतृत्वको विकर्षणको भुँमरीमा गठबन्धनमा रहेका सबै दल पर्न बेर लाग्ने छैन । यस्तो बेलामा लाभ एमालेलाई पुग्नेछ भने देशव्यापीरूपमा बालेन्द्रहरूले संगठित उम्मेदवारी दिए भने कांग्रेस एमालेलगायत ठूला पार्टीहरूलाई विद्युतीय झट्का लाग्ने सम्भावना प्रचुरमात्रामा रहेको छ ।

बालेन्द्रहरूका चुनौती :
बालेन्द्रहरूप्रति मतदाताहरूको प्रेम, प्रेमिल किशोरकिशोरीको प्रेम जस्तै हो । जसले एकअर्काका लागि आकाश खसालिदिने वाचाबन्धन गरेका छन् । जीवन रंगीन हुनेबाहेक अरू कुनै सम्भावना देखेका छैनन् । जब विवाह बन्धनमा बाँधिएर व्यावहारिक जीवनको प्रारम्भ हुन्छ । सोचे झैँ जिन्दगी रैनछ भन्ने गीत गुनगुनाउनुपर्ने अवस्था बन्न पुग्दछ । बालेन्द्र साहमा सबै विलक्षणता देख्ने मतदाताहरू उनले शपथ लिएको क्षणपश्चात् हैरानीको सुस्केरा लाउने अवस्थामा पुग्न बेर लाग्दैन । बालेन्द्र बनाउँने मै हुँ भन्ने तन्नेरी, अधबैंसे र प्रौढहरूको समूह उनको सीमित सल्लाहकार समूहमा र नजिकमा बस्न नपाएपछि कुरा काट्न थाल्नेछन् भने, कतिले चिन्दा पनि नचिनेको भनेर मन दुखाउने छन् ।

उनलाई माला र खादा लिएर फोटो खिचाउने र सामाजिक सञ्जालमा पोष्ट गर्न इच्छुकको भीडले केही साता उनलाई कामको लय समात्न कठिन हुनेछ । पुरानो नेतृत्वले दलीयकरण गरेको कर्मचारीतन्त्र मनमा कुण्ठा लिएर बसेको कारण उनको गति र कर्मचारीतन्त्रको गतिमतिमा तादात्म्य नरहने सम्भावना बलवान् रहेको छ । बालेनले यस परिस्थितिलाई चिर्दै मतदाताको आकांक्षालाई तत्काल सम्बोधन गर्नुपर्ने अवस्था रहेको छ । चुनावको समयदेखि नै फोहोरको डंगुरमा डुबिराखेको काठमाडौंको फोहोर उठाउने काम बालेनका लागि सर्वाधिक प्राथमिकताको विषय हो ।

हाललाई बञ्चरे डाँडामात्र फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइट हो । त्यहाँका बासिन्दाका रबरभन्दा बढी तन्किने मागहरू पूरा गर्न लगभग असम्भव छ । विवाह व्रतबन्धदेखि हरिवंश पुराण लगाउनुपर्नेसम्मका असंगठित तबरले आउने घरलौरी मागहरू पूरा गर्न लौरी चिहृनधारी बालेनका लागि असम्भव त छँदैछ त्यसमाथि सत्ता समीकरण टिकाउनुलाई महान् उपलब्धि ठान्ने, काम गर्ने इच्छाशक्ति र रंगढंग नभएको सरकारसँग काम गर्नुपर्ने अवस्था छ । वार्ता वा प्रहरी हस्तक्षेप गरेर त्यहाँका जनताको अनावश्यक अवरोधलाई हटाएर फोहोर विसर्जन गर्ने वातावरण बनाउन सामथ्र्य नै राख्न नसक्ने सरकारसँग समन्वय गरेर काम गर्नु फलामको चिउरा चपाउनुसरह छँदैछ ।

महानगरको उपमेयरलगायत सबै सदस्य पार्टीगत झण्डाबाट विजयी भएका कारण उनलाई असहयोग गर्ने परिस्थिति बन्ने सम्भावना छँदैछ । एकै पार्टीका पदाधिकारी निर्वाचित हुँदा खाने पिउने र विकासका सवालमा एक हुन नसक्ने प्रतिनिधिसँग समन्वय गरेर काम गर्न चुनौतीपूर्ण छ ।

एमाले अध्यक्ष ओलीको व्यक्तिगत रोजाइमा परेकी उपमेयरमार्फत ओलीले बालेनलाई असफल बनाउँन सुरुदेखि लागि पर्ने सम्भावना पनि छँदैछ । विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई सहन नसक्ने ओलीले काम गर्ने मनशायले आएका बालेनलाई उपमेयरमार्फत ठेगान लगाउँने नियत राखे भने अनौठो नमान्दा हुन्छ । किनकि, ‘अहं ब्रहृमाद्रस्मि’ भन्ने ओलीको मौलिक स्वभाव हो । अव्यवस्थित बसोबास भएको शहर भएको कारण टोल बस्तीमा खुला स्थानको नितान्त अभाव छ । भएका स्थानहरूको पनि संरक्षण हुन सकिरहेको छैन । खुला स्थान थप गर्न त कठिन छ, भएका स्थानको संरक्षण र सौन्दर्यीकरण गर्न सकियो भनेमात्रै पनि नगरवासीले परिवर्तन महसुस गर्नुपर्ने अवस्था छ ।

ट्राफिक जाम नगरको अर्को समस्या हो । सम्बन्धित निकायसँग समन्वय गरेर समयमै गन्तव्यमा पुग्नसक्ने परिस्थिति बन्यो भने पनि नगरवासीबाट स्यावासी पाउनुपर्ने अवस्था छ । प्रदूषित खोलाले नगरको मुहारमा कालो मोसो नै दलेर कुरूप बनाएका छन् । खोला र नगर सौन्दर्यीकरणमा नागरिकको आनीबानी जम्मिेवार रहेको छ । धार्मिक कर्म होस् अथवा घरायसी व्यवस्थापन सार्वजनिक स्थानमा फोहोर विसर्जन गर्न हिच्किचाहट नमान्ने नागरिकको स्वभाव बनेको छ ।

घरलौरी जसो अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतमा सन्तान बसोबास गराउँने र आफू ती देशमा जाँदा त्यहाँको अनुशासनमा आबद्ध बन्ने बाबुआमा नेपाल आएपछि सार्वजनिक स्थानमा अझ कतिपय त पशुपति क्षेत्रमा कुकुरलाई शौच गराएर बाबुसाहेब बन्ने स्वभावले त कानुनको कडा कार्यान्वयन नगरिनहुने परिस्थिति देखिँदैछ । मानिस स्वभावले नै कानुनको कार्यान्वयन गर्नुलाई झन्झट मान्ने स्वभावको हुन्छ, त्यसमा पनि नेपाली जहाँ कानुनको अवज्ञालाई बहादुरी मानिन्छ र अवज्ञा गरेर नेताको रवाफमा कानुनी सजायबाट छुट्कारा पाउँनुलाई बडप्पन ठानिन्छ । यस्तो अवस्थामा, नागरिकमा कानुनी सचेतना अनिवार्य छ ।

सचेतना भएकालाई दण्डको कठोर प्रावधानको कार्यान्वयन अनिवार्य छ । यसमा बालेनहरूको ध्यान पुग्नु जरुरी छ । शासनमा बसेर सबैलाई खुशी पार्न सकिँदैन । असल काम गरेर धेरैलाई खुशी बनाउन प्रयत्न गर्ने हो । नेपालीको मन मष्तिष्क आलोचनात्मक छ । सही आलोचनालाई शिरोधार्य गरेर आफूलाई सुधार गर्दै जान सकेका खण्डमा बालेनहरू सफल बन्ने निश्चित छ । नवनिर्वाचित काठमाडौं महानगरका तराई मूलका मेयर बालेन्द्र साह ‘बालेन’लाई हार्दिक बधाई र सफलताको लागि शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?