प्रहरी महानिरीक्षक सिंहको बढुवा विरुद्धको रिट ३० जेठमा सुनुवाइ हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई विपक्षी बनाइएको बढुवासम्बन्धी सबै रिटको सुनुवाइ जेठ ३० गते गर्ने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासले सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका विषयमा परेको रिट र प्रहरी महानिरीक्षक (आइजी) बढुवाको विषयमा परेको रिटलाई सँगै राखेर जेठ ३० गते सुनुवाइ गर्ने आदेश दिएको हो ।

गत वैशाख १८ गते सरकारले पहिलो नम्बरका एआइजी विश्वराज पोखरेललाई पन्छाउँदै सिंहलाई प्रहरी महानिरक्षक नियुक्त गरेको थियो । नियुक्तिका ६ वटा आधारलाई पन्छाउँदै सरकारले कनिष्ठ सिंहलाई दिएको नियुक्त बदर गर्दै आफूलाई आइजिपी बनाउन माग राखेर पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्‍यो ।

उक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जेठ १७ गते (मंगलबार)देखि एकैपटक पूर्ण सुनुवाइ गर्न आदेश दिएको थियो । माथेमाको इजलासले लिखित जवाफ माग गर्दै दुवैको कार्य सम्पादन मूल्यांकन विवरण झिकाएको थियो । मंगलबार वैशाख १७ गतेको आदेशअनुसार न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिए पनि प्रहरीकै एआइजी बढुवासम्बन्धी अर्को तीनवटा रिटलाई पनि ‘साथै राखेर हेर्न’ भएपछि पोखरेलको रिटको सुनुवाइ अब जेठ ३० गतेका लागि सरेको हो ।

एआइजीमा बढुवा हुुनुपर्ने मागसहित तीन डिआइजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट पोखरेलको सँगै राखेर हेर्ने सर्वोच्चले प्रशासनिक निर्णय गरेको देखिन्छ । पोखरेलले भन्दा एक महिनाअघि नै दायर भएका ती रिटहरूमा कायम भएका विपक्षीहरूलाई अहिलेसम्म म्याद तामेल नभएका कारण चारवटै रिटको सुनुवाइ रोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?