महेन्द्र पार्कमा शालिक पुनःस्थापनाको विषयमा विवाद

हिमालय टाइम्स
Read Time = 9 mins

पार्थ मण्डल/हिटा
झापा । झापाको भद्रपुर-८ स्थित सदरमुकामको मुटुमा रहेको महेन्द्र पार्क चन्द्रगढीमा  स्व. राजा महेन्द्र शाहको अर्धकदको शालिक पुनःस्थापनाको विषयमा विवाद देखिएको छ । २०६२/०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही शासनको अन्त्यका लागि संयुक्त सात राजनीति दलको आहृवानमा सदरमुकाम घेराउको क्रममा प्रदर्शनकारीहरूले महेन्द्र पार्कभित्र राखिएको महेन्द्रको शालिक तोडफोड गरी भत्काएका थिए । त्यसबेला शाही सेनाको गोली खाएर शहीद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदानसमेत दिनुभएको थियो ।

राजतन्त्र ढलेर मुलुकमा गणतन्त्र, लोकतन्त्र स्थापना भएपछि तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति झापाले महेन्द्र पार्कको नाम परिवर्तन गरी शहीद पार्क नामकरण ग¥यो । त्यसपछि समन्वय समितिले पार्कको जिम्मा नगरपालिकालाई लगाउने निर्णय ग¥यो । नगरपालिकाको स्वामित्वमा आएपछि यस पार्कलाई हाल बाल उद्यम पार्क भनेर चिन्न थालिएको छ । पार्कभित्र बालबालिकाको मनोरञ्जनका लागि नगरपालिकाले स्थानीय संघसंस्थासँग सहकार्य गरी विभिन्न खेल सामग्री राखेको छ । नगरपालिकाले पार्कभित्र विभिन्न खेल सामग्री राखे पनि शालिक राखिएको स्थानमा नेपालको राष्ट्रिय झण्डा मात्र राखेका थिए ।

१६ वर्षपछि अहिले आएर महेन्द्र पार्कमा पुनः पूर्वराजा महेन्द्रको अर्धकदको शालिक राख्ने कार्यक्रम लगभग तय भइसकेको थियो । बिर्तामोडका जयनारायण ढुंगानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोज्नुभएको थियो । स्थानीय सरकार र प्रशासनसँग समन्वय नगरी महेन्द्र शालिक पुनःस्थापना समितिले यही जेठ २१ गते शनिबार शालिक पुनःस्थापना गर्ने कार्यक्रम रहेको भनि व्यापक प्रचारप्रसार गरेपछि विवाद सतहमा पुगेको हो । शालिक पुनःस्थापना समितिले भद्रपुर नगरपालिकासँग समन्वय नगरी पार्कभित्र प्रवेश गरी रंगरोगन र सरसफाइ गर्न सुरु गरे । नगरपालिकाले त्यो थाहा पाएपछि नगर प्रहरी लगाएर पार्कभित्रको काम तत्काल बन्द गर्न लगाए । पार्कमा शालिक पुनःस्थापनाको विषयमा अहिले सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै टिप्पणी भइरहेको छ ।

शालिक पुनःस्थापनामा प्रशासनले लगायो रोक
शालिक पुनःस्थापनाको विषयमा विवाद देखिएपछि जिल्ला प्रशासन कार्यालय झापाले तत्काल शालिक पुनःस्थापना नगर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले बिना अनुमति अनधिकृत रूपमा त्यहाँ पूर्वराजा महेन्द्रको शालिक पुनःस्थापना गर्न नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरूको संरक्षण र सौन्दर्यीकरण गरी सोको उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगर सभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने, नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनधिकृत रुपमा संरचना निर्माण, रंगरोकन, शालिक निर्माण, अतिक्रमण जस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा जनप्रतिनिधिसहित नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि र प्रहरी, प्रशासन प्रमुखहरूको उपस्थिति रहेको थियो ।

शालिक राख्ने प्रक्रिया गलत भयो : नगरपालिका
भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले नगरपालिकाको स्वामित्वमा रहेको महेन्द्र पार्कमा शालिक पुनःस्थापन गर्ने प्रक्रिया कानुनसम्वत नभएको बताउनुभयो । महेन्द्र पार्कलाई अघिल्लो नगरसभाले बाल उद्यमको रूपमा विकास गर्दै लैजाने भनि लिखित निर्णय गरिसकेको छ । ‘पार्क नगरपालिकाको सम्पत्ति हो, यो कुनै व्यक्ति विशेषको सम्पत्ति होइन,’ उहाँले भन्नुभयो, ‘पार्कमा के राख्ने वा नराख्ने विषयमा कार्यपालिका बैठक वा नगरसभाले कानुनलाई टेकेर पारित गर्नुपर्ने हुन्छ ।’

नगरपालिकालाई कुनै लिखित वा मौखिक जानकारी नगराई शालिक पुनःस्थापना समितिले पार्कभित्र रंगरोगन र सरसफाइका काम गर्न थालेपछि सो काम बन्द गर्न लगाएको बताउँदै उहाँले भन्नुभयो, ‘त्यसको पनि एउटा विधि प्रक्रिया हुन्छ, तर समितिका पदाधिकारीले त्यस प्रक्रियामा नआएर जबरजस्ती सरकारी सम्पत्तिमा हस्तक्षेप गर्नु कानुनविपरीतको काम हो ।’ ‘नगरपालिकाले रंगरोगनको काम रोक लगाएपछि समितिका केही व्यक्ति बुधबार कार्यालयमा आइपुग्नु भयो, त्यसभन्दा अघि कोही पनि सम्पर्क आउनुभएको थिएन,’ उहाँले भन्नुभयो । अहिले सामाजिक सञ्जालमा मेयरले शालिक पुनःस्थापनाको काम रोक्यो भनेर गलत प्रचार गरिरहेकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘मैले एक्लै रोकेर त्यो सम्भव छैन, विधि प्रक्रियाअनुसार आएमा कार्यपालिका वा नगरसभाबाट पारित गरी काम अघि बढाउने बाटो खुल्ला छ, त्यो आम जनताले बुझ्नुपर्‍यो ।’ ‘नगरको सम्पत्तिमा कसैले आएर हस्तक्षेप गरे त्यो सहन हुँदैन,’ उहाँले थप्नुभयो ।

त्यस्तै, नगरपालिकाकी उपमेयर राधा कार्कीले नगरपालिकालाई समेत जानकारी नगराई शालिक राख्न खोज्दा सर्वदलीय बैठकमार्फत निर्णय गरी तत्काल शालिक पुनःस्थापनाको काम रोक लगाएको बताउनुभयो । ‘पार्कमा शालिक राखिँदैछ भनेर मलाई त्यस बारेमा जानकारी थियो, तर नगरपालिकाका मेयर ज्यूलाई त्यो थाहा भएन, त्यसैले गर्दा विवाद भयो,’ उहाँले भन्नुभयो । इतिहास मेटाउने काम कसैले पनि गर्नुहुँदैन । ‘राम्रो कामको थालनीमा मेरो सदैव साथ र सहयोग रहन्छ,’ उहाँले भन्नुभयो, ‘महेन्द्र पार्कमा पूर्वराजाको बाहेक अरू कसैको शालिक राख्नु हुँदैन, अरू शालिक राख्न खोज्यो भने त्यसको प्रतिकार गरिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?