प्रचण्ड र माधवलाई ‘प्रधानमन्त्री अफर’ निर्लज्ज, आत्मस्तुति र आत्मप्रचार मात्र: सूर्य थापा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले प्रचण्ड र माधवकुमार नेपाललाई एमालेले गरेको भनिएको ‘प्रधानमन्त्री अफर’ निर्लज्ज, आत्मस्तुति र आत्मप्रचार मात्र भएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री अफर नगरेको बताउँदै दुई जना (प्रचण्ड र नेपाल) ले निद्रामा देखेको सपना हुनसक्ने बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ, ‘प्रचण्ड र मा.कु. नेपाललाई प्रधानमन्त्रीको अफर, त्यो पनि एमालेबाट ? यो निर्लज्ज आत्मस्तुति र आत्मप्रचार बाहेक केही होइन।’

ओली प्रधानमन्त्री रहेका बखत उहाँको प्रेस संयोजक समेत रहनुभएको एमाले नेता थापाले अध्यक्ष ओलीले यस्तो अफर गर्ने सपना पनि तिनै दुई जनाले निद्रामा मात्रै देखेको हुनसक्ने बताउँदै समकालीन नेपाली राजनीतिमा यो संभव नभएको उल्लेख गर्नुभएको छ । थापाले  स्वर्ग जाने भन्दै नर्कको टिकट काटेका (प्रचण्ड, नेपाल)लाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैन भन्नु भएको छ ।

केही दिन यता मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको बताउँदै आउनु भएको छ । दुवै नेताले आफूहरुलाई प्रधानमन्त्री बन्ने र अहिलेको गठबन्धन भत्काउने अफर आएको तर आफूहरु यही गठबन्धन जोगाएर आगामी संसदीय चुनावसम्म लैजाने पक्षमा रहेको बताउँदै आउनु भएको छ ।

उक्त अभिव्यक्तिको एमाले नेताहरुले भने खण्डन गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले यतिबेला नेकपा (एमाले) सरकार परिवर्तनको खेलमा नभएको र विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा रहेको बताइसक्नु भएको छ ।

यसैगरी एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि प्रचण्ड–माधवलाई प्रधानमन्त्रीको अफर गर्ने त परै जाओस्, सोच्न पनि नसकिने बताउनु भएको छ ।

दुवै शीर्ष नेताले एमालेका कुन तहका कुन नेताबाट त्यो अफर आयो भनेर भन्नुभएको छैन । यो अभिव्यक्तिलाई लिएर एमाले देखाएर कांग्रेस तर्साउने नेताहरुको रणनीति रहेको भन्दै  राजनीतिका जानकारहरुले टिप्पणी गर्न थालेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?