पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

Read Time = 4 mins

लिस्वेन । क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्नुभएको युइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा पोर्चुगलले समूहको दोस्रो खेलमा स्विट्जरल्यान्डमाथि ४-० को सानदार जित हात पारेको छ । पोर्चुगलको जितमा रोनाल्डोसँगै विलियम कार्भाल्हो र जोओ क्यान्सेलोले समान एक–एक गोल गर्नुभयो । १५औँ मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि पाँच मिनेटको अन्तरमा रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा ३-० को अग्रता दिलाउनुभयो ।

३५औँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पार्नुभयो । ३९औँ मिनेटमा रोनाल्डोले जोटाकै पासमा दोस्रो गोल गर्नुभयो । राष्ट्रिय टोलीबाट ३७ वर्षीय रोनाल्डोको यो ११७औँ अन्तर्राष्ट्रिय गोल हो । उहाँ सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीसमेत हुनुहुन्छ ।
त्यसपछि ६८औँ मिनेटमा जोओ क्यान्सेलोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई जित दिलाउनुभयो ।

यो जितसँगै पोर्चुगल समूहको शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलको दुई खेलबाट चार अंक पुगेको छ । समान चार अंक नै रहे पनि चेक रिपब्लिक दोस्रो स्थानमा रहेको छ । पोर्चुगलले पहिलो खेलमा स्पेनसँग १-१ गोलको बराबरी खेलेको थियो । स्पेन दुई अंक जोडेर तेस्रो स्थानमा रहँदा स्विट्जरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिक र स्पेनले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । चेकका जाकुव पेसिक र जान कुच्थाले गोल गर्दा स्पेनका पाब्लो गाभी र इनिगो मार्टिनेजले गोल गर्नुभयो । अर्को खेलमा युक्रेनलाई पराजित गर्दै वेल्स फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । युरोपेली छनोटको प्लेअफको फाइनलमा युक्रेनलाई १-० ले पराजित गर्दै वेल्स दोस्रोपटक विश्वकपमा छनोट हुन सफल भएको हो । वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो ।

कार्डिफमा आइतबार राती भएको खेलमा वेल्सको जितमा पहिलो हाफमा एन्ड्रिए योर्माेलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । उहाँ ३४औँ मिनेटमा ग्यारेथ बेलको फ्रिकिकलाई बचाउनेक्रममा आफ्नै पोस्टमा गोल गर्न पुग्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?