दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार, असार १ गतेबाट आइतबारको बिदा हटाउने निर्णय

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हो । असार १ गतेबाट लागू हुनेगरी आइतबारको बिदा हटाइएको छ ।

सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो । तर, सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो । संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिट निवेदनमाथि आज (मंगलबार)का लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको थियो । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा दुई दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।

नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा
यस्तै, सोमबार मन्त्रिपरिषद्ले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डिआइजीहरूलाई एआइजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

मन्त्रिपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनीलाई एआइजीमा बढुवा गरेको छ । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआइजीमा बढुवा हुनुभएको छ ।

पाँच डिआइजी एआइजीमा बढुवा भएसँगै रिक्त डिआइजीको संख्या १७ पुगेको छ । नेपाल प्रहरीमा हाल तीनजना मात्रै डिआइजी कार्यरत छन् । जेठ ९ गते बसेको बढुवा समितिको बैठकले पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

यस्तै, सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्र प्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त एक एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

राजु अर्याल आइजिपीमा बढुवा र अर्का एआइजी रामशरण पौडेल अनिवार्य अवकाशमा गएपछि वैशाख १९ गतेबाट दुई एआइजी रिक्त भएको थियो । एउटा पदमा यसअघि नै नारायणदत्त पौडेल बढुवा हुनुभएको थियो । गौतम हाल कार्यरत डिआइजीमध्ये वरिष्ठ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?