प्राचीन ग्रन्थ, वेद परिचय

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 15 mins

पूर्वेली समाजको ज्ञान परम्पराको नदी वेदबाट प्रवाहित भएको मानिन्छ । वेद आर्य समाजको पहिलो वाक्कलाको संग्रह हो । वेद चारवटा मानिन्छन् । तिनीहरूमध्ये पहिलो वेद हो ऋग्वेद । यसलाई नै सबैभन्दा प्राचीन र प्रतिष्ठित पनि मान्ने गरेको देखिन्छ । यो मण्डल, अनुवाक् र सूक्तमा विभाजित भएको पाइन्छ । अनुसन्धानका संकेतका निमित्त यदि (ऋक्, १, २ र ७, ४) संकेत गरिएको भेटे पहिला आएको १ भनेको पहिलो मण्डल हुन्छ । २ ले चाहिँ प्रथम मण्डलको दोस्रो अनुवाक् भनेर बुझ्नुपर्ने हुन्छ । त्यस्तै ७ सूक्त जनाउँछ भने सूक्तअन्तर्गत मन्त्र हुन्छन् । अतः अन्त्यको अंकले चाहिँ मन्त्रलाई जनाउँछ ।

यसैगरी अर्को प्रकारको विभाग या प्रबन्धन पनि यसमा रहेको भेट्न सकिन्छ । अष्टक, अध्याय र सूक्त । पहिलो विभाग या प्रबन्धन बढी भेटिन्छ भने कुनै कुनै प्रतिमा दोस्रो प्रकारको विभाग पनि भेटिन्छ । मैले पढेको ऋग्वेद संहिता पहिलो प्रकारको प्रबन्धनमा रहेको हुनाले त्यसै सम्बन्धमा नै म आज कुरा गर्न चाहँदै छु । सबै ऋग्वेदका जम्मा दश मण्डल छन् । मण्डलअन्तर्गत संग्रीहित मन्त्रका समूहलाई सूक्त भनेर चिनाइएको भेटिन्छ र सूक्तअन्तर्गत ऋचा या मन्त्र रहेका हुन्छन् । ऋग्वेदमा यस्ता सूक्तको संख्या १० हजार १७ रहेको छ भने समग्र मन्त्र संख्या चाहिँ १० हजार ५ सय ५२ रहेका छन् । वैदिक भाषमा अतिरिक्तलाई खिल भनिन्छ ।

केही सूक्त अतिरिक्त पनि छन् । यस्ता अतिरिक्त सूक्तको संख्या ११ छ । यसरी जम्मा सूक्त संख्या १०२८ हुन आउँछ । सबै मण्डल समान सूक्तका छैनन् । पहिलो र दशौं मण्डलमा सबैभन्दा बढी सूक्त संख्या रहेका छन् । सबैभन्दा थोरै सूक्त रहेको मण्डल दोस्रो हो । अष्टक विभाजन चाहिँ पठन सौविध्यका निमित्त हो कि जस्तो पनि रहेको देखिन्छ । किनभने प्रत्येक अष्टकमा आठ अध्याय राखिएको देखिन्छ र यस आधारमा सिंगो ऋग्वेद ६४ अध्यायमा विभक्त रहेको देखिन्छ । यसका सबै मन्त्र पद्यबद्ध छन् ।

यहाँका मन्त्रको शैली अहिले समाजमा प्रचलित शैलीसँग मिल्दैन । हामी पूर्वेली प्राचीन समयदेखि नै वेदका मन्त्र रचिएका होइनन् । यिनलाई त मन्त्रद्रष्टा ऋषिले दर्शन गरेका या देखेका थिए भन्ने मान्छौं । मन्त्रद्रष्टालाई ऋषि र मन्त्रद्रष्टीलाई ऋषिका भनिन्छ । वेदको मन्त्रदर्शन गर्ने पुरुषमात्रै थिएनन् नारी पनि थिए । पूर्वका नारी आजका पश्चिमीले उचालेका या माओवादीले उकासेका जस्ता थिएनन् । वैदुष्यले भरिभराउ थिए । सबै आज पनि विदुषी छैनन् त्यो बेला पनि थिएनन् ।

पहिलो र दशौं मण्डलमा अनेकौं ऋषिकुटुम्बले दर्शन गरेका मन्त्रहरू रहेका छन् । दोस्रो मण्डलदेखि सातौं मण्डलसम्म एकै ऋषि परिवारबाट दर्शन गरिएका मन्त्रको संकलन छ भन्ने वेदविज्ञको मत रहेको छ । यस्ता ऋषिहरू हुन्– गृत्समद, विश्वामित्र, वामदेव, अत्रि, भारद्वाज र वशिष्ठ । आठौं मण्डलमा चाहिँ कण्ववंशी र अंगिरा गोत्रीय ऋषिहरूका मन्त्र रहेका छन् भन्ने मानिन्छ । नवौं मण्डलमा सोमसम्बन्धी मन्त्रमात्रै छन् । सोम चन्द्र जो औषधि तथा रसको अधिपति मानिन्छ । सोम जो सोम लतादिबाट मन्त्र विनियोग र वनौषधि मिसाएर बनाइएको द्रव (अचेल जसलाई रक्सी) पेय पदार्थका सम्बन्धमा बताइएको देखिन्छ । यसरी नै दशौं मण्डलमा धेरै ऋषिकामन्त्रहरू समाविष्ट रहेका छन् ।

यी मन्त्रमा मात्र देवताको स्तुति छैन र अनेकानेक विषय सन्निविष्ट रहेका पाइन्छन् । जस्तो कि दूतक्रीडाबाट हुने हानी, विवाह, श्राद्धका मन्त्र आदि । दोस्रो मण्डलदेखि सातौं मण्डलसम्मको ऋग्वेद सबैभन्दा प्राचीन मानिन्छ र दशौं मण्डल चाहिँ सबैभन्दा अर्वाचीन । रमाइलो के छ भने प्रत्येक ऋचा या मन्त्रमा कुनै दिव्यविभूतिको स्तुति पाइन्छ । स्तुतिमात्र पनि छैन सृष्टिका अनेकौं रहस्य तथा तत्वको उद्घाटन पनि गरिएको देखिन्छ । ब्रहृमाण्डको रचनाका विषयसँग सम्बद्ध कुरा आजको क्वान्टम फिजिक्सले झैँ बताउने नासदीय सूक्त र ब्रहृमाण्डलाई शरीरमा अनुस्यूत गर्ने पुरुष सूक्त यस्ता सूक्तमध्ये सर्वश्रेष्ठ या मुख्य मानिन्छन् ।

एक प्रकारले भन्नु पर्दा नासदीय सूक्तलाई विश्वविज्ञान, विश्वज्ञान र विश्वभाषा साहित्यको अद्वितीय आश्चर्य भने पनि हुन्छ । विज्ञान, काव्य र दर्शनको उच्चभन्दा उच्च उडान यस सूक्तमा अभिव्यक्त भएको छ भन्ने मानिन्छ । किनभने यसमा अनेक वैज्ञानिक रहस्यहरूको संकेत भेटिन्छ । यसमा प्राकृतिक विकासका दृष्टिले सृष्टि रचनाको सावधिक उल्लेख पाइन्छ । यो दसौं मण्डलको प्रथम सूक्तको १२९औं मन्त्र हो । पुरुष सूक्तमा पनि यस्तै प्रकारले अनेकानेक रहस्य खाँदी खाँदी भरिएको देखिन्छ ।

यो चाहिँ दशौं मण्डलको ९०औं सूक्त हो । अध्यात्मवादी भगवान्को विराटस्वरूपको वर्णन भेट्छन् भने दार्शनिक र वैज्ञानिक चाहिँ यो विश्वविराट प्रकृतितन्त्रको मानवीय मनमस्तिष्कले आकलन गरिनसक्नु रूप, क्रिया र विवर्तन भाव देख्त छन् । यसैको आभास श्रीमद्भागवद्गीताको ११औं अध्यायमा पनि देखिन्छ । नेपालभारतका वैदिक सनातन धर्मावलम्बीले पूजाअर्चना गर्दा या देवदर्शन गर्दा यसै वैदिक मन्त्रबाट भगवान् पुकार्ने गर्दछन्-
हरिःॐ सहस्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपात् ।
स भूमिं विश्वतो वृत्वाद्रत्यतिष्ठतद्दशाङ्गुुलम्
पुरुषएवेदं सर्वं यद्भूतं यच्चभाव्यम्
उतामृतत्वस्येशानो यदन्नेनातिरोहति
एतावानस्यमहिमाद्रतो ज्यायाँश्च पूरुषः
पादोद्रस्य विश्वाभूतानित्रिपादस्यामृतं दिवि (ऋक्,१०।९०।१-३) ।

अर्थात् त्यो विराट पुरुष (ईश्वर) हज्जारौं शिर अनन्त आँखा त्यस्तै अनन्त हातगोडा भएको छ । त्यस्ले भूमि (ब्रहृमाण्ड) लाई चारैतिरबाट व्याप्त पारेर पनि दश अंगुल परिमाणभन्दा अधिक भएर (अथवा ब्रहृमाण्डको परिधिभन्दा पनि बाहिरसम्मै व्याप्त भएर) रहेको हुन्छ या अवस्थित छ । जे भयो र जे हुनेवाला छ त्यो सबै (ईश्वर) पुरुष नै हो । त्यो देवत्वको पनि स्वामी हो किनभने प्राणीका भोगका लागि आफ्नो कारणावस्थालाई छाडेर जगदावस्थामा परिणत हुन्छ । यो समग्र ब्रहृमाण्ड उसैको महिमा हो । ऊ चाहिँ स्वयं आफ्नो महिमाभन्दा ठूलो छ । त्यस पुरषको एउटा पाइलो नै यो ब्रहृमाण्ड हो । यसका अविनासी तीन पाइला त दिव्यलोक नै हुन् ।

आवश्यक थियो यसरी नै नासदीय सूक्तलाई पनि उद्धृत गरेर सामान्य अर्थ गर्नु तर विस्तार भयले अहिले नासदीय सूक्तलाई उद्धृत गरिन मैले । पुरषसूक्त पनि सबै उद्धृत गरिन । यस सूक्तमा छ ऋतु बार महिना यज्ञकर्मादि साराको प्रतीकात्मक वर्णन भएको छ । एक प्रकारले पुरुषसूक्त विश्वब्रहृमाण्ड वर्णन नै हो र त्यसमा प्राकृतिक विकासका चक्रले फन्को मारेको पनि वर्णन आउँछ । वास्तवमा पुरुषसूक्तमा जुन प्रकारले त्यो पुरुषको व्याप्ति वर्णन गरिएको छ त्यो भनेको विश्वविराट प्रकृति (दृश्य) मा र अदृष्यमा त्यो विराट पुरुष जो देखिँदैन हलचल पनि गर्दैन तर सर्वत्र उसको सत्ता छ जो ऋतुचक्र चलाएर ब्रहृमाण्डलाई क्षयीकरण गर्दछ ।

ऋतुका गतिमा यस ब्रहृमाण्डगोललाई सारा आकाशमा व्याप्त शब्दतत्वका रूपमा ज्ञान विज्ञान र दर्शनमा अनेकौं आयाम, महिमा र रूपबाट वर्णित भएको हुन्छ । गर्नुपर्ने पनि गर्ने, नगर्नुपर्ने पनि गर्ने, गर्दै नगर्न पनि सक्ने, क्लेशविपाककर्म रहित पुरुष विशेष नै ईश्वर हो भनेर योगदर्शन र न्यायदर्शनले पनि विवर्णित तत्व भनेकै ब्रहृम हो ।

यजुस् भनेको गद्य हो भने ऋक् भन्नाले पद्य भन्ने पनि बुझिन्छ । ऋग्वेद सबै पद्यबद्ध छ भने यजुस्का चाहिँ अधिकांश ऋचा गद्यिक रहेका देखिन्छन् । आकारमा यो ऋग्वेदको दुई भाग बराबर रहेको छ । यसमा यज्ञसम्बन्धी मन्त्र, पात्र, तिनलाई उपयोग गरिने स्थान, समय आदिका सम्बन्धमा उल्लेख गरिएको भेटिन्छ । कुनै कुनै गद्यमा पनि काव्यात्मकता देखापरेको छ । यसमा आगो उत्पन्न गर्ने विधि सारै सुन्दर किसिमले वर्णित छ । कतिपय विद्वान् गद्यपद्यात्मक यजुर्वेदलाई वेदै नमान्ने पक्षमा पनि रहेका भेटिन्छन् । यिनीहरूका मतमा ४० खण्डमा विभक्त वाजसनेय संहितामा त्रयजुर्वेद हो ।

यस सम्बन्धमा एउटा रमाइलो आख्यान भेटिन्छ-मैथिल दार्शनिक ऋषि याज्ञवल्क्य ऋषि वैशम्पायनका भागिनेय शिष्य थिए । कुनै कारणवश मामाभान्जामा खटपट भयो र क्रोधमा आएर आफूसित पढेको सारा विद्या ओकल्ने आदेश वैशम्पायनले याज्ञवल्क्यलाई दिए । याज्ञवल्क्यले पनि मामासँग पढेको सारा विद्या छादिदिए । याज्ञवल्क्यले छादेको विद्या गुरुवैशम्पायनकै आदेशअनुसार त्यहाँ भएका अरुरू शिष्यले तित्राको रूप लिएर ग्रहण गरे । यसपछि यजुर्वेदको नाम तैत्तिरीय यजुर्वेद संहिता भन्ने राखियो । पछि याज्ञवल्क्यले फेरि सूर्यको उपासना गरेर सूर्यसँग जुन वेद सिके त्यसको नाम शुक्लयजुर्वेद भयो ।

यसलाई नै वाजसनेयी संहिता पनि भनिन्छ । बौद्धिक मलीनताका कारणले यजुस् (मन्त्र)को रङ कालो भयो र यसलाई कृष्ण यजुर्वेद भनेर भन्न थालियो । याज्ञवल्क्यले सूर्यसँग पढेको शुक्लयजुर्वेद चाहिँ ऋग्वेद जस्तै पद्यात्मक छ । यसको सोरौं अध्यायमा शतरुद्री रहेको छ । अत्यधिक नेपालीका घरघरमा साउन र कात्तिकमा लाउने रुद्री पनि यही नै हो । ऋग्वेदका रुद्र यहाँ शिवका रूपमा देखा पर्दछन् । यसैमा शंकर, महादेव आदि नामबाट पनि यिनी विख्यात भएका छन् । यसमा विष्णु पनि महनीय बनेका देखिन्छन् भने ऋग्वेदमा हुँदै नभएका ब्रहृमा पनि यर्जुवेदमा आएर प्रतिष्ठापित भएका छन् जो पछि उपनिषद्मा ब्रहृम बनेर अति चर्चित बनेका देखिन्छन् ।

यजुर्वेदको अन्तिम चालीसौं अध्याय आज ईशोपनिषत्का नामले विख्यात भएको पाइन्छ । यसरी कृष्ण यजुर्वेद र शुक्लयजुर्वेद बनेका भए पनि यिनको यज्ञीय विषय वर्णनमा बेग्लाबेग्लै शैली, विधि र पद्धति पनि रहेको देखिन्छ । वैदिक काल भनेको यज्ञप्रधान काल थियो । स्वर्गको कामना, आर्थिक कामना, सामाजिक उन्नति र पदप्रतिष्ठाका लागि पनि त्यस बेला यज्ञ गरिन्थे । यसमा पनि कतिपय मन्त्र ऋग्वेदबाट साभार गरिएका छन् ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Min Koirala
Min Koirala
2022-06-09 11:08 am

Min Koirala

Min Koirala
Min Koirala
2022-06-09 11:12 am

राम्रो । पूराण र बेदको मूख्य पात्रले गरेका अनुकरणीय कार्यका बारेमा पनि लेख भैदिए अझ बेश

राम शरण कोइराला
राम शरण कोइराला
2022-06-12 1:02 am

रिलेटेड न्युज

छुटाउनुभयो कि ?