नेपाल टेलिकमलाई सेवामा गुणस्तर सुधार गर्न सेवाग्राहीको सुझाव

हिमालय टाइम्स
Read Time = 5 mins

-चन्द्रकान्त खनाल

बुटवल । नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्न सुझाव दिइएको छ । लुम्बिनी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था तथा गुणस्तरका विषयमा नेपाल दुरसञ्चार प्राधिकरणले शुक्रबार बुटवलमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा यसका सेवाग्राहीले नेपाल टेलिकमले प्रदान गर्ने मोवाईल तथा इन्टरनेट सेवाको गुणस्तर राम्रो नभएको बताउँदै ती सेवाको गुणस्तर सुधार गर्न सुझाव दिएका हुन् ।

कार्यक्रममा सहभागि भएका सेवाग्राहीले लुम्बिनी प्रदेशको प्रमुख स्थान बुटवलमा पनि मोवाइलमा नेटवर्क नटिप्ने, टिपिहाले पनि फोन गर्दागर्दै काटिने, आवाज नआउने लगायतका समस्या रहेको बताएका थिए । त्यस्तै इन्टरनेटमा पनि उस्तै समस्या रहेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेपाल टेलिकमको नेतृत्वलाई प्रदान गरिने सेवाको गुणस्तरलाई सुधार गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले टेलिकमको सेवालाई प्रभावकारी बनाउनको लागि गुणस्तरमा ध्यान दिनु पर्ने भनाइ राख्नुभएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले यस विषयमा प्रदेश सरकारसँग पनि समन्वय गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभयो ।

त्यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरमा गम्भिर प्रश्न उठाउनु भयो । उहाँले आफ्नो घर बुटवलको सुख्खानगरमै मोवाइलमा नेटवर्क नदेखाउने, फोन भईहाले पनि आवाज नआउने, फोन गर्दागर्दै काटिने तथा इन्टरनेट सेवा पनिमा गुणस्तर नभएको बताउनु भयो । उहाँले संघीय सरकार मातहत रहेर प्रदेशमा सेवा प्रदान गरिरहेका संस्थाहरूले अहिलेसम्म प्रदेश सरकारसँग कुनै प्रकारको समन्वय नगरेको बताउँदै यसलाई पनि आगामी दिनमा सुधार गर्नुपर्ने भनाइ राख्नुभयो ।

त्यस अवसरमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणले प्रदान गरेका सेवामा नागरिकको धारणा कस्तो छ, सेवा सुविधा कत्तिको प्रभावकारी भएको छ वा छैन, सुधार गर्नुपर्ने कुराहरु के कस्ता छन् भन्नको लागि सेवाग्राहीको बीचमा आएको बताउनु भयो । उहाँले यहाँबाट प्राप्त सुझावहरूलाई गएर सुधार गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले पनि टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर कमजोर रहेको औल्याउँदै सुधार गर्न सुझाव दिनुभयो । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण उपभोक्ता हित महाशाखाका निर्देशक अर्जुन घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै टेलिकमले प्रदान गरेका सेवाका बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै प्राधिकरणकै वरिष्ठ इञ्जिनियर मधुसुधन दाहालले टेलिकमले सबैभन्दा बढी टावर वागमति प्रदेशमा रहेको र त्यसपछि लुम्बिनीमा ९०२ वटा टावर रहेको जानकारी गराउनु भयो । उहाँले टेलिकमले लुम्बिनीलाई धेरै प्राथमिकता दिएको भन्दै प्रदेशको रुकुम पूर्वी जिल्लाका केही भागमा मात्रै सामान्य समस्या रहेको बताउनु भएको थियो । टेलिकमका ग्राहकले आठ सय मेघाहर्ज भन्दा बढी क्षेमताको मोवाईल प्रयोग गर्ने हो भने सबै समस्या समाधान हुने उहाँको भनाइ छ ।

त्यस अवसरमा एनसेलका निर्देशक रमेश घिमिरे, वर्ड लिंकका केशव नेपालले ती कम्पनीले प्रदान गर्ने सेवा लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?