व्यक्तिको वास्तविक परिचय पत्र ‘चिना’

Read Time = 10 mins

✍️ डा.नारायणप्रसाद निरौला
व्यक्ति जन्मेको समय र जन्मस्थानका आधारमा खगोलीय एवं भूगोलीय परिचय प्रदान गर्ने लेखोट चिना हो । जसमा व्यक्ति जन्मेको दिक् (दिशा), देश (स्थान) र काल (समय)सहित खगोलीय एवं भूगोलीय अवस्थितिको गणितीय अभिलेख राखिएको हुन्छ । चिनालाई जन्मपत्रिका पनि भनिन्छ । चिनाको अर्थ पनि व्यक्ति चिनाउनु भन्ने हुन्छ । यो धर्तीमा जन्म भएको समयका आधारमा खगोलीय ग्रहको अवस्थिति पत्तालगाई भौगोलिक रूपमा पनि कुन देशको कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिको जन्म भएको छ भन्ने कुराको यथार्थ गणितसिद्ध विवरण चिनामा उल्लेख गरिएको हुन्छ ।

यसका आधारमा व्यक्तिको विगत, वर्तनमान र भविष्यको फल प्रक्षेपण गर्ने शास्त्रीय विधि विधान रहेका छन् । ज्योतिष वेदको मुख्य अंग आँखा हो । जसरी हामी आँखा नभएको संसारको परिकल्पना गर्न सक्दैनौं त्यसैगरी ज्योतिषविना वेदको ज्ञान असम्भव छ । वेदले बताएका कुरा जान्न ज्योतिषीय ज्ञान अनिवार्य रहन्छ । विशेषतः ज्योतिष कालबोधक शास्त्र हो । यसले समयको अवस्थिति अनुकूलन प्रतिकूलन के कस्तो छ सोको तथ्य कारणसहित प्रस्तुत गर्दछ ।

संसारको सृष्टिसँगै यसको लय अवश्यम्भावी छ । हरेकका आआफ्ना समय भोग काल छन् । जसको निरन्तर प्रक्रम चलिरहन्छ । यही सृष्टि, स्थिति र लयको क्रमलाई पौरस्त्य वाङ्मयमा ब्रहृमदिन (कल्प) भनेर सम्बोधन गरिन्छ । जुन चार अरब बत्तीस करोड वर्षको समय हो । ब्रहृमाको दिनसँगै सृष्टिको आरम्भ हुन्छ । जब कल्पको समय सकिन्छ त्यसपछि यो चराचर जगत्मा लय हुन्छ । ‘यतः सृष्टिरेषां दिनादौ दिनान्ते लयस्तेषु सत्स्वेव तच्चारचिन्ता ।’ (सिद्धान्तशिरोमणि) अर्थात् सृष्टिकर्ता ब्रहृमाजी हुन् । ब्रहृमाको एक दिन बराबर चार अरब बत्तीस करोड सौर वर्ष हुन्छ । यसरी ब्रहृमाको एकदिन सकिएपछि लय हुन्छ ।

यसैगरी सोही वर्षमान बराबर ब्रहृमाजीको रातको समय हुन्छ । उक्त समयमा सृष्टिशून्य अवस्था अथवा लय हुन्छ । यो क्रम निरन्तर चलिरहन्छ । ‘दिनादौ सृष्टि दिनान्ते लय’ । ब्रहृमाको आयु सय वर्षको छ । पुनः पुनः ब्रहृमाजीको आभिर्भाव सृष्टि एवं लय निरन्तर चलिरहन्छ भनी शास्त्रमा बताइएको छ । यही शास्त्रीय आधारमा नै जन्मपत्रिका अर्थात् चिना निर्माण गरिएको हुन्छ । ब्रहृमाको एक दिन (कल्प) भित्र पनि मनु, महायुग, युगका समय रहने गर्दछन् ।

यही समयको गणना गरी सम्पूर्ण विवरण चिनामा उल्लेख गरिएको हुन्छ । सर्वप्रथम चिनामा सृष्टिदेखि हालसम्म कतिवर्ष व्यतीत भए सो कुराको उल्लेख हुन्छ । यसरी वर्तमानमा (व्यक्ति जन्मेको समयमा) कुन संवत् चलिरहेको छ ? कलि गत वर्ष, संवत्सर, अयन, ऋतु, महिना, पक्ष, तिथि, नक्षत्र, योग, वार, करण सहितका विविध विषयको तात्कालिक विवरण चिनामा उल्लेख रहने गर्दछ ।

यसका साथै व्यक्ति जन्मेको समयमा आकाशीय ग्रहको अवस्थिति कस्तो थियो सो कुराको पत्ता लगाउने कार्य ज्योतिषशास्त्रका सूत्रानुसार गणना गरिन्छ । यसरी गणना गर्ने विभिन्न पद्धति (सफ्ट्वेयर) को पनि वर्तमानमा उपलब्धता छ । व्यक्ति जन्मेको स्थानबाट सूर्य कति अंश (डिग्री), कतिकलमा छ ? यसैगरी चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतु आकाशमा कुन अवस्थामा छन् ? भन्ने कुराको गणना गरिन्छ । यसरी गणना गरिएका ग्रहहरूको आकाशमा अवलोकन गर्ने पद्धति पनि ज्योतिषशास्त्रमा विद्यमान छ ।

परीक्षणका अनेकौं विधि उपयोग गरिन्छन् । जसबाट ग्रह आकाशमा सोही अवस्थामा देखिन्छन् । जुन कुरा हजारौँ वर्ष पहिले हाम्रा ऋषिमुनिहरूले पत्ता लगाइसकेका थिए । सोही कुराको प्रस्तुति जन्मपत्रिकामा हुने गर्दछ । यसरी जन्मसमयमा आकाशीय ग्रहहरूको अवस्थिति अनुसार जन्मपत्रिका तयार गरिन्छ । सूर्यादि ग्रहहरूको उदय, अस्त, वक्र मार्ग, उच्च, नीच आदि सम्पूर्ण अवस्थितिको गणितीय प्रमाण पनि उक्त चीनामा उल्लेख गरिएको हुन्छ । सोही आधारमा फलादेश पनि हुने गर्दछ ।

वर्तमानमा कुन दशा चलिरहेका छन् ? विंशोत्तरी, त्रिभागी, योगिनीमा कुन दशा कहिलेसम्म चल्छन् भन्ने कुराणको गणना विवरण पनि चिनामा उल्लेख गरिन्छ । यसअन्तर्गतका महादशा, अन्तर्दशा, प्रत्यन्तर, सूक्ष्म एवं प्राणदशाको गणना गरी चिनामा उल्लेख गरिएको हुन्छ । उक्त व्यक्तिलाई कुन नक्षत्र, तिथि, योग, बार, चन्द्रमा, लग्न आदि घात (अशुभ) रहन्छन् भन्ने कुराको विवरण पनि उल्लेख रहने गर्दछ । व्यक्ति जन्मेको सममा क्रान्तिवृत्तको जुन भाग उदय क्षितिजमा लाग्छ सोही आधारमा लग्न कुण्डली तयार गरिन्छ । लग्नकुण्डली चिनाको मुख्य अङ्ग हो । यही स्पष्ट लग्न उवं ग्रहस्पष्टका आधारमा राशि कुण्डली, होरा, नवमांश, द्रेष्णकाण आदि षोडशवर्ग (१६ वटा) कुण्डलीका साथै सुदर्शनचक्र पनि चिनामा उल्लेख गरिएको हुन्छ ।

यसबाट व्यक्तिका कुन पक्ष र क्षेत्रमा कस्तो प्रभाव रहन्छ ? घर परिवार, आफन्त, शिक्षा, स्वास्थ्य आदि विशेष विधामा के कस्तो रहन्छ भन्ने फलादेशका निम्ति यस्ता कुण्डली सहायक सिद्ध हुन्छन् । यसैगरी चिनामा व्यक्तिको वंश परम्परा, भौगोलिक परिचय, कुन देशको कुन स्थान आदि विवरणका साथै माता पिता, प्रथम द्वितीय गर्भको स्थिति आदिको पनि विस्तृत विवरण उल्लेख गरिन्छ । जन्म समयको अक्षांश, देशान्तर आदिका आधारमा इष्टकाल, नक्षत्रको भुक्त भोग्य अवस्थितिअनुसार नामकारण पनि सोही चिनमा उल्लेख हुने गर्दछ । कुन नक्षत्रको कुन पाउमा जन्म भएको हो ? उक्त समयमा कुन तिथि, नक्षत्र ग्रह आदिको अवस्थिति कस्तो छ ? आदि कुराको विशद चर्चा चिनमा उल्लेख हुने गर्दछ ।

आज गरिने जन्म दर्ता, नागरिताभन्दा पनि वैज्ञानिक दस्तावेज भनेको चिना हो । चिनामा व्यक्ति जन्मदा पृथ्वीको निश्चित् बिन्दुबाट आकाशमा कुन ग्रह कस्तो अवस्थितिमा छन् भन्ने कुराका साथै वंश परम्पराको पनि उल्लेख चिनामा हुने गर्दछ । शाखा, गोत्र, प्रवर, थर, वतन समेतको विस्तृत जन्मविवरण चिनामा उल्लेख हुन्छ । यसैले व्यक्तिको असली परिचयका रूपमा चिनालाई लिन सकिन्छ । सामान्यतः एकप्रकारको भूगोलीय र भौगोलिक परिवृत्तको फोटोचित्र (आकाशीय ग्रह तारा आदिको एक्सरे) नै चिना हो । जसले व्यक्तिको असली पहिचानलाई उजागर गरेको हुन्छ ।

चिना वस्तवमा व्यक्तिगत विवरण पत्र नै हो । जसमा व्यक्तिको चिनारी प्रस्तुत गरिएको हुन्छ । जन्मस्थान र समयको नाम, वतन आदि सम्पूर्ण विषवस्तु उल्लेख गरिएको हुन्छ जुन उसको परिचयको पूर्ण दस्तावेज हो । आजको व्यक्तिगत परिचयपत्रभन्दा पनि वास्तविक परिचयपत्र भनेको चिना अर्थात् जन्मपत्रिका हो । जसले व्यक्तिको विगत, वर्तमान र भविष्यको समेत मार्गदर्शन गरेको हुन्छ । अतः चिना व्यक्तिको एक वैज्ञानिक दस्तावेज हो यसैले वास्तविक परिचयपत्रका रूपमा चिनालाई लिन सकिन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
हृषीकेश बराल पोखरा -२६कास्की ।
हृषीकेश बराल पोखरा -२६कास्की ।
2022-06-13 8:14 am

यथार्थमा व्यक्तिको चिनारी नौ ग्रहले दिन्छन् न कि कसैका अभिभावक वा सरकारले ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?