साउन ३ देखि बुटवलमा चिया प्रदर्शनी

Read Time = 3 mins

काठमाडौं । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ असार ३ र ४ गते बुटवलमा नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/संस्था, एसोसिएसनलगायतको सहकार्यमा हुने नेपाली चियाको राष्ट्रिय प्रदर्शनीमा विभिन्न ब्रान्डका स्वदेशी चियाको निःशुल्क स्वाद लिन पाइने आयोजकले जनाएको छ । नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन सही चियाको सहीरूपमा सेवनको संस्कृति विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ ।

प्रदर्शनीमा मुख्यरूपमा नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टि एसोसिएसन, हिमालयन अर्थोडक्स टि प्रोड्युसर एसोसिएसन, नेपाल टि प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टि एसोसिएसन नेपालमा आबद्ध चियाका व्यवसायीबाट उत्पादित चियाका ब्रान्डको मुख्यरूपमा सहभागिता रहने बोर्डले जनाएको छ । बोर्डका अनुसार आव २०७७/०७८ मा तीन अर्ब ७९ करोडभन्दा बढी मूल्यको चिया निर्यात भएको छ । नेपालमा चिया खाने प्रचलन निकै पुरानो हो ।

इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चियाखेती सुरुवात भएको हो । नेपाली चियाको इतिहास एक सय ५० वर्षभन्दा पुरानो छ । आव २०७७/०७८ मा नेपालमा १६ हजार एक सय १७ हेक्टरमा चिया रोपण भएको र २३ हजार सात सय ४५ मेट्रिकटन तयारी चिया उत्पादन भएको छ । हाल १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृंखलामा संलग्न रहेको बोर्डले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?