बजेट निर्माणमा चलखेल गरेको आरोपले अर्थमन्त्रीमाथि संकट बढ्दै

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिनको माग गर्दै संसद्मा अवरोध गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको, राजस्वमा स्वार्थअनुकूल व्यापक हेरफेर गरेको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समिति बनाउन माग गर्दै यो नभएसम्म सदन अगाडि बढ्न नसक्ने घोषणा गर्नुभएको हो । बजेट निर्माणका क्रममा भएका अनियमितता र हस्तक्षेपले आफूहरूले गरेको ‘खास खास घरानाका व्यक्तिसँग, उनीहरूको स्वार्थमा बजेट बनाइएको’ आशंकालाई पुष्टि गरेको उहाँले बताउनुभयो । ‘अर्थतन्त्र निरन्तर अधोगतिको बाटोमा गएको छ । रातो बत्ती बलेको छ । विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा छ । निरन्तर अर्थतन्त्रका सूचकले खतराको घण्टी बजाइरहेका छन् । बजेटले ओरालो लागेको अर्थतन्त्रलाई समेट्नेछ । सम्बोधन गर्नेछ भन्ने विश्वास थियो,’ उहाँले भन्नुभयो, ‘तर, खास खास घरानाका मान्छेको, व्यापारीको हित हुनेगरी सेटिङमा आएको रहेछ । निरन्तर रूपमा हाम्रो उत्पादनलाई कमजोर बनाउने निर्यात घटाउने गरी आयो । आयात बढावा दिने गरी आयो ।’

उहाँले बजेट निर्माणमा अनधिकृत मान्छे प्रवेश गराउनु वित्तीय अपराध भएको बताउनुभयो । ‘करका दरहरू राष्ट्रले नचिनेको मान्छेले, कानुनले नचिनेको मान्छेले राति छिरेर बनाउने ? योभन्दा राष्ट्रिय गद्दारी के हुन्छ ? यो राष्ट्रघात हो,’ भट्टराईले भन्नुभयो । उहाँले अर्थ मन्त्रालयबाट सिसिटिभी मगाएर को थिए ? भन्ने हेर्न पनि माग गर्नुभयो । ‘त्यो रातिको सिसिटिभी ल्याएर हेरौँ । को आएको छ कि छैन प्रमाणित भइहाल्छ,’ उहाँले भन्नुभयो । अर्थमन्त्रीले सानातिना त्रुटि गर्दा तत्कालीन समयमा डा. रामशरण महतले राजीनामा दिएको, भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा संसदीय छानबिन समिति बनेको स्मरण गर्दै भट्टराईले अहिलेको अपराध गम्भीर प्रकृतिको भएको जिकिर गर्नुभयो । ‘योभन्दा ठूलो वित्तीय अपराध केही हुन सक्दैन । अर्थमन्त्रीले कोही आएको छैन भनिहाल्नुहुन्छ । आएको छ भन्न पनि मिलेन । दुनियाँमा कहिल्यै गलत गरेको छु भनेर कसैले भन्दैन । आधार र प्रमाणहरूले पुष्टि गर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले नैतिकता भएको भए अहिलेसम्म अर्थमन्त्रीले राजीनामा दिएर छानबिनको आ≈वान गरिसक्नु पर्नेमा त्यसो नभएकाले अब संसद्ले छानबिन गर्नुपर्ने माग गर्नुभयो । अलिकति नैतिकता हुन्थ्यो भने अर्थमन्त्रीबाट पहल्यै राजीनामा आइसक्नु पथ्र्योे । अझै समय छ । सभामुखको अग्रसरतामा संसदीय छानबिन समिति बनोस् । उहाँले होइन भन्नुभएको छ । हामी हो भनिरहेका छौँ । संसदीय छानबिन समिति बनोस् । त्यसले होइन भन्ने देखायो भने हामी मान्छौँ । यो हाम्रो अडान हो । यो सदन त्यसपछि मात्र अगाडि बढ्छ,’ भट्टराईले भन्नुभयो ।

प्रमुख सचेतक भट्टराई बोलिसकेपछि एमाले सांसदहरू उठेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले स्पष्ट पार्न पाउनुपर्ने नियमावली सम्झाउँदै बस्न आग्रह गर्नुभएको थियो । सुरुमा स्पष्ट पार्न भनिएको र मन्त्रीले स्पष्ट पारेको भन्दै सापकोटाले यसमा सबै सांसद बोलेर छलफलमा जान प्रस्ताव गर्नुभयो । तर, एमालेले संसदीय छानबिन समितिको माग गरेर अवरोध गरेपछि बजेटमाथिको छलफलको बाँकी कार्यक्रमलाई कार्यसूचीबाट हटाएर असार १ गते ११ बजे बस्नेगरी बैठक स्थगित गर्नुभयो ।

अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गर्नुभएको छ । प्रमुख प्रतिपक्षले अर्थमन्त्रीको राजीनामासमेत माग गरेको अवस्थामा अर्थमन्त्री शर्माले उक्त विषयको खण्डन गर्नुभएको हो । प्रतिनिधिसभामा मंगलबार सञ्चार माध्यममा आएका विषयलाई लिएर अर्थमन्त्रीले प्रष्टीकरण दिनुभएको हो । ‘बजेट निर्माण गर्दा राजस्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने कुरा अत्यन्त भ्रामक, कपोलकल्पित, झुटा कथा बनाइएको छ । यसको खण्डन, खारेजी गर्न चाहन्छु,’ उहाँले भन्नुभयोे ।

बजेट निर्माणका लागि अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले गरेको पनि मन्त्री शर्माले जानकारी गराउनुभयो । मन्त्री शर्माले आफूलाई प्राप्त जिम्मेवारीअनुसार काम गरेको बताउनुभयो । अर्थसचिव र राजस्व सचिवले मातहतका विभागीय प्रमुख र कर्मचारीसँग मिलेर, सरोकारवालाका सुझाव लिएर बजेट तर्जुमा गरेको मन्त्रीको भनाइ थियो । मन्त्रीका रूपमा आफूले सरकारको नीति र भिजनलाई नीतिगत रूपमा निर्देशनका रूपमा लिएर काम गरेको उहाँले जानकारी गराउनुभयो । अर्थमन्त्री शर्माले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालनसम्बन्धी अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?