-डम्मर बुढा मगर
बागलुङ । पाटीपौवा तथा धर्मशाला भन्ने बित्तिकै बटुवालाई सम्झिने गरिन्छ । बागलुङमा एक दशक अगाडीसम्म सडकको पहुँच खास्सै थिएन । सडक नहुँदा यहाँका नागरिक पैदल यात्रा गरेर टाढा-टाढा पुग्ने गर्थे । पैदल यात्रुलाई बासस्थानको लागि गोरेटो बाटोको छेउँछाउँहरुमा पाटीपौवा तथा धर्मशाला बनाउने गरिन्थ्यो । बटुवाहरु रात कटाउन यही बास बस्ने गर्थे ।
तर सडक सञ्जालले जिल्लाका सबै क्षेत्र जोडिएपछि यस्तै ऐतिहासिक महत्व बोकेका धर्मशाला र पाटीपौवाहरु लोप हुँदै गएका छन् । केही ठाउँमा भएका संरचना पनि जीर्ण अवस्थामा छन् । यस्ता मौलिक बोकेका संरचनाको संरक्षणमा कसैको ध्यान पुगेको छैन । बागलुङको पश्चिम क्षेत्रमा सडक सञ्जाल र होटल रेष्टुरेण्टको सुविधा नभएको समयमा बटुवा, तीर्थयात्री लगायतका मानिसहरुका लागि विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला र पाटीपौवा संरक्षण अभावमा संकटमा परेका हुन् ।
अधिकांश गाउँठाउँमा रहेका धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि पिउने पानी राखिदिने परम्परा अहिले हराएको छ । एक दशक अघिसम्म पनि ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो । तर, अहिले धेरैजसो ठाउँमा निर्माण गरिएका पाटी पौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ ।
बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाई मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर, अहिले यो चलन हराएको प्रति बुढापाका चिन्तित छन् । बाटोको छेउछाउमा पाटी पौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्न् बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने निसीखोला गाउँपालिका वडा नम्बर ४ का मिन बहादुर बुढा मगरले बताउनुभयो ।
बटुवाहरु दिनभर हिँड्दा थकान हुने र बास बस्नका लागि बस्तीहरु नभेट्याउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरेको उहाँले बताउनुभयो । पहिले–पहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएको हुँदा बटुवालाई बास बस्नका लागि धर्मशाला बरदान सावित हुन्थ्यो ।
‘पहिले त अहिलेको जस्तो होटलहरु थिएनन्, यस्ता सडक सुविधा थिएनन्, गाडी चल्दैनथे, अहिले जताततै गाडी गुड्छन्, एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभर हिँड्नु पथ्र्यो, हिँड्दा हिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो,’ बुढा मगरले भन्नुभयो ‘रातभर त्यही धर्मशालामा बसेर अर्को दिन आफ्नो गन्तव्यमा पुगिन्थ्यो, अहिले त सरर्र गाडी चढ्यो, १÷२ दिन लाग्ने ठाउँमा पनि एकैछिनमा पुग्न सकिन्छ ।’
ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै बागलुङमा यस्तो मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ । ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी-पौवा, धर्मशालाहरु भत्किएका छन् भने केहीका अवशेष समेत बाँकी छैनन् । ग्रामीण क्षेत्रका सौन्दर्यसँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय पालिकाले चासो देखाउन जरुरी भएको स्थानीय बताउँछन् ।
यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र धर्मशाला पछिल्लो समय सडकका कारण कम उपयोग हुँदै आएको निसीखोला गाउँपालिका वडा नम्बर ४ का पूर्णबहादुर नेपालीले बताउनुभयो । जिल्लाको विभिन्न ठाउँमा रहेका दर्जनांै पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा संकटमा परेका छन् । निसीखोलाको कालापैराको फेदमा रहेको धर्मशालालाई स्थानीयले संरक्षण गर्दै आएका छन् ।
निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यमान बुढा मगरले पुराना एतिहासिक सम्पादाको संरक्षणमा आफूहरु निरन्तर लागेको भन्दै पालिकाले पनि त्यस्ता सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गरि रहेको बताउनुभयो । उहाँले आफ्नो वडामा पनि मौलिक सम्पदाहरु लोप हुँदै गएको भन्दै तिनीहरुको संरक्षणमा वडा कार्यालय र युवाहरुलाई जागरुक बनाएको बताउनुभयो ।
दैनिक रुपमा त्यसको लिपपोत गर्न नभए पनि दसैँको समयमा सरसफाई र लिपपोत हुँदै आएको छ । स्थानीयहरुले अहिले त्यहाँ पशुचौपाया समेत बाँध्ने गरेको पाइन्छ । स्थानीय सरकारले उच्च स्थानमा अनावश्यक रुपमा कंक्रिटका भ्यू टावर निमार्ण गर्छन् तर यस्ता एतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिँदैनन् ।
स्थानीय सरकारले बस्तीमा सडक पुर्याउने नाममा जथाभावी डोजर चालउने गरेका छन् तर त्यसले गर्दा पनि यस्ता मौलिक संस्कृति धारपमा परेका छन् । सरोकारवाला निकायले जीर्ण बनेका यस्ता संरचनालाई पुनःनिर्माण गरेर संरक्षण गरिनु पर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच