आइजिपी नियुक्ति विरुद्धको रिट फेरि पनि हेर्दाहेर्दैमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलसामा सुनुवाई भइरहेको मुद्दामा रिट निवेदन विश्व पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

उनीहरूकै बहस बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दै राखिएको हो । पोखरेलका तर्फबाट आइतबार सुरुवाती बहस वरिष्ठ अधिवक्ता एवं सर्वोच्च बार एसोसियनका अध्यक्ष पूर्णमान शाक्यले गर्नुभएको थियो । आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै एआइजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्थाविपरीत बढुवा गरेको रिटमा जिकिर गर्नुभएको छ । गत सोमबार एआइजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

आइतबार विश्वराज पोखरेलका कानुन व्यवसायीले धीरजप्रताप सिंहलाई आइजिपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेश गर्नुभएको छ । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।

रिटकर्ता पोखरेलका तर्फबाट दुई दर्जन कानुन व्यवसायीले बहस गरेका छन् । पोखरेलको तर्फबाट माधव बस्नेत, महादेव यादव, सुनील पोखरेल, रमेश बडाल, शम्भु पोखरेल, कृष्णप्रसाद भण्डारी, पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, हरिहर दाहाल लगायतले बहस गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?