पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी

Read Time = 7 mins

काठमाडौं । सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन् ।

उनीहरुले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले ‘पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुलगायतमा भइरहेको निरन्तरको मुल्यबृद्धि र आमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरुले सरकारले जनतालाई मार्नेगरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् ।

साक्षात्कारमा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले आफुहरु गाडी व्यवसायीमात्र नभएर त्योभन्दा पहिला नागरिक भएको बताउँदै पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सार्वजनिक यातायातमा धेरै नै असर गरेको गुनासो पोख्नुभयो ।

विश्वभर सार्वजनिक यातायातमा सरकारको लगानी हुने भन्दै नेपालमा भने सरकारको तर्फबाट कुनै लगानी नभएको उहाँको टिप्पणी छ । उनले नयाँ गाडी आयात हुने अवस्था नभएको र पुरानो गाडी पनि चलाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको टिप्पणी गर्नुभयो । गाडी भाडाभन्दा पनि सर्वत्र मुल्यवृद्धिले नागरिकको जीवनयापनमा समस्या भएको उहाँको गुनासो छ ।

सार्वजनिक यातायाताको भाडा बढेपछि अरुको नबढ्ने भन्दै उहाँले अन्यमा भाडा बढेमात्र सार्वजनिक यातायातको भाडा बढ्ने स्पष्ट पार्नुभयो । निजी क्षेत्रका सबै व्यवसायीहरु एकजुट भएर लड्नुपर्ने दिन आएको भन्दै अब यातायात व्यवसायी र विद्यार्थीहरु पनि मिलेर पेट्रोलियम पदार्थको मुल्यवृद्धिलाई राष्ट्रिय समस्याको रुपमा लिएर यसको दीर्घकालिन समाधानतर्फ लाग्नुपर्ने बताउनु भयो ।

त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढि भएको दाबी गर्नुभयो । विद्यार्थीहरुले गर्दै आएको आन्दोलन आजसम्म राजनीतिक फाइदाको लागिमात्र भएको उहाँको टिप्पणी छ ।

यसअघि २०७६ सालमा विश्वभरनै पेट्रोलियम पदार्थको मुल्य धेरै नै घटेको स्मरण गर्दै नेपालमा भने त्यतिवेला मूल्य नघटाईएको उनले स्मरण गराउनु भयो । उहाँले त्यतिवेला नेपालका कुनैपनि विद्यार्थी संगठनले आन्दोलन वा विरोध नगरेको पनि दाबी गर्नुभयो ।

उहाँले पेट्रोलियम पदार्थको मुल्यवृद्धि युक्रेनको कारण नभइ सरकारको कारणले भएको आरोप लगाउनु भयो ।

यातायात व्यवसायीले आज नै भाडा बढाएर खुशी भएको भन्दै उहाँले जिविका गरेर खाने जनतालाई मुल्यवृद्धिमा समस्या सुरु भएको बताउनु भयो । नेपालमा पछिल्लो समयमा रोजगारीको समस्या र आम्दानी कमी भईरहेको तर महंगी बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पेट्रोलियम पदार्थको मुल्य बढ्दा जनताको जीवनमा प्रत्यक्ष असर परेको बताउनु भयो । पेट्रोलियम पदार्थको चर्को मुल्यवृद्धिले जनता आत्तिएको भन्दै उहाँले यसले देशमा आर्थिक संकट आएको समेत टिप्पणी गर्नुभयो ।

अन्तर्राष्ट्रिय पेट्रोलियप पदार्थको मूल्यवृद्धिलाई समायोजन गरेको भन्दै सरकार पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट उम्किन नपाउने जिकिर गर्दै रेग्मीले सरकारले केही कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल घटाउनुपर्ने बताउनु भयो ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि अन्तर्राष्ट्रियस्तरमै बढिरहेको भन्दै उहाँले सरकारले विभिन्न कर घटाएर भएपनि जनतालाई राहत दिनुपर्ने बताउनु भयो ।

उहाँले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध अनेरास्वविय क्रान्तिकारी सडकमा आउनेपनि प्रतिवद्धता जाहेर गर्नुभयो ।

यसैगरी, अनेरास्ववियुका महासचिव समिप बडालले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने बताउनु भयो । तर, अहिले देशमा सरकार नै नभएको महसुस जनताले गरिरहेको पनि उहाँको टिप्पणी छ ।

उहाँले सरकार खोज्न पनि सडकमा आउने बताउनु भयो । सरकारले जनताप्रति कुनै चासो नदिएको आरोप लगाउँदै उनले अब जनतालाई पेट्रोलियम पदार्थमासरकारले राहत दिनुपर्ने माग गर्नुभयो ।

उहाँले अहिलेसम्म जनतालाई जगाउनकै निम्ति विद्यार्थीहरुले काम गर्दै आएको पनि स्मरण गराउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?