पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको सर्वत्र विरोध, एमालेद्वारा जवाफ माग, मूल्यवृद्धि बाध्यता भएको सरकारको जिकिर

अनिल क्षेत्री
Read Time = 19 mins

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको कारण सडकदेखि सदनसम्म सरकारको चर्को विरोध भएको छ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै मूल्यवृद्धिलाई लिएर सरकारको चौतर्फी विरोध भएको हो । सडकमा विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले विरोध प्रदर्शन गरेका छन् भने संसद्मा सांसदहरूले सरकारको आलोचना गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । यसअघि गत जेठमा तीनपटक इन्धनको मूल्यवृद्धि भएको थियो । उक्त निर्णयको चौतर्फी विरोध भएपछि सरकारले अधिकतम् प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको थियो । चौतर्फी विरोधको सामना गर्न नसकेपछि घटाएको उक्त मूल्यभन्दा अहिले सरकारले करिब दुई गुणा बढी इन्धनको मूल्यवृद्धि गरेको छ । सातामै दुई पटकसम्म मूल्यवृद्धि गरेको र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अन्य वस्तुमा पनि अत्यधिक मूल्यवृद्धि हुने भन्दै सत्तापक्ष र विपक्षी दलका सांसदहरूले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

मूल्य बढाएर करोडौँ घोटाला गरियो : सांसद अर्याल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर करोडौँ घोटाला भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले स्टक डिजेल पेट्रोल बिक्री रोकेर मूल्यवृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको आरोप लगाउनुभएको हो । बैठकको सुरुमै बोल्दै सांसद अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरूमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौँ रुपैयाँको चलखेल भएको र उक्त घोटालाको छानविन गर्न माग गर्दै भन्नुभयो, ‘मूल्यवृद्धि गर्दै सरकारले राहत हैन आहत दिने काम गरेको छ । यो बेला आहात दिने हैन राहत दिने बेला हो । मूल्यवृद्धिले जनतालाई कष्टकर बनाएको कुरा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । केपी शर्मा ओलीले सरकार छाडेपछि मूल्यवृद्धि गर्न यो सरकारलाई के आइलाग्यो ? यसको जवाफ चाहन्छौँ । जनताको जीवन र जीविकासँग जोडिएको विषयमा किन मूल्यवृद्धि गरियो ? यी विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिनको निम्ति मन्त्रीलाई रुलिङ गर्नको निम्ति माग गर्दछु ।’

मूल्यवृद्धिको कारणबारे सदनमा जवाफ दिन सभामुखको रुलिङ
सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदहरूले इन्धनको मूल्यवृद्धि सम्बन्धमा सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएपछि सभामुख सापकोटाले एमालेका सांसदहरूको मागअनुसार सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन रुलिङ गर्नुभएको हो । इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्दै सभामुखले भन्नुभयो, ‘माननीय सदस्यहरूले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्यतथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’

यो सरकार नाफा कमाउने व्यापारी हो कि बिचौलिया ? : सांसद सिलवाल
विपक्षी दल नेकपा एमालेका सांसद नवराज सिलवालले यो सरकार नाफा कमाउने व्यापारी हो कि बिचौलिया हो ? भन्दै प्रश्न गर्नुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सरकारको वेलफेयर स्टेटवाला अनुहार नराम्ररी कुरूप बनेको टिप्पणी गर्दै सांसद सिलवालले भन्नुभयो, ‘एकै रातमा मट्टीतेल डिजेलमा २७ रुपैयाँ प्रतिलिटर, पेट्रोलमा २१ रुपैयाँ प्रतिलिटर बढाएर यो सरकार जनतामाथि मजाक गरिरहेको छ । गठबन्धन सरकार आफ्नो कर्तव्यबाट च्युत भएको जनताले अनुभूति गर्न थालेका छन् ।’

विपक्षी दल एमालेका सांसद जस्तै सत्तारूढ दलका सांसदहरूले पनि मूल्यवृद्धि नियन्त्रणमा राख्न सरकारसँग माग गरेका छन् । उनीहरूले सरकार मूल्यवृद्धि रोक्न चुकेको समेत टिप्पणी गरेका छन् । सत्तारूढ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले मूल्यवृद्धिबाट जनतालाई राहत दिन माग गर्नुभयो । पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने धारणा राख्दै गुरुङले भन्नुभयो, ‘हालै आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । यो मूल्यवृद्धि घटाएर विकल्पको व्यवस्था गर्नुपर्छ । पेट्रोलियम पदार्थको अविलम्ब विकल्प व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेमकिपाका सांसद प्रेम सुवालले सरकारको गलत नीतिका कारण पनि मुलुकमा इन्धनको मूल्यवृद्धि भएको र जनता मारमा परेको टिप्पणी गर्दै भन्नुभयो, ‘भारतले १५–१५ दिनमा इन्धनको मूल्य बढाएर पठाएको छ । इन्धनसँगै खाद्यान्न र अन्य वस्तुको मूल्य बढिरहेको छ । बिजुली भारतमा दिन रोक्नुप¥यो । नेपालीलाई खाना पकाउन सस्तोमा दिन जरुरी छ । गठबन्धन सरकारले संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध मत दिएकोले पनि यो मूल्यवृद्धि भएको हो । सरकारले यो गल्ती सच्याउन जरुरी छ ।’

एमाले सांसद दामोदार भण्डारीले इन्धनको मूल्यवृद्धिको विरोध गर्दै भन्नुभयो, ‘मूल्यवृद्धि आकासिएको छ । पेट्रोलको भाउ एक महिनामा ४ पटक बढेको छ । काठमाडौं–दुबईको भाडा १४ हजार छ भने काठमाडौं-धनगढीको भाडा १५ हजार पुगेको छ ।’ एमालेकै अर्का सांसद नविना लामाले मूल्यवृद्धिले जनतालाई चुलो बाल्न गाह्रो पारेको बताउँदै भन्नुभयो, ‘सरकारले जनताको मूल्यवृद्धि ढाड सेक्ने गरी बढाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले निमुखा जनताको घरमा चुलो बाल्न गाह्रो परेको छ ।’

पेट्रोलियम पदार्थमा अझै घाटा छ : आपूर्तिमन्त्री बडू
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको सर्वत्र विरोध भइरहँदा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भने पेट्रोलियम पदार्थमा अझै घाटा रहेको बताउनुभएको छ । पेट्रोलियम पदार्थ खरिदभन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको जिकिर गर्दै मन्त्री बडूले जनतालाई थप मारमा नपार्न ग्यासमा मूल्यवृद्धि गर्न नदिएको दाबी गर्नुभयो । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा मन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइए पनि अब योभन्दा बढी घटाउन नसक्ने स्पष्ट पार्नुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गर्दै मन्त्री बडूले भन्नुभयो, ‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएको रेटमा बेच्न सक्दैनौँ । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था हो । अहिले प्रत्येक महिना नौ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरेबापत भारतलाई २२ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’

अन्तर्राष्ट्रिय मूल्यअनुसार नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि : अर्थमन्त्री शर्मा
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन चौतर्फी दबाब परिरहेको बेला अर्थमन्त्री जनार्दन शर्माले भने पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको स्पष्टीकरण दिनुभएको छ । मूल्यवृद्धि सरकारले नभई अन्तर्राष्ट्रिय मूल्य शृंखलामा आएको समस्या र अन्तर्राष्ट्रियस्तरमा भएका युद्धहरूको प्रभावका कारण भएको अर्थमन्त्री शर्माले जिकिर गर्नुभएको हो । सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरूको प्रभावका कारणले बढेको जिकिर गर्दै भन्नुभयो, ‘तेलको मूल्य बढ्यो भन्ने छ । यो हामीले बढाएको हो र ? हामी त चिन्तित छौँ । डलर घटिरहेको छ । हाम्रो पैसा बाहिर गइरहेको छ । त्यसमा सबै डलर जाने हो । पेट्रोलको मूल्य १९९ पुगिसकेको छ । अन्तर्राष्ट्रिय मूल्य शृंखलामा आएको समस्या अन्तर्राष्ट्रियस्तरमा आएका युद्धहरूको प्रभावका कारण मूल्य बढिरहेको छ । खाने तेलको मूल्यको कुरा पनि त्यही नै हो ।’

मूल्यवृद्धिविरुद्ध सडकदेखि सदनसम्म संघर्षको तयारी
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चर्को मूल्यवृद्धिविरुद्ध सडकदेखि सदनसम्म संघर्ष गर्ने तयारी गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक वस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेको ठहर छ । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेको तयारीबारे भन्नुभयो, ‘हामी महँगीविरुद्ध कडाइका साथ प्रस्तुत हुन्छौँ, महँगीको हामी विरोध गर्छौं तर प्रभावकारी विरोध कसरी गर्न सकिन्छ भनेर पार्टीमा पनि छलफल गर्दैछाँै । सरकारलाई महँगी नियन्त्रण गर्न हामीले करका दर घटाएर सन्तुलित बनाउन सुझाव पनि दिएका हौँ । सुनेझैँ गर्छ तर काम गर्दैन, समस्या यसैमा छ ।’ नेकपा एमालेले यसअघि गत जेठ २१ गते नै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध प्रतिनिधिसभामा अत्यन्त जरुरी महत्वको प्रस्ताव पेश गरेर छलफलसमेत भएको थियो ।

राप्रपाले माग्यो निगमसँग मूल्यवृद्धिको कारण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ । आयल निगमलाई सोमबार पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सातवटा प्रश्नको जवाफ मागेको हो । राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरूलाई वार्षिक रूपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयल निगमका कर्मचारीले पाउने बोनस के कति हो ? पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य, त्यसको प्रशोधनमा लाग्ने खर्च, सरकारलाई तिनुपर्ने कर, ढुवानीमा लाग्ने भाडासहितको विवरण माग गरेको हो ।

इन्धनको मूल्यवृद्धि फिर्ता लिन नेकपा बहुमतको आग्रह
नेकपा बहुमतले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको विरोध गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले सोमबार एक विज्ञप्ति जारी गर्दै उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि अत्यधिक भएको भन्दै सडक संघर्षमा आउनसमेत अपिल गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकार भएको आठ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै विज्ञप्तिमा समयानुकूल समायोजन गर्न पनि माग गरिएको छ ।

सार्वजनिक यातायातको भाडामा उच्चवृद्धि
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारीसाधनमा ५.३० प्रतिशतले भाडा बढेको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ । सोमबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल/मट्टीतेलमा २७ रुपैयाँ बढाएको थियो । पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

इन्धनको मूल्यवृद्धिविरुद्ध ठाउँ-ठाउँमा प्रदर्शन
सरकारले पछिल्लोपटक गरेको इन्धनको मूल्यवृद्धिविरुद्ध देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध काठमाडौको टेकुमा विरोध प्रदर्शन गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज ललितजंग बम नेतृत्वका कार्यकर्ताहरूले टेकुको सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । यसअघि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल, मट्टीतेल, ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?