प्रशिक्षणका लागि सुवास र सद्भाव भारत प्रस्थान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ र नम्बर दुई सद्भाव आचार्य प्रशिक्षणका लागि विश्वकै प्रतिष्ठित गल्फ एकेडेमी भारतको बैंग्लोर प्रस्थान गर्नुभएको छ । सुवास र सद्भावसँगै गल्फका युथ डेभलपमेन्ट डाइरेक्टर दीपक आचार्य पनि बैंग्लोर प्रस्थान गर्नुभएको छ । नेपाल गल्फ संघको पहलमा उहाँहरूले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा तीन महिना प्रशिक्षण गर्नुहुने आचार्यले जनाउनुभएको छ ।

टोलीलाई यसअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायतले बिदाइ गर्नुभएको थियो । सुरुवातमा सुवास र सद्भावले तीन महिना प्रशिक्षण गर्नुहुनेछ । तीन महिनापछि सद्भाव सोही एकेडेमीमा दुई वर्षसम्म थप अध्ययन र प्रशिक्षणमा रहने आचार्यले जनाउनुभएको छ । उक्त एकेडेमीमा विशेष गरी पोषण र इन्ज्युरी व्यवस्थापनसम्बन्धी प्रशिक्षण हुने गल्फका युथ डेभलपमेन्ट डाइरेक्टर आचार्यले बताउनुभयो ।

सुवासलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटीले सहयोग गर्नेछन् । ५० प्रतिशत छात्रवृत्तिमा सुवासका लागि तीन महिनामा ६ लाख नेपाली रुपैयाँ खर्च हुनेछ । २५ प्रतिशत छात्रवृत्ति पाउनुभएका सद्भावलाई दुई वर्षको १६ लाख भारतीय रुपैयाँँ प्रशिक्षण खर्च लाग्नेछ । सद्भाव व्यक्तिगत खर्चमा प्रशिक्षणमा जानुहुने भएको हो ।

यो तीन महिनाको प्रशिक्षणपछि सुवास र सद्भावले थाइल्यान्डमा २७ देखि ३० अक्टोबरमा हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सहभागिता जनाउनुहुनेछ । सुवास एमेच्योरतर्फ विश्वमा २६२औँ स्थानमा तथा सद्भाव २७०औँ स्थानमा रहनुभएको छ । गल्फ संघले शीर्ष १० भित्र पर्ने र एसियन गेम्स २०२४ खेल्ने लक्ष्य राखेको छ । यी खेलाडीबाट दक्षिण एसियाली खेलकुद (साग) र एसियन गेम्समा पदकको अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?