जुम्लाका स्थानीय तहको बजेट : शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पुर्वाधार निर्माणमा प्रथामिकता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 15 mins

-विजय रावत

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमसँगै बजेट पनि ल्याएकाछन् । नयाँ बजेटको प्राथमिकताका फेरि पनि कृषि, स्वास्थ्य, शिक्षा, सडक, भौतिक पुर्वाधार निर्माण नै परेकाछन् । जिल्लाको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले नीति तथा कार्यक्रम ९औं नगरसभाबाट सार्वजनिक गर्नुभएकोछ । वर्तमान पञ्चवर्षीय योजना, नेपाल सरकार क्षेत्रगत नीति तथा कार्यक्रम, स्थानीय तहको वार्षिक योजना तथा बजेट दिग्दर्शन ०७४ अनुसार नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको नगरप्रमुख कठायतले जानकारी दिनुभयो । नगरले स्थानीय तह श्रोत परिचालन तथा व्यथापन कार्यविधि ०६९ र स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार नागरिकका आवश्यकता र जनचाहना अनुरूप नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको छ ।

बजेट मार्फत प्रभावकारी योजना बनाई कार्यान्वयन गरिने भएको छ । नीति तथा कार्यक्रममा सघन सौर्य सडक बत्ती जडान, सिसी क्यामेरा जडान, विमान स्थल स्तरोन्नति विस्तार गरी रिफ्यूल केन्द्र स्थापनाका लागि पहल गरिने लगायत नगरपालिका तथा अन्तरपालिका जोड्न र पर्यटन प्रवर्द्धन गर्न केबुलकारको सम्भाव्यता अध्ययन गरिने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र रहेको तिला नदीदेखि कर्णाली प्राविधिक शिक्षालयसम्म जुगाड खोलाको दुवै तर्फका स्थानमा पैदल तथा साइकल लेन विस्तारको योजना बनाएर कार्यान्वयन गरिने नगर प्रमुख कठाएतले जानकारी दिनुभयो ।

भ्रष्टाचारलाई शून्य सहनशीलतामा झारी आर्थिक मितव्ययिताको नीति लागु गरिने छ । ३३ केभिए राष्ट्रिय प्रसारण लाइनको विस्तारका लागि पहल गरिने देखि भौतिक विकास, व्यवस्थित शहरीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, महिला तथा बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य र कृषि क्षेत्रको विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम ल्याएको नगर प्रवक्ता नवराज देवकोटाले जानकारी दिनुभयो ।

नगरको बजेट ५६ करोड

जिल्लाको एक मात्रै चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले आगामी आर्थिक वर्षका लागि चन्दननाथको ५६ करोड ६ लाख ५३ हजारको बजेट सार्वजनिक गर्नुभएको छ । बहुवर्षीय गौरवका आयोजना तथा फोहोरमैला व्यवस्थापनका लागि १३ करोड २६ लाख ७१ हजार, शिक्षा तथा खेलकुदतर्फ १५ करोड ४९ लाख, जनप्रतिनिधिको सेवा सुविधा तलब भत्ता, गोष्ठी सेमिनारका लागि ११ करोड ५० लाख बजेट सार्वजनिक गरिएको छ ।

यस्तै स्वास्थ्यतर्फ २ करोड ६८ लाख, कृषितर्फ ६९ लाख, वन पर्यटन उद्यमतर्फ ३० लाख, ऊर्जा तर्फ १२ लाख, खानेपानी तथा सरसफाईतर्फ ४१ लाख, जलवायु परिवर्तनतर्फ १ करोड २४ लाख, पोषण तर्फ १७ लाख बजेट छ । सहरी विकासतर्फ ४ करोड १५ लाख, लैङ्गिक समानता तथा समावेशीकरणतर्फ २० लाख, श्रम तथा रोजगारतर्फ ७२ लाख, भौतिक तथा पूर्वाधार निर्माणतर्फ पाँच करोड ११ लाख ८२ हजार रहेको चन्दननाथ नगरपाकिाले जनाएको छ ।

त्यस्तै, तातोपानीको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य र सडकलाई प्रथामिकता दिइएको जानकारी दिनुभयो । ५० प्रतिशत अनुदानमा ३ जना दलित विपन्नलाई ईन्जिनियर, डाक्टर पढाउने, प्रविणता तहमा अध्ययनरत २५ जना विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षाको लागि लगानी गर्ने, हरेक महिनाको एक पटक शिक्षक, विद्यार्थी र जेष्ठ नागरिकको घरमै नि:शुल्क स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य बीमाको निरन्ता दिने नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष न्यौपानेले भन्नुभयो,“ कृषितर्फ एक गाउँ, एक बाली पकेट क्षेत्र निर्धारण, डिटिलमैत्री सेवा प्रवाहमा जोड, ५ शैयाको अस्पताल निर्माण, पञ्चेबाजा संरक्षण, पर्यटन प्रवर्द्धन लगायत महिला तथा बालबालिका,लक्षित वर्ग, विपद व्यवस्थापन, बहुक्षेत्रीय पोषण कार्यक्रम, वन वातावरण, यूवा खेलकुद लगायतका क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष न्यौपानेले बताउनुभयो । ” शिक्षा,स्वास्थ्य र सडकलाई प्रथामिकता दिदै तातोपानी गाउँपालिकाले आगामी आर्थिक वष २०७९/०८० का लागि जम्मा ५२ करोड ६६ लाख ३० हजार ३४३ रुपैया बराबरको बजेट ल्याएको तातोपानीले जनाएको छ ।

उपाध्यक्ष रेवती रावलले प्रस्तुत गरेको बजेट अनुसार तातोपानीले सडकतर्फ १ करोड ८२ लाख, ५० हजार, शिक्षातर्फ १ करोड ७३ लाख ५० हजार, स्वास्थ्यमा १ करोड १४ लाख ५० हजार, कृषिमा ८८ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै खानेपानी तथा सरसफाईमा १ करोड ६६ लाख ७५ हजार,नदी नियन्त्रणमा ५५ लाख,खेलकुद, पर्यटन तथा सांस्कृतिक संरक्षणका लागि ८६ करोड २५ लाख, वन वाताबरण तथा विपद व्यवस्थापनमा ४५ लाख, न्याय र कानुनमा ६ लाख,सूचना प्रविधिमा २७ लाख विनियोजन गरिएको छ ।

सिँचाइतर्फ १९ लाख, पशु सेवातर्फ १५ लाख, महिला तथा बालबालिकातर्फ १० लाख, उद्योग उद्यमशीलतामा ३९ लाख ५० हजार, सहकारीतर्फ ८ लाख, लक्षित वर्गको हितका लागि ५२ लाख, बहुक्षेत्रीय पोषण तर्फ ८ लाख, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता तर्फ १० लाख बजेट छुटाइएको छ भने सुशासन तथा सरसफाई विकासमा ४० लाख, जनतासँग अध्यक्ष कार्यक्रममा ८५ लाख र जनता सँग उपाध्यक्ष कार्यक्रममा ८० लाख, पूर्वाधार विकासमा २८ लाख ५० हजार बजेट छुटाइएको छ । समग्रमा तातोपानीले विभिन्न शिर्षकमा गरी आगामी आ.व.का लागि ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैया बजेट छुटाइएको प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभएको छ ।

जिल्लाकै तिला गाउँपालिकाले कृषि क्षेत्रलाई प्रथामिकता दिने देखि लिएर सहुलियतपूर्ण कर्जा व्यवस्थापन सम्म नीति तथा कार्यक्रममा समेटेको छ । उपाध्यक्ष गोरीकला बुढाले तिलालाई समृद्ध र सुशासन योग्य बनाउनका लागि आगामी नीति तथा कार्यक्रम पेस गरेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारबाट फर्केका युवाहरुको सिपलाई मध्यनजर गरी रोजगारी सिर्जना गर्नका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्थापन मिलाइने, पालिका स्तरीय कृषि तथा खाद्य सुरक्षा १० वर्षे दीर्घकालीन रणनीतिक कार्यक्रम कार्यान्वयन गरिने, मार्सि धान, सिमी, फापर, आलु स्याउ तथा ओखर उत्पादन वृद्धि गर्न पकेट क्षेत्रमा उपयुक्त प्रविधि सीप र सिंचाइ सुविधाको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

बाल शिक्षक सहजकर्ता तालिम संञ्चालन तथा बालविकास कक्षालाई बालमैत्री र सिकाइमैत्री बनाई बालबालिकाहरुमा सिर्जनशीलको विकास गर्न शिक्षण सामग्री अनुदान व्यवस्थापन, आधारभुत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि एक आधारभुत विद्यालय एक पुस्तकालय कार्यक्रम संचालन गर्ने नीति अवलम्बन गरिएको छ । स्नातकोत्तर गरेका बेरोजगार युवालाई विकास निर्माण तथा शैक्षिक सुधारका लागि स्यंयमसेवकका रुपमा गाउँ पालिका भर परिचालन गरिने उपाध्यक्ष बुढाले बताउनुभयो ।

तिलाकी उपाध्यक्ष बुढाले आ.व ०७९/०८० मा संचालन गरिने कार्यक्रमको लागि ५२ करोड १३ लाख ४४ हजार ३३१ रुपैयाँ संक्षेपमा प्रस्तवित बजेट प्रस्तुत गर्नुभएको थियो ।
यहाँको हिमा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाले भौतिक पूर्वाधारसहित केही लोकप्रिय कार्यक्रम अगाडि सारेको छ । गाउँपालिकाले ग्रिन रोड रिभरको आधार तयार गर्न यो वर्ष ५० हजार वृक्षारोपण गर्ने बताउनुभयो । पालिकालाई बालविवाह मुक्त बनाउने, अर्गानिक बालीलाई संरक्षण गर्ने, आफ्नै रेडियो स्थापना गर्ने, शिक्षा नीतिको कार्यान्वयनमा जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ ।

विकासका सम्पूर्ण पूर्वाधारहरुको मूल आधार, हिमा बासीको सुखी, खुसी र समृद्धिको सपना पार्नुछ साकार भन्ने नारासहित सम्पन्न हिमा गाउँपालिकाको १२औं गाउँसभाले नीति कार्यक्रम पारित गरेको छ । नीति कार्यक्रममा हिलो मुक्त बाँकी गाउँलाई आरसीसी, पीसीसी बाटो निर्माण, पर्यटीकीय झरना रुपी छहरालाई प्रचारप्रसार तथा पदमार्ग निर्माण, युवाहरुलाई टेवा पुग्ने व्यवसायिक खेति, कच्ची सड्कको स्तरउन्नति, रैथाले बालीको संरक्षण, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई तालिम तथा लघुउद्यम कार्यक्रमलाई जोड दिने कार्यक्रमलाई अघि सारेको छ ।

हिमाका बृहत आयोजनाहरुको डिपिआर गर्ने, हरेक तीन महिनामा सूचना प्रकाशन प्रशारण र पत्रकार भेटघाट गरिने भएको छ । नीति कार्यक्रममा कर्मचारी तथा शिक्षकलाई पुरस्कृत, कृषि पशुपंक्षी र महिला बालबालिकाका शाखाका कार्यक्रमहरु थप बजेटको व्यवस्था गरिने उल्लेख छ ।

यसैगरी ज्येष्ठ नागरिक, सुत्केरी, महिला, अपांगता, असहाय, व्यक्तिहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ । सबै माध्यामिक विद्यालयमा एक नर्सको व्यवस्थापन गर्ने, अन्तिम शुक्रवार अध्यक्ष सँग विद्यार्थी कार्यक्रम राखिने, सुन्दर हिमा सफा हिमा, प्रत्येक घरमा एक घर एक धारा निर्माण गरिने, शान्ति सुरक्षालाई प्रथामिकता दिने, विभिन्न क्षेत्रका उल्लेखनीय कार्य गर्ने व्यक्तिलाई सम्मान गर्ने छ । नीति तथा कार्यक्रमले हरेक क्षेत्रको मनोभावना समेटने प्रयास गरेको छ । ५ लाख भन्दा मुनीका योजना निरुत्साहित गरिएको छ । नाग्मदेखि आचार्यलिही सम्मको हिमा क्षेत्रमा पर्यटकलाई आनन्द लिने तरिकाको विरुवा र सफा हिमा नदी अभियान कार्यान्वयन गरिने पालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो ।

हिमाले आर्थिक वर्ष २०७९/०८० का लागी ३९ करोड ८० लाख ८५ हजार बजेट सार्वजनिक गरेको छ । त्यस्तै सिंजा गाउँपालिकाको ३४ करोड २६ लाख २३ हजारको बजेट ल्याएको छ । कनकासुन्दरी गाउँपालिकाले ४७ करोढ २२ लाख ५२ हजारको बजेट सार्वजनिक गरेको छ । त्यस्तै पातारासी गाउँपालिकाले ४५ करोड ५८ लाख १९ हजार १ सय ४४ रुपैया बजेट सार्वजनिक गरेको पातारासीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?