बितेको दोस्रो सप्ताहको बुधबार मैले ऋग्वेद र यजुर्वेदको साधारण परिचय प्रस्तुत गरेको थिएँ । आज म सामवेद र अथर्ववेदको साधारण परिचय प्रस्तुत गर्न लागेको छु । साम सान्त्वप्रयोगे वा साम (नपुं) षोन्तकर्मणि यस धातुमा सातिभ्यां मनिन्मनिणौ भन्ने सूत्रले मनिन् प्रत्यय भएर साम शब्द बनिन्छ । यसका अनेकौं अर्थ हुन्छन् । सामको प्रसिद्ध अर्थ चाहिँ सान्त्वना दिनु, शान्त पार्नु हुन्छ । मिठो बोलेर अरूलाई सन्तुष्ट पार्नु शान्त गराउनु भन्ने पनि हुन्छ भने वेदका अर्थमा चाहिँ फेरि सामको प्रसिद्ध अर्थ हो गायन । ‘सामस्यगानम्’ भनेर यज्ञमा आहृवान गरिएका देवी, देवता, पितृ आदिलाई खुशी पार्नका निमित्त वेदका ऋचा गान गर्नु भन्ने अर्थमा साम शब्दको प्रयोग गरिएको देखिन्छ ।
अमरकोषमा ‘साम सान्त्वनम्’ भनिएको भेटिन्छ । सामश्चासौ वेदश्चेति सामवेद । गायनकलासँग सम्बद्ध वेदलाई सामवेद भनिन्छ । ‘स्यति छिनत्ति दुःखादिकं पापं वा’ दुखादि र पापलाई नास गर्छ जसले त्यो हो सामवेद । गीतसंगीतसम्बन्धी सकल कुरा भएको एउटै कुनै शास्त्र या पुस्तक या विधा छ भने त्यो हो सामवेद । पौरस्त्येली समाजमा साहित्य, संगीत, कलाविहीनलाई घाँस नखाए पनि चारवटा गोडा नभए पनि परम पशुको संज्ञा उपलब्ध छ । साहित्य, संगीत, कलाविहीनः साक्षात् पशुः पुच्छविषाणहीनः भनेर भर्तृहरिले आफ्नो शतकीय रचनामा भनेका छन् ।
यत्रो महत्व बोकेको सामवेदका आफ्ना मौलिकमन्त्र या ऋचा भने अति नै थोरै छन् भनेको सुनेर तपाईंहरूलाई आश्चर्य पनि लाग्ला । पहिलो वेद ऋक् हो भने दोस्रो हो यजुष् । यसरी हेर्दा तेस्रो क्रममा पर्दछ सामवेद । यसले पहिले मान्छेले कवितात्मक वाणी बोल्यो त्यसपछि उसले गद्याभिव्यक्ति विकास ग¥यो र त्यसपछि मात्रै मान्छेले गीतसंगीततिर ध्यान दिएको रहेछ भनेर पनि बुझ्न सकिन्छ । भारतीय विद्वान्ले सामवेदमा विद्यावारिधि र महाविद्यावारिधि गरेका छन् । संगीतशास्त्रीय, समाजशास्त्रीय र भूगोलशास्त्रीय दृष्टिलेसमेत यसको अध्ययन भएको भेटिन्छ ।
हामी नेपाली भने आफ्ना बाबु हजुर्बाबुको नाम लिन लजाउँछौं र लर्ड मेकाले नोमचम्स्की पढेँ भनेर घिरौंला जत्रा नाक बनाउँछौं । वाह रे दास मनस् । नेस्फिल्ड नपढेको त पढालेखा मान्छे नै ठान्दैनौं । नेपाली भाषाको हातगोडा भाँचे पनि हामीलाई लाज लाग्दैन तर अंग्रेजीको पिँडुलाको रौं झरो भने पितृमृतशोक मनाउँछौं वाह रे नेपाली बुद्धि । आफ्नो नोक्सानीमा भन्दा मालिकको नोक्सानीमा आफ्नो कमजोरी अनुभव गर्ने दास मानसिकता हो यो ।
सामवेद कालक्रमिक हिसाबले तेस्रा क्रममा परे पनि वैषयिक महत्वका दृष्टिले ऋग्यजुपछिको क्रममा आएको देखिन्छ । यसमा जम्मा १८१० मन्त्र रहेका छन् । यिनलाई दुई अर्चिकामा बाँडिएको छ । यजुर्वेदमा अध्याय पूवाद्र्ध र उत्तराद्र्ध भनेजस्तै या ऋग्वेदलाई मण्डल, सूक्त र मन्त्रमा विभाजन गरे झैँ सामवेदका मन्त्र या ऋचालाई दुई आर्चिकामा विभाजन गरिएको भेटिन्छ । आर्चिकाभित्र प्रपाठ नामको विभाजक रहेको देखिन्छ । यसरी प्रथम आर्चिकामा छ प्रपाठ र दोस्रोमा नौ प्रपाठ रहेका पाइन्छन् । सामवेदमा भएका मन्त्रमध्ये ७५ वटा मन्त्रमात्रै सामवेदका मौलिक मन्त्र छन् ।
अरू बाँकी सबै ऋग्वेदका मन्त्र नै रहेका छन् । यज्ञ गर्दा जुन देवताका नाममा चरु हवन गरिन्छ त्यसै देवतालाई खुशी पार्नका निमित्त साम गायन गर्ने प्रचलन थियो पहिले हाम्रा समाजमा । यस प्रकारका सामगायन सामग्री दुई प्रकारका रहेका पाइन्छन् (क) आहृवानपरक : यी मन्त्र गाएर हवनीय देवतालाई बोलाइन्छ (ख) स्तुतिपरक : यिनका माध्यमले आहृवान गरी हवन दिएर परितुष्ट पार्ने क्रममा साम गाएर ती देवी, देवता र पितृलाई खुशी पार्ने नियतले गाइन्छ । यसरी गाउने सामका ऋचामा सात स्वरको उपपयोग गरिन्छ । सामगायनको माधुर्यको आस्वादन नसुनीकन हुँदैन ।
पौरस्त्येली समाजमा गीतसंगीतको विकासका दृष्टिले अन्य सबै वेदको भन्दा सामवेदको महत्व बढी रहेको आकलन गर्न सकिन्छ । नेपालमा संगीत विषय पढाइने गरेका क्याम्पसमा सामवेदको पठनपाठन गर्ने गरिएको मैले सूचना पाएको छैन । नेपाल संस्कृत विश्वविद्यालयले पनि केवल वाल्मीकि विद्यापीठमा मात्रै चारै वेदको पठनपाठनको व्यवस्था मिलाएको छ । वास्तवमा अथर्व वेदलाई आर्थिक उन्नयनका निमित्त या पेशा व्यवसाय विकासलाई दृष्टिपथमा राखेर अध्ययन अध्यापन गर्ने प्रचलनको विकास जबसम्म हाम्रा विश्वविद्यालयले आरम्भ गर्दैनन् त्यो बेलासम्म यी पुराना टकमा मयल जमेर नै रहनेछ ।
यिनलाई अध्यन अध्यापनमा ल्याएर व्याख्याविश्लेषण, खोज अनुसन्धान गर्न पनि प्रारम्भ गरेमात्रै हाम्रा समग्र विधा उपविधाको विकास हुन्थ्यो । आज धेरै नेपाली वेदभन्दा हलुवावेद नै वेदमात्र सम्झने अवस्थामा पुगेका देखिन्छन् । वेद ज्ञान हो चेतना हो समग्र चैतन्यको खानी हो भनेर जहिलेसम्म हामी बुझ्दैनौं हामी परनिर्भर नै रहने छौं ।
अथर्ववेदमा पनि धेरै मन्त्रहरू ऋग्वेदबाटै लिइएका छन् । यो काण्डमा विभाजित रहेको देखिन्छ । यसमा जम्मा अठार काण्ड रहेका छन् । विशेष गरी १९औं र २०औं काण्डका मन्त्र त पूरै ऋग्वेदबाट लिइएका छन् । शैलीका दृष्टिले पनि यो वेद अन्यभन्दा नौलो छ । यो गद्यपद्य मिश्रित रहेको हुनाले अभिनय पनि मिसाउने हो भने नाट्य बन्ने देखिन्छ । रमाइलो कुरो के छ भने मन्त्र, तन्त्रमारण मोहन र उच्चाटनका क्रियालाई पनि यसले आफ्नो वर्णनको विषय बनाएको भेटिन्छ । यसरी हेर्दा यो वेदमा मन्त्र छन्, तिनको प्रयोगको वर्णन छ र प्रयोगको विधि पनि छ ।
यसमा अनेकौं प्रकारका भूत, प्रेत, पिशाच, राक्षस, असुर आदिबाट बच्ने साधनका रूपमा यी मन्त्रतन्त्र विधि र प्रयोगको वर्णन गरेको जस्तो लाग्यो मलाई । हिंस्रक जीवजन्तु जादु टुनामुना आदिबाट पनि बच्न सकियोस् भनेर यी मन्त्र र तिनको विनियोगको व्यवस्था गरिएको देखिन्छ एकातिर भने अर्कातिर सुख, सम्पत्ति, व्यापार व्यवशायका साथै द्यूतक्रीडाको सफलताका निमित्त पनि सम्बद्ध देवतासँग प्रार्थना गरिएको भेटिन्छ । मानवीय स्वास्थ्यसँग सम्बद्ध उपवेद हो आयुर्वेद, यससँग सम्बद्ध धेरै कुराको वर्णन पनि यसमा प्राप्त हुन्छन् ।
यसै कारणले आयुर्वेदलाई अथर्ववेदकै उपवेद मानिन्छ । यतिमात्रै होइन यसमा सूर्यका किरणबाट प्राप्त हुने स्वास्थ्यको वर्णन र अन्य रोगोत्पादक क्रिमिकीटाणुको जुन प्रकारको वर्णन भेटिन्छ त्यसलाई हेर्दा यसभित्रै अर्को ‘कीटाणुशास्त्र’ अनुस्यूत रहेको लख काट्न सकिन्छ । शुक्लयजुर्वेदको ४०औं अध्याय जसरी यो ब्रहृमाण्डका विषयमा, जीवजगत्का पालनीय विषय र तात्विक चिन्तनले भरिएको अध्यायका रूपमा रहेको छ ठीक त्यसैगरी अथर्व वेदको १५औं काण्ड तत्वचिन्तनले भरिएको भेटिन्छ भने १४औं काण्डमा विवाहादि र १८औं काण्डमा चाहिँ अन्त्येष्टि क्रियाविधि र पितृ तथा तिनको श्राद्धका सम्बन्धमा सारा आवश्यक कुरा गरिएको पाइन्छ ।
यति मात्रै होइन अथर्व वेदमा अत्यन्त धेरै ऐतिहासिक तथ्यहरू रहेका छन् जस्तो कि राजनीतिशास्त्र, समाजशास्त्र, व्यापारशास्त्र, स्वास्थ्यशास्त्र, कृमिशास्त्र आदि अनेकानेक कुरा यसमा रहेका पाइन्छन् । यो वेद वैदिक साहित्यमध्ये अन्तिम वेद हो । यसपछि वेद भनेर अर्को आजपर्यन्त कुनै शास्त्र या ग्रन्थ भेटिएको छैन । धेरै दिनसम्म त वेदलाई ‘त्रयी’ शब्दले नै वेद तीनवटा छन् भन्ने संगेत गरिन्थ्यो । यसमा वर्णन गरिएका विषयलाई हेर्दा आर्यअनार्य मिलेर मिसिएर एक अर्काका धर्म संस्कृति देवीदेवता मान्न पूज्न लागे अनिमात्र यस वेदको निर्माण भएको हो कि भन्ने अनुमान वैदिक साहित्यका विद्वानले गरेका छन् ।
आर्यअनार्यका लोकरीति, चालचलन आदिको वर्णन यसमा भेटिन्छ । अठारवटा काण्डमा फैलेको यो वेदमा नभएको कुरो नै केही छैन कि ? जस्तो पनि अनुभव गर्छन विद्वानहरू । अन्य तिन वेदभन्दा निकै समयपछिको हो भन्ने आधार विषय, भाषा, शैली आदिबाट प्राप्त हुन्छ । यो वेद र ब्राहृमण ग्रन्थलाई सन्धिस्थलका रूपमा औंल्याइने प्रचलन विज्ञको रहेको भेटिन्छ । यस वेदको निर्माणाधीन समय या त्यसको केहीमात्रै समयपछि ब्राहृमण ग्रन्थ निर्माण प्रारम्भ भएको हो भन्ने आधार धेरै पाइन्छ । वैदिक साहित्यका अध्येतालाई ज्ञात छ वेद शब्दले चार वेद, ब्राहृमण ग्रन्थ, आरण्यक र उपनिषत् सबै वेद नै हुन् ।
वेद भन्नाले संहिता, तिनको व्याख्या ब्राहृमण, वनमा पढ्ने पढाउने गरेका कारण आरण्यक र आरण्यकले यज्ञका अनेकानेक प्रकारको आविष्कार गरेर दिक्क र पट्यार लाग्ने किसिमका यज्ञयज्ञादिको विकासका कारण र अजमेध, मेषमेध, महिषमेध, अश्वमेधका साथै नरमेधसम्मको विकास गरेर हिंसा, निठुरता र प्राणीको प्राणीबाटै मेध गर्ने जस्ता घोर कर्मकाण्डीय कर्मतन्त्रको व्यवस्था भएपछि उपनिषत्को विकास हुनलागेको देखिन्छ । आगामी दिनमा क्रमशः म ब्राहृमण, आरण्यक र उपनिषत् कसरी वेद मानिन्छन् र यिनको विकास कसरी भयो भन्ने करालाई संक्षिप्त रूपमा प्रस्तुत गर्दै जानेछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच