रासायनिक मलको सकसमा हाम्रो धान दिवस

Read Time = 13 mins

✍️ राजेन्द्र देवकोटा

नेपालको हकमा सामान्य किसानदेखि राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनेसम्मको भूमिका रहेको छ धान बालीको । विश्वका ११३ देशमा धानबाली खेती गर्ने गरिन्छ । भनिन्छ चामल नै जीवनको आधार हो । एसियाली देशहरूमा खाद्यान्न भनेकै धान-चामल भन्ने बुझिन्छ । खाद्यान्न बालीमध्ये उत्पादनको हिसाबले धानबाली प्रथम स्थानमा आउँछ । विश्वका आधाभन्दा बढी जनसंख्याको भोक मेटाउने प्रमुख आधार नै चामल हो । ९० प्रतिशत भन्दा बढी धानको उत्पादनको साथै खपत एसियाली देशहरूभित्रै हुन्छ ।

नेपालमा प्रतिव्यक्ति १३७.५ किलोग्राम चामल उपभोग हुन्छ । यो विश्वभरिमै सबैभन्दा बढी खपत दर हो तर नेपालको आवश्यकता अनुसार धान उत्पादन भने हुन सकिरहेको छैन । जुम्ली मार्सी प्रजातिको धान विश्वकै सबैभन्दा उच्च स्थानमा उत्पादन हुन्छ । धानको उक्त जात जुम्लाको छुम चौरमा उत्पादन हुने गरेको छ । नेपालीहरूको दैनिक आहारमा ऊर्जाको ४० प्रतिशत र प्रोटिनको २३ प्रतिशत योगदान चामलकै रहेको छ । कृषि कूल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत भन्दा बढी योगदान गरिरहेको छ । नेपालमा प्रतिव्यक्ति १३७.५ किलोग्राम चामल उपभोग हुन्छ । यो विश्वभरिमै सबैभन्दा बढी खपत दर हो । तर नेपालको आवश्यकता अनुसार धान उत्पादन भने हुन सकिरहेको छैन ।

नेपालमा मुख्य गरेर दुई सिजनमा धान खेती गरिन्छ । चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने तथा असारदेखि भदौ अन्तिमसम्म रोपेर मंसिरमा बाली भित्र्याउने । यसको अतिरिक्त नेपालमा भदैया र हिउँदे (बोरो) गरी वर्षैभरी तराईमा धान खेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ । तर चैते र वर्षे धानको नै उत्पादन अत्याधिक बढी रहेको छ । बसाइ-सराइँले गर्दा पहाडी क्षेत्रका १८ देखि ३७ प्रतिशत खेतहरू बाँझो हुनपुगेका छन् । सन् १९६० को दशकमा वर्तमानको सबैभन्दा ठूलो धान-चामलको निर्यात भारतले चामल आयात गरेर आफ्नो देशवासीको आवश्यकता प्ररा गर्दै गर्दा नेपाल चामल निर्यात गर्ने मुख्य देशहरूमध्येमा थियो । सन् १९६१ म भारतले सात लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले चार लाख ९१ हजार मेट्रिक टन धान-चामल आयात गरेको बेला नेपालले दुई लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । जसको त्यो बेलाको मूल्य चार करोड ३० लाख अमेरिकी डलर थियो । यो क्रम सन् ८५ को मध्यसम्म घट्दो क्रममा चलेको थियो । १९८५ मा नेपालले एक करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।

नब्बेको दशकको सुरुवातसँगै नेपालको धान-चामल व्यापारको नक्सामा परिवर्तन आयो र नेपाल निर्यातक देशबाट आयातकर्ता बन्न पुग्यो । जबकि त्यसको केही अगाडिदेखि भारत र भियतनामले आफ्नो अवस्थामा लगातार सुधार गर्दै गएर वर्तमानका पहिलो र तेस्रो ठूला चामल निर्यात देश बनेका छन् । हाल नेपालले सबैभन्दा धेरै घाटा व्यहोरिरहेको भारतसँगको व्यापार घाटाको ठूलो हिस्सा धान आयातको छ । १९९० पछि कृषीजन्य उत्पादन बचत कम हुन थाल्नु नै नेपालको बढ्दो व्यापार असन्तुलनको मुख्य कारण हो । नेपालले हरेक वर्ष सयौं करोडको चामल आयात गर्छ । मूलतः भारतबाट, जसले यसलाई राष्ट्रिय बजेटमा गहिरो खाडल बनाइदिन्छ । यसले खाना र पोषण सुरक्षा, ग्रामीण गरिबी र दिगो विकास लक्ष्य प्राप्त गर्न आवश्यक ठूलो धनराशि अन्यत्र पुग्छ ।

प्रमुख समस्यामा किसानले बाली लगाउने समयमा सहज रूपमा रासायनिक मल र बीउ उपलब्ध प्राप्त गर्न सक्दैन अहिले किसान चैते धान रासायनिक मलबिनै गर्न बाध्य भए । वर्षे धानमा पनि समयमै पाउने निश्चित देखिँदैन । धानका लागि दुई चोटी रासायनिक मल हाल्नुपर्ने राय रहेको छ । बिउमा पनि हाइब्रिड धानको बिउमै किसान परनिर्भर बढ्दै गएका हुँदा सो पनि समयमै प्राप्त गर्न किसानले सकिरहेका छैनन् । धान रोपी सकेपछि लाग्ने रोग तथा कीराको प्रकोपसमेत वर्षेनी नेपालमा बढ्दै गइरहेको छ भने आकाशे भरमा खेती गर्ने किसानको लागि पर्याप्त वर्षा हुन नसक्दा उत्पदनसमेत लिन पाउँदैनन् ।

नेपालमा ५१ प्रतिशत जनता आकाशे पानीको भरमा खेती गर्ने गर्छन यसमा पनि करिब ४५ हजार हेक्टर जमिन पाँच÷सात सम्मएको होरो वर्षात् हँुदा डुबानमा पर्ने क्षेत्र छ । मेसिनको प्रयोगलाई बढाइ यान्त्रिकीकरणतर्फ जोड दिनुपर्ने बेला आएको छ । साना तथा सहकारी सिँचाइ कार्यक्रमलाई व्यवस्थित गर्दै ग्रामीण क्षेत्रमा पुर्‍याउन आवश्यक भएको छ । उत्पादन लागत उच्च छ भने सरकारले तोकेको न्यूनतम समर्थन मूल्यको संयन्त्रसमेत प्रभावकारिता देखिएको छैन । स्थिति यस्तोसम्म छ कि नेपाली किसानको धान मुसाले खाने अनि हामीले भारतीय चामल कुहिने अवस्था पुग्न लागेको छ । बाली बीमा, बाढी तथा बेमौसमी वर्षात्, कृषि ऋण तथा धानको सही बजारीकरणसमेत हुन नसक्दा किसान धान खेतीमा त्यति खुशी देखिएका छैनन् ।

सरकारको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । तर, स्थानीय उत्पादनले माग धान्न नसकेपछि चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ७४ अर्ब रूपैयाँको खाद्यान्न आयात भएको छ । जसमा चामल प्रमुख छ । अर्थात्, ११ महिनामा नेपालमा साढे २८ अर्ब रूपैयाँभन्दा धेरैको चामल आयात भएको छ ।

धानको उत्पादकत्व पहिले छिमेकी मुलुकभन्दा नेपालमा राम्रो थियो । तर, चीन र भारतमा हाइब्रिड (वर्णशंकर) र उत्पादन बढी हुने जातका धानको खेती गर्न थालिएपछि उनीहरूले उत्पादकत्व बढाएका छन् । चीनमा धानको उत्पादन प्रतिहेक्टर सात मेट्रिक टन पुगेको छ । एक तथ्यांक अनुसार, २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ मेट्रिक टन धानउत्पादन हुन्थ्यो । ६० वर्षपछि अहिले प्रतिहेक्टर ३.८ मेट्रिक टन फले पनि यो अवधिमा खाने मुख तीन गुणा बढ्दा आन्तरिक उत्पादनले पुग्ने देखिँदैन । धानमा उत्पादकत्व हेर्दा वर्षे धान ३ दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर र चैते धान ४ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर छ । नेपालमा २०२९ सालमा धान-चामल निर्यात कम्पनीको स्थापना भएको थियो । उक्त कम्पनीले तराईका विभिन्न ६ वटा स्थानबाट त्यहाँ उत्पादित धान तथा चामललाई भारततर्फ निर्यात गथ्र्याे । तर, उक्त कम्पनी एक दशक नपुग्दै २०३८ सालमा बन्द भयो ।

प्रसंग धान दिवसको
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रूपमा मनाउने गरिन्छ । वर्षेनी असार १५ मा मनाइने धान दिवसको सन्दर्भमा सरोकारवालाले थोरै चिन्ता गरे पनि अरू समयमा यो विषय सरकारको प्राथमिकतामा खासै पर्ने गरेको छैन । ४३ मुलुकले विसं २०६१ अर्थात् सन् २००४ सालमा संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे । उक्त समूहमा रहेका ४३ मध्येका एउटा राष्ट्र नेपाल पनि थियो । विश्वका झण्डै आधा जनसंख्याको मुख्य आहार मानिने धान उत्पादन प्रोत्साहन गर्न र बढ्दो भोकमरी नियन्त्रणमा सघाउ पु¥याउन उक्त कदम चालिएको थियो ।

विसं २०६१ अर्थात् सन् २००४ मा संयुक्त राष्ट्र संघले ‘धान नै जीवन हो’ भन्ने नारासहित उक्त घोषणा गरेको थियो । राष्ट्र संघले धानवर्ष घोषणा गरेपछि विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी पहिलो पटक विसं २०६२ असार १५ गतेदेखि नेपालमा धान दिवस तथा रोपाइँ दिवसका रूपमा मनाउन थालियो । यसपटक पनि बुधबार १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । बढ्दो चामल आयातलाई प्रतिस्थापन गर्न यहीँ उत्पादन बढाउनेतर्फ ठोस रूपमा सोचेको देखिँदैन । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकाशे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बिउबिजन, मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरूले बताएका छन् । उन्नत जातका धानका बिउमा किसानको पहुँच पुग्ने हो भने २० प्रतिशत सम्म धान उत्पादनमा वृद्धि गर्न सकिने अनुमान विज्ञको राय र सुझाबमा रहेको छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही–च्युरा खान्छन् । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरूले पनि दही–च्यूरा खाई असार १५ मनाउँछन् । दही-च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । सरकारले येतिबेला सबै क्षेत्रमा रासायनिक मलको व्यवस्था गरी धान दिवससँगै अर्थ तन्त्रसँग जोडिएको धानको महत्व र समग्र कमजोरीको आत्मसात गरी धानको उत्पादन र निर्यात मुखी योजना सहित आगामी दिनमा अघि बढ्नुपर्ने देखिन्छ । तर रासायनिक मल नै सकस भई राखेको अवस्थामा दिवसको अर्थ के ? लेखक : कृषि विज्ञ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?