कोरोना संक्रमण बढ्ने क्रममा, नयाँ भेरियन्टलाई नजरअन्दाज नर्गन विज्ञको सुझाव

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । केही समय अघिसम्म नगण्य रूपमा देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा फेरि देखा पर्न थालेको छ । एक प्रतिशतभन्दा कम दरमा संक्रमण पुष्टि भएकोमा अहिले ६ प्रतिशतसम्म पुग्नुले फेरि महामारीको लहर आउने हो कि भन्ने त्रास थपिन थालेको छ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति बिए फाइभ पुष्टि भएको छ । पछिल्लो समय नेपालमा संक्रमितको संख्यामा वृद्धि भइरहेको अवस्थाबीच यो नयाँ उपप्रजाति ‘बिए ५ यू’ भेटिएको हो । ‘बिए ४ यू’ र ‘बिए ५ यू’ भेरियन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोना भाइरस संक्रमण दर विश्वभर पुनः बढिरहेको छ । विश्व स्वास्थ्य संठन डब्ल्यु एचओले यो उपप्रजातिहरूलाई मार्च महिनामा निगरानीको सूचीमा थपेको हो र युरोपमा यो ‘चिन्ताजनक भेरियन्ट’को सूचीमा छ ।

प्रारम्भिक अध्ययनहरूमा कम घातक जस्तो देखिए पनि संक्रमणदर निकै तीव्र भएकाले सतर्कता अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । ‘दुई मात्रामा खोप लगाएको छैन र दीर्घरोगी र जोखिम बढी हुने उमेर समूहका व्यक्तिहरूले भने अलि बढी सतर्कता अपनाउनुपर्छ,’ पुनले भन्नुभयो । ओमिक्रोन भेरियन्ट कोरोना भाइरसका अघिल्ला उत्परिवर्तनहरू भन्दा कम घातक देखिएको प्रारम्भिक विवरणहरू आए पनि यसबारे विस्तृत अध्ययन नभएको विज्ञहरूले बताएका छन् । पछिल्लो समय पहिचान भएका ‘बिए ४ यू’ र ‘बिए ५ यू’ उपप्रजाति नेपालमा सबैभन्दा बढी क्षति पुर्‍याएका डेल्टा भेरियन्ट जस्तो घातक नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकसमेत रहनुभएका पुनले बताउनुभयो ।

‘हालसम्म ‘बिए ४ यू’ र ‘बिए ५ यू’ भेरियन्टका नयाँ लक्षण वा गम्भीर रोगसँग सम्बन्धित छ भन्ने कुराको खासै प्रमाण भेटिएको छैन । यसअघि जस्तो डराउनुपर्ने अवस्था छैन । घातक भएको भए संक्रमण भएका ठाउँमा ठूलो क्षति पुर्‍याउनुपर्ने थियो ।’ यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टहरू देखिएका थिए जसले संक्रमणको ठूलो लहर निम्त्याएका थिए । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको यो भेरियन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ । पछिल्लो समय युरोपका धेरै देशहरूमा अधिकतम् संक्रमण ‘बिए ५ यू’ प्रजातिको छ ।

‘बिए ५ यू’ भेरियन्टबारे अध्ययन हुँदै
नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए ५ यू’ पुष्टि भएको छ । पछिल्लो समय नेपालमा संक्रमितको संख्यामा वृद्धि भइरहेको अवस्थाका बीच यो नयाँ उपप्रजाति भेटिएको हो । ‘बिए ४ यू’ भेरियन्ट पहिलोपटक १० जनवरी २०२२ मा दक्षिण अफ्रिका लिम्पोपोमा भेटिएको थियो । त्यसपछि यो क्रमशः सबै दक्षिण अफ्रिकी प्रान्तमा फैलिएको थियो । ‘बिए ५ यू’ पहिलोपटक गत २५ फेबु्रअरीमा दक्षिण अफ्रिकाको क्वाजुलु-नातालमा पुष्टि भएको थियो । यो पनि अन्य प्रान्तमा फैलिएको थियो । ओमिक्रोनको हालको भेरियन्टको तुलनामा यी दुई भेरियन्ट बढी संक्रामक छन् । यसका साथै, भ्याक्सिन र संक्रमणद्वारा प्राप्त प्रतिरोधी क्षमतामा ह्रास आउँदा पनि संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । ओमिक्रोन भेरियन्टका थुप्रै गुणहरू यसका उपप्रजातिमा पनि पाइने गरेको छ । तर, नयाँ भेरियन्ट ‘बिए २ यू’ भेरियन्टसँग मिल्दोजुल्दो छ । यिनीहरूमा अतिरिक्त उत्परिवर्तन हुने सम्भावना पनि छ । धेरैजसो उत्परिवर्तनहरू अन्य ओमिक्रोन भेरियन्टमा पाइने विशेषताहरूसँग मिल्दोजुल्दो छन् । यद्यपि, यसलाई डब्ल्यु एचओ र स्थानीय स्वास्थ्य टोलीले नजिकबाट निगरानी गरिरहेका छन् ।

सोमबार थप ४० जनामा संक्रमण
सोमबार थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एक हजार ८४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ३४ जना र एक हजार १६३ जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३४४ जना होम आइसोलेसनमा छन् । चारजना संस्थागत आइसोलेसन र चारजना आइसियुमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?