५० लाखको लगानीमा ड्रागन फ्रुटको खेती

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । युवा शक्ति विदेशिए । गाउँका खेतीयोग्य जमिन बाँझिए । केही वर्ष अगाडिसम्म रमणीय रहेका गाउँहरू अहिले उराठिलो बनेका छन् । गाउँमा भएका घरहरूमा धमिरो र लेउ लागेका छन् । गाउँमा काम गर्न सक्ने युवा पाउनै मुस्किल छ । अहिले गाउँमा बालबालिका र वृद्धवृद्धाबाहेक युवा शक्ति भेट्टाउन मुस्किल पर्छ । युवायुवतीहरूमा विदेश मोह बढेपछि गाउँ बस्तीहरू सबै सुनसान छन् ।

केही व्यवसाय गर्न पनि जनशक्ति पाइँदैनन् । जनशक्ति अभावकै बीच पनि बागलुङका एक युवाले ठूलो लगानीमा ड्रागन खेती गर्न थालेका छन् । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ । उहाँले रामरेखा र मालढुंगा माझी बस्तीमा ड्रागन फ्रुट खेतीको थालनी गर्नुभएको हो । ड्रागनको पछिल्लो समय निकै राम्रो मूल्य र बजार माग भएपछि बागलुङ व्यावसायिक उत्पादन गर्नका लागि खेती थालिएको आचार्यले बताउनुभयो ।

आचार्यले गत चैत महिनादेखि रामरेखामा दुई रोपनी जग्गामा ड्रागन फ्रुट खेती गरिरहनु भएको छ । ड्रागन फ्रुटका विरुवा राम्ररी हुर्कन थालेपछि आचार्यले माझीबस्ती नजिकै थप चार रोपनी जग्गामा ड्रागन फ्रुट खेती विस्तार गर्नुभयो । आचार्यको अहिले दुई स्थानमा दुई हजार एक सय ड्रागन फ्रुटका विरुवा रहेका छन् । ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्वमन्त्री लोकेन्द्र विष्ट लगायतले गरेको खेती हेरेर आफूले बागलुङमा यसको सम्भावना देखेर विस्तार गरेको आचार्य बताउनुहुन्छ ।

‘यो फलको माग बजारमा निकै छ, मूल्य पनि राम्रै पर्ने रहेछ, सुरुमा पूर्वमन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीहरूको प्रेरणाबाट मैले यसको खेती गर्ने निधो गरे, जसका लागि मैले अहिले ६ रोपनी जग्गामा ड्रागन फ्रुटका विरुवा लगाएको छु’ आचार्यले भन्नुभयो, ‘मैले दुई हजार एक सय ड्रागन फ्रुटका विरुवा लगाएको छु, सबै विरुवा मोरङबाट ल्याएको हुँ, यो ड्रागन फ्रुट सी भेराइटी मध्येको रातो जातको हो, अहिले यसको स्याहारसुसारमा जटेको छु ।’

आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि ५० लाख रुपैयाँ लगानी गरिसक्नु भएको छ । प्रतिविरुवा ४०० मा खरिद गरेको भन्दै आचार्यले ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायरसमेत व्यवस्थापन गरिसकेको बताउनुभयो । उहाँले ६०० सिमेन्टका पोल र टायरमा दुई हजार १०० विरुवा लगाएको बताउनुभयो । जग्गा व्यवस्थापन, तारबार, टायर, विरुवा र पोल लगायतका लागि ५० लाखभन्दा बढी लगानी गरिसकेको भन्दै अझै लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । आचार्यले १४ थरि फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यसतर्फ लगानी बढाएको बताउनुभयो ।

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरे पनि पछि राम्रो कमाइ हुने गरेको छ । बागलुङमा व्यावसायिक ड्रागन फ्रुटको व्यावसायिक उत्पादन भने भइसकेको छैन । ड्रागन फ्रुट रोपेको एक वर्षदेखि १८ महिनाभित्रै उत्पादन भइसक्ने आचार्यको भनाइ छ । उहाँले ड्रागन फ्रुटको बोक्रा र काइनाको जुससमेत प्रयोग गर्न सकिने बताउनुभयो ।

‘रातो ड्रागन फ्रुटको मूल्य अहिले पनि बजारमा आठसयदेखि एक हजार प्रतिकेजी छ, नेपालमा यसको उत्पादन बढ्दै गएपछि मूल्य केही घट्ला तर यसको बहुउपयोगिताका कारण बजारको माग धान्नै समस्या हुने देखिन्छ’ उहाँले भन्नुभयो, ‘१४ भन्दा बढी फलफूलमा पाइने पोषण तत्व ड्रागन फ्रुटमा पाइने अध्ययनले देखाएको छ, अबको एक वर्षमा आफ्नो ड्रागन फ्रुटको व्यावसायिक उत्पादन भइसक्ने छ ।’

आचार्यले ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुवाती लगानी नै धेरै भएको बताउनुभयो । दक्षिण पूर्वी एसियाका देशहरू भियतनाम फिलिपिन्स थाइल्याड लगायतको देश हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफूल हो । यस फलको जातहरूमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?