नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक: प्रधानमन्त्री देउवा

Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२ औँ प्राज्ञ–सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सकेमा नेपालको विशिष्ट पहिचान स्थापित हुनुका साथै पर्यटन प्रवद्र्धन हुने बताउनु भयो । उहाँले नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै सांस्कृतिक विविधता नेपालको अमूल्य राष्ट्रिय सम्पदा भएको बताउनु भयो ।

उहाँले सबै जात, जाति तथा समुदायको भाषा, संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रंगिचंगी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकारको दृढ रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल जैविक र भौगोलिक विशिष्टताले मात्रै होइन सांस्कृतिक विविधताले पनि सम्पन्न समृद्ध मुलुकको रुपमा परिचित छ । सांस्कृतिक विविधता भनेका हाम्रा अमूल्य राष्ट्रिय सम्पदा हुन् । जसलाई संगीत नाट्यजस्ता प्रदर्शनका कुराले चलायमान, ऊर्जावान बनाइराखेका हुन्छन् । मुलुकका विभिन्न क्षेत्र तथा भेगमा छरिएर बसेका हाम्रा भौगोलिक जीवन, संस्कृति, सम्पदाको संरक्षण गर्दै विश्व बजारमा प्रचारप्रसार गर्नसके त्यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो विशिष्ट पहिचान स्थापित गर्नुका साथै पर्यटन प्रवद्र्धन गरी मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्न सक्थ्यो । नेपालको संविधानले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपी, संस्कृति र सांस्कृतिक सम्पदाको सम्वद्र्धन र संरक्षणको हकको कुरा सुनिश्चित छ । संविधानमा समेटिएको भाषा तथा संस्कृति सम्बन्धी हक, अधिकारको पूर्ण कार्यान्वयन गर्दै मुलुकमा सबै जात, जाति तथा समुदायको भाषा, संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रंगिचंगी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकार दृढ संकल्प छ ।’

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र सम्वद्र्धनमा कलाकार र साहित्यकारहरुको अमूल्य योगदान रहेको बताउनु भयो । उहाँले कलाकारहरुको प्रतिभालाई राष्ट्रिय हीतमा परिचालन गर्नका लागि जोड दिनुपर्ने बताउनु भयो । कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारले आवश्यक सहयोग गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देश नेपालमा कला, संस्कृतिको सिर्जना र संगीतको क्षेत्रमा मात्र होइन लोकतन्त्रको स्थापना, संवद्र्धनमा समेत कलाकार र साहित्यकारहरुले अमूल्य योगदान गरेका छन् । यस्ता कलाकारहरुलाई आ–आफ्नो विधाको क्षेत्रमा थप प्रोत्साहित गर्दै सहकार्य, समन्वय गर्दै उनीहरुको प्रतिभालाई राष्ट्रिय हीतमा अधिकतम मात्रामा परिचालन गर्ने यस प्रज्ञा–प्रतिष्ठानले जोड दिन आवश्यक छ । कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानले अगाडी बढाएका कार्यमा सरकारले आवश्यक सहयोग उपलब्ध गराउने कुरामा आश्वस्त गराउन चाहन्छु ।’

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लोक सङ्गीत, लोक नाट्य र लोक नृत्यहरु लोप हुँदै गइरहेको बताउनु भयो । उहाँले यिनको संरक्षण र सम्वद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो कतिपय लोक सङ्गीत, लोक नाट्य, लोक नृत्य लोप भइसकेका छन् । कतिपय क्रमशः लोप हुँदै गइरहेको अवस्था छन् । यिनको संरक्षण र सम्वद्र्धन गर्नु हाम्रो एक महत्वपूर्ण अभिभारा हो । विश्व मञ्चमा हाम्रा सङ्गीत तथा नाट्य कलालाई प्रश्तुत गर्नुपनि अर्को महत्वपूर्ण काम हो भन्ने मलाई लाग्दछ । त्यसरी नै यस क्षेत्रका दीर्घ साधकहरुको सम्मानका साथै भावि पुस्ताका सहभागिता बढाउँदै लैजानुपनि उत्तिकै महत्वपूर्ण काम हो । देशका विभिन्न भागमा बसेर साधनारत श्रष्टाहरुको भरोसाको केन्द्र यस प्रतिष्ठानले राष्ट्रले अपेक्षा राखेको लक्ष्य प्राप्तिमा अझ सु–स्पष्टका साथ आफ्नो गर्विलो यात्रामा कत्ति विचलित नभई अघि बढिरहोस् । यस काममा प्रतिष्ठानलाई सरकारका तर्फबाट सदैव साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री श्रेष्ठले लोक सङ्गीत, नाट्य र नृत्यको दीर्घ साधकहरुको सम्मान गर्दै भावि पुस्ताको सहभागिता बढाउँदै लैजानु आवश्यक रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?