पशुपति क्षेत्रमा साउन महिनाको तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विगत दुई वर्ष यताका साउन महिनामा आरध्यदेव पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजनले यस वर्ष भने मूल मन्दिरमै प्रवेश गरेर दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ को साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा लाखौँ भक्तजन जम्मा भएर पशुपतिनाथको गजुर दर्शन गरेर फर्केका थिए । यो वर्ष अहिलेसम्म मन्दिर निरन्तर खुल्नुका साथै नित्य, विशेष पूजा चलिरहेको छ । कोरोनाको संक्रमण दर पनि कमै रहेकाले पशुपतिनाथ मन्दिर खोल्ने गरी नै तयारी अघि बढाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । यसैले यो महिनामा धेरै भक्तजनले पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्ने चाहना गर्ने गरेका छन् । त्यसैअनुसार सुरक्षा, स्वयंसेवक परिचालनलगायत तयारी सुरु गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । साउन महिनामा पनि सोमबार पशुपतिनाथमा भक्तजनको धेरै भिड लाग्छ ।

साउन महिनामा पशुपतिनाथमा बागमती मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि भिड लाग्ने गर्छ । कोरोनाका कारण विगत दुई वर्ष बोल बम यात्रा पनि रोकिएको थियो । यसवर्ष भने बोल बम यात्रा पनि जारी गरिने कोषले जनाएको छ ।

साउन महिना, हरितालिका (तिज), बाला चतुर्दशी, महाशिवरात्रि जस्ता पर्वमा लाग्ने भक्तजनको भिडका बेला पशुपति क्षेत्रलाई स्वच्छ राख्ने सीप सिकाउन कोषका सफाइ कर्मचारीलाई केही दिनअघि १० दिने तालिमसमेत दिइएको थियो ।

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?