रामेछाप बस दुर्घटनामा १३ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 4 mins

मन्थली । रामेछापमा मंगलबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो । मंगलबार बिहान करिब सात बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ स्थित सिमानामा दुर्घटना भएको हो ।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरबाट खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा घाइते भएका मध्ये चार जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताउनुभयो ।

थिङका अनुसार मृत्यु भएका १३ जनामध्ये १२ जनाको सनाखत भइसकेको छ । एक जनाको सनाखत गर्ने प्रयास भइरहेको छ । दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो । त्यसमध्ये चार जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा रामेछाप सुनापती गाउँपालिका-५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका-४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाती-५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर हुनुहुन्छ ।

यस्तै, सुनापाती-५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ । उहाँहरूको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, धुलिखेल अस्पतालमा सुनापाती-५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो ।

सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अस्पतालमा अन्य २० जनाको उपचार जारी छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए ।

उनीहरूमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । प्रहरीले बसका चालक दोलखाका प्रेमबहादुर खतानीलाई नियन्त्रणमा लिएको छ । चालकसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको बताएका छन् । ‘चालकसँग सोधपुछ गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको जस्तो देखिन्छ । हामीले हेर्दा पनि ब्रेक नलागेको जस्तो देखिन्छ,’ डिएसपी थिङले भन्नुभयो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?