मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) विविध कार्यक्रम गरी मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रही आएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्ने गर्दछ ।

अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्मगुरुहरू बताउँछन् ।

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, एक भाग आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता छ ।

हरेक मुस्लिमहरूका लागि जीवनमा एकपल्ट साउदी अरबको मक्का मा हज तीर्थयात्रा गर्न जरुरी मानिन्छ यसका लागि एउटा निश्चित समय तय गरिएको हुन्छ । आजबाट मक्कामा जाने हज तीर्थयात्राको यस वर्षका लागि औपचारिक समापन हुने गर्दछ ।
इद पर्वको अवसरमा नेपाल सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको बताएको हो । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिना, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका अध्यक्ष र नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?