स्थानीय तहमा फोहोरमैला व्यवस्थापन प्रयास प्रभावहीन

हिमालय टाइम्स
Read Time = 7 mins

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अव्यवस्थित तरिकाले ठाडो खोल्सीमा फोहोरमैला फाल्ने गरेको पाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनमा लगेर सिधै खोल्सीमा फोहोरमैला मिल्काएको पाइएको हो ।

फोहोरमैला सिधै खोल्सीमा मिल्काउँदा सोभन्दा मुनिका खोला तथा पानीका मुहान प्रदूषित बनाइरहेको देउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष घिमिरेले बताउनुभयो । ‘फोहोरलाई मोहर’ बनाउँदै स्वच्छ, सफा र सुन्दर नगरको नारासहित नगरपालिकाले दिक्तेल बजारमा उत्पादित फोहोरमैला व्यवस्थापनको काम सुरु गरेको थियो । दिक्तेल बजारबाट उत्पादित फोहोरमैला १८ साउन २०७४ देखि १२ किलोमिटर टाढा रहेको देउले सामुदायिक वनमा लगेर मिल्काउन थालिएको थियो । सामुदायिक वनमा हाल डिलबाट सिधै खोल्सा तलतिर फोहोर फाल्ने गरिएको छ । पर्यावरणमा पुग्ने क्षतिको आँकलन नगरी खोल्सामा थुपारिएको फोहोरमैलालाई वर्षाको भलपानीले बगाएर तल्लो बस्तीतिर झारिरहेको देखिन्छ ।

चारैतिर पहिरो गएर बनेको खोल्सीको खोचको पुछारमा ग्याबिन वाल हालेर फोहोरमैला मिल्काउने शर्तमा जग्गा दिइएको भए पनि पर्खाल नहाली फोहोर फाल्न थालिएको अध्यक्ष घिमिरेले बताउनुभयो । नगरपालिकाले तोकिएको स्थानभन्दा नजिकै अर्को खोल्सामा पनि फोहोर फालिरहेको छ । ‘तल ग्याबिन वाल हालेर पानी निकास नजाने गरी ल्यान्डफिल साइट बनाउन दिइएको हो । तर, जथाभावी फोहोरमैला फाल्ने काम भएको छ,’ घिमिरेले भन्नुभयो, ‘फोहोर साप्सुखोलामा मिसिएको छ । डम्पिङ साइट जाने बाटोको स्तरोन्नति गर्नमा नगरको ध्यान गएको छैन ।’

हाल दिक्तेल बजारबाट खाल्ले हुँदै डम्पिङ साइट पुग्ने कच्ची सडक बनेको छ । यसबाहेक लफ्याङ हुँदै डम्पिङ साइटसम्म पुग्ने अर्को बाटो बनाउने सहमति नगरपालिकाले पूरा नगरेको स्थानीय बताउँछन् । भएका कच्ची सडक स्तरोन्नति नहुँदा कतिपय गाडीले बाटैमा फोहोर फालेर फर्कने गरेको स्थानीय प्रेम श्रेष्ठले बताउनुभयो । सिसाका टुक्रा जथाभावी मिल्काउँदा गोठालो र घाँसदाउरा गर्ने स्थानीयलाई चोटपटक लाग्ने गरेको छ । ‘फोहोरमैला तल खोलामा पुगेको छ । तल्लो बस्तीका मान्छेले पिउने पानी दूषित बनाएको छ,’ श्रेष्ठले भन्नुभयो,  ‘कतिपय ट्याक्टर बाटो बिग्रेकै ठाउँमा फोहोर फालेर फर्कने गरेका छन् । वातावरणमा नकारात्मक असर पुगिरहेको छ । जताततै फोहोरमैला र सिसा मिल्काइएको छ । वस्तुगोठाला, घाँसदाउरा जाने स्थानीयलाई समस्या भइरहेको छ ।’

कुहिने फोहोरमैलाबाट कम्पोस्ट मल बनाउने, नकुहिने फोहोरमैलालाई प्रशोधन गर्दै पुनः प्रयोगमा ल्याउने तथा पुनः प्रयोगमा ल्याउन नसकिने फोहोरमैलालाई डम्पिङ साइटमा लैजाने भनिएको थियो । तर, हाल डम्पिङ साइटमा सड्ने, नसड्ने, पुनः प्रयोगमा आउने, नआउने सबैखालका फोहोरमैलालाई एकै ठाउँमा मिल्काउने गरिएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ देखि हलेसी बजार नजिकैको नांगेडाँडामा फोहोरमैला व्यवस्थापन सुरु ग¥यो । नगरपालिकाले फोहोरमैलाको वर्गीकरण गर्दै पुनः प्रयोगमा ल्याउन सकिने सिसाजन्य र कवाडी फोहोरलाई पुनः प्रयोगमा ल्याउने, मल बनाउन सकिने फोहोरलाई मल बनाउन प्रयोग गर्ने र बाँकी रहेको फोहोरलाई डम्पिङ साइटमा लगेर फाल्ने गरी योजना अघि सार्यो । तर, चर्चा गरेजस्तो फोहोरमैलाको व्यवस्थापन भएको देखिएन । फोहोरमैला फाल्न खनिएका खाल्डो भरिसकिएको छ । यस्तै, जन्तेढुंगा गाउँपालिकाले सबैखालका फोहोरमैलालाई एउटै डम्पिङ साइटमा फालिरहेको देखिन्छ । चिसापानीको पुछार मैदानमा सडक नजिकै खाल्डो खनेर फोहोरमैला थुपारिएको छ । खोटाङका अधिकांश स्थानीय तह फोहोरमैला व्यवस्थापनमा असफल देखिएका छन् ।

१० स्थानीय तहमध्ये कतिपय स्थानीय तहले हालसम्म डम्पिङ साइट बनाउने स्थान नै तोक्न सकेका छैनन् भने कतिपयले तोकिएको डम्पिङ साइटमा जथाभावी फोहोरमैला फालिरहेका छन् । कुहिने, नकुहिने र पुनः प्रयोगमा आउने फोहोरमैलालाई अलग–अलग नगरी एकै ठाउँमा लगेर थुपार्दा सरसफाइ अभियान प्रभावहीन देखिएको छ । बढ्दो जनघनत्वका कारण गाउँपालिकाको केन्द्र तथा मुख्य बजारमा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?