कांग्रेस केन्द्रीय समिति बैठक : गठबन्धनबारे प्रदेश सभापतिहरू विभाजित, देउवामाथि कोइरालाको १२ बुँदे सवाल

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज(मंगलबार) पनि बस्दै छ । दिउँसो १ बजेबाट सुरु हुने बैठकमा सोमबार उपसभापति एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको स्थानीय तह निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षालाई मुख्य एजेण्डा बनाएर बोलाइएको केन्द्रीय समिति बैठकको पहिलो दिन सोमबारको बैठकमा पार्टी उपसभापति खड्काले स्थानीय तह निर्वाचनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

पहिलो दिनको बैठकमै पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले पनि समितिको प्रतिवेदन पेश गर्नुभयो । बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरूले स्थानीय निर्वाचनसम्बन्धी प्रदेशगत ब्रिफिङ गर्नुभएको छ । ब्रिफिङका क्रममा स्थानीय चुनावमा गठबन्धन गरिएको बारे प्रदेश सभापतिहरू विभाजित देखिएका छन् ।

गठबन्धनकै कारण प्रदेश १ मा कांग्रेस पहिलो पार्टी बन्यो : थापा
स्थानीय तह निर्वाचन सम्बन्धमा प्रदेश १ को ब्रिफिङ गर्दै प्रदेश सभापति उद्धव थापाले गठबन्धनको प्रशंसा गर्नुभएको छ । गठबन्धनकै जगमा प्रदेशमा कांग्रेस पार्टी पहिलो शक्ति बनेको जिकिर गर्दै सभापति थापाले भन्नुभयो, ‘एक नम्बरमा एक नम्बर नै बनेको छ । यसको कारण गठबन्धन नै हो । कतिपय ठाउँमा गठबन्धन भयो कतिपय ठाउँमा बनेन । १ नम्बर प्रदेशमा पहाडी जिल्लामा गठबन्धन सहमतिका आधारमा बन्यो । पहाडमा गठबन्धन बलियो भयो । मधेशमा हुन सकेन । मोरङमा झन् फितलो भयो । हाम्रै साथीहरू गठबन्धनको विपक्षमा रहनुभयो । महानगरको कार्यपालिका चुनावमा त्यसको झल्को देखियो । गठबन्धन व्यवस्थित बनाउन सकेनौँ । अब आउने चुनावमा पनि ती दलहरूबीच गठबन्धन बनाएर जानुपर्छ । पार्टीभित्रको समस्या समधान गर्नुपर्छ । चुनावपछि समस्या बढेर गएको छ । त्यसलाई हल गर्नुपर्छ । पार्टीलाई एक बनाएर जानुपर्छ ।’ सभापति थापाले आगामी प्रदेश तथा संघको चुनावमा भने केन्द्रबाट मापदण्ड बनाउनुपर्ने र गठबन्धनका दलका नेताहरूबीच छलफल हुनुपर्ने सुझाव पनि दिनुभयो ।

एकीकृत समाजवादीले ठूलो भाग खोज्दा बिग्रियो : शर्मा
प्रदेश १ का सभापति उद्धव थापाले गठबन्धनको प्रशंसा गर्दा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले आलोचना गर्नुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकका क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै सभापति शर्माले स्थानीय तह निर्वाचनमा केन्द्रमा भएको सहमतिअनुसार बलियो गठबन्धन हुन नसकेको टिप्पणी गर्दै भन्नुभयो, ‘गठबन्धन गर्दा पनि हाम्रो प्रदेशका केही ठाउँमा अपेक्षित परिणाम आएन । यद्यपि, हामी बहुमतको अवस्थामा छौँ । अपेक्षित परिणाम नआउनुमा गठबन्धन दलबीच अविश्वास पनि कारण भयो । नेकपा एकीकृत समाजवादी संविधानअनुसार पार्टी त बन्यो तर जनअनुमोदित थिएन । एमालेबाट फुटेकाले ठूलो भाग चाहियो भन्यो, त्यसकारण पनि परिणाम बिग्रियो । अर्को कुरा माओवादी केन्द्रले कांग्रेसको भरोसा खोज्ने तर विश्वास नगर्ने समस्या देखियो । अबको निर्वाचनमा गठबन्धन नहुने ठाउँमा नगरौँ, गर्ने ठाउँमा बलियो गरी गरौँ ।’

गठबन्धनका अन्य दलले घात गरे : यादव
केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा गठबन्धनका अन्य सदस्य दलहरूले घात गरेको आरोप लगाउनुभयो । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र, नेकपा एस र जसपाले चुनावमा कांग्रेसले धोका दिएको आरोप लगाइरहेका बेला यादवले भने मधेश प्रदेशमा कांग्रेसलाई अन्य दलले धोका दिएको आरोप लगाउँदै भन्नुभयो, ‘मधेश प्रदेशका आठ जिल्लामध्ये चार जिल्लामा कांग्रेसले जिसस बनाएको छ । तर, जिससको निर्वाचनमा गठबन्धनका अन्य दलले एमालेलाई सघाएर धोका दिएका छन् । समीक्षा गर्नुपर्छ ।’

गठबन्धनले सफलता प्राप्त गर्‍यो : बानियाँ
केन्द्रीय समितिको बैठकमा बागमती प्रदेशका प्रदेश सभापति इन्द्र बानियाँले स्थानीय चुनावमा गठबन्धनले सफलता पाएको र कांग्रेसको स्थिति सुधार भएको रिपोर्टिङ गर्नुभएको छ । गत स्थानीय चुनावमा गठबन्धनले सफलता पाए पनि आन्तरिक पार्टी एकतामा भने बलियो बनाउनुपर्ने बताउँदै सभापति बानियाले भन्नुभयो, ‘पार्टीभित्र एकता आवश्यक छ । दलबाहिरको गठबन्धनलाई जोड दिएर पार्टीभित्रको एकता खलबलाउन हुँदैन । पार्टीभित्रको एकता खलबलाएर अन्य दलसँग गठबन्धन गर्ने हो भने त्यसले कांग्रेसको हित गर्दैन ।’

गठबन्धन नगरी चुनाव लडेको भए थप सफलता प्राप्त हुन्थ्यो : पुन
लुम्बिनी प्रदेश नेपाली कांग्रेसका सभापति अमरसिंह पुनले स्थानीय तहको चुनावमा आफूहरूको अधिकार केन्द्रबाट खोसिएको गुनासो गर्नुभयो । सोमबार केन्द्रीय समिति बैठकमा चुनावी रिपोर्टिङ गर्दै प्रदेश सभापति पुनले चुनावमा टिकट बाँड्ने अवसर नपाएको गुनासो गर्दै भन्नुभयो, ‘कांग्रेस विधानसम्मत चलेन, प्रदेश र स्थानीय तहलाई दिएको अधिकार केन्द्रबाट खोसियो, हामीले टिकट बाँड्ने अधिकार पाएनौँ । गठबन्धन गर्दा पनि प्रदेशमा कांग्रेस कमजोर भयो । चुनाव अगाडि मैले कांग्रेस भारतीय कांग्रेस बन्छ भनेको थिएँ । गठबन्धन गर्दा पनि धेरै सिट जित्न सकिएन । प्रदेशमा माओवादी बलियो छ, गठबन्धनको नाम लिन चाहेनन्, कमजोर ठाउँमा मात्र भयो । गठबन्धनभन्दा एक्लै लडेको भए राम्रो हुन्थ्यो ।’

निर्वाचनको सूक्ष्म समीक्षा जरुरी : कोइराला
सोमबार बसेको केन्द्रीय समितिमा बोल्दै पार्टीभित्र संस्थापनइतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवामाथि १२ बुँदे सवाल उठाउनुभएको छ । डा. कोइरालाले स्थानीय तह निर्वाचनमा गरिएको तालमेलको सूक्ष्म समीक्षा गर्नुपर्ने, सरकारका कामकारबाही, महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नु पर्ने भनी विधानले दिएको म्याण्डेट र भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा सभापतिको ध्यानाकर्षण गराउनुभएको छ ।

डा. कोइरालाले सरकार र पार्टी सञ्चालनका सम्बन्धमा प्रश्न उठाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीलाई किन निरन्तरता दिन खोजिएको ? भन्दै प्रश्नसमेत गर्नुभएको छ । बैठकमा बोल्ने क्रममा डा.कोइरालाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पछाडि सुराकी खटाएको समेत आरोप लगाउनुभयो । सभापति देउवाले पार्टी एकलौटी रूपमा सञ्चालन गरेको आरोप लगाउँदै डा.कोइरालाले भन्नुभयो, ‘महाधिवेशनमा हामीलाई ४० प्रतिशत प्रतिनिधिले मत दिएका छन् ।

सभापतिज्यूले ती प्रतिनिधिको भावनाविपरीत निरन्तर अन्याय गर्नुभएको छ । महाधिवेशनपछि सभापतिजीले पार्टी एकलौटी ढंगले चलाउनु मात्रै भएको छैन । मेरो पछाडि सुराकी पनि खटाउनुभएको छ । स्थानीय चुनावमा उहाँले मेरो पछाडि सुराकी खटाउनुभएको थियो । किन खटाउनुभयो ?’ उहाँले स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धनले खासै काम नगरेको भन्दै आगामी निर्वाचनका लागि गम्भीर हुनुपर्ने बताउनुभयो ।

बैठकमा चुनावी समीक्षा, भ्रातृ संस्थाका विधान र पूर्णता, सरकारको समीक्षा, पाँच दलीय गठबन्धन लगायतका विषयमा छलफल हुनेछ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचन मुख्य एजेण्डा भएको जानकारी दिँदै भन्नुभयो, ‘छलफलबाट कसरी गठबन्धनलाई अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्छौँ । सरकारको समीक्षाबारे पनि साथीहरूले कुरा उठाउनुहोला । भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी छ । पार्टीका विभागहरू गठनको काम पनि भइरहेको छ । बैठकको मुख्य उद्देश्य भनेको भ्रातृ संस्थाको गतिशीलता, चुनावको समीक्षा र गठबन्धनको समीक्षा गरेर आगामी चुनावका लागि रणनीति तय गर्नु नै हो ।’ सोमबारको बैठकमा ११ जना केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । बैठक मंगलबार दिउँसो १ बजे पुनःबस्नेछ ।

सभापति देउवाविरुद्ध विरोध प्रदर्शन
केन्द्रीय समिति बैठकअघि डा. शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाविरुद्व विभिन्न नाराहरू लेखिएका प्ले–कार्डसहित विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको गाडीलाई कांग्रेस कार्यालय परिसर प्रवेशमा अवरोध पुर्‍याएपछि प्रहरीसँग घम्साघम्सी परेको थियो ।

तरुण र विद्यार्थीहरूले भ्रातृ संस्थामा एकलौटी नियुक्ति गरेको, अध्यक्ष मात्रै नियुक्त गरेर अपुरो बनाएको, महाधिवेशन सकिएको ६ महिना बितिसक्दा पनि पार्टीका विभागहरू गठन नगरेको तथा विधानबमोजिमका अन्य कामहरू पूरा नगरेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?