भेडासँगै रमाउँदै वीरबलको ३० बर्ष वित्यो

Read Time = 11 mins
A A- A+

-डम्मर बुढा मगर
बागलुङ । शिरमा भेडाको उनबाट बनेको टोपी । शरीरमा कालो र खैरो रंगको मैलिएका कपडा, खुट्टामा फाटेका चप्पल लगाएका र काँधमा घुम (भेडाको उनबाट बनेको पानी छेक्ने कपडा) बोक्नुभएका । बागलुङ र पूर्वी रुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिनुहुन्छ । हँसिलो अनुहार र मिजासिलो स्वभाव । निसीखोला गाउँपालिका वडा नम्बर ६ का बीरबल घर्ती मगर गोठाले जीवन आनन्दपूर्वक बिताएकोमा सन्तुष्ट हुनुहुन्छ ।

वीरबल प्रायः यो सिजनमा यतैतिर भेटिनुहुन्छ । वीरबल एक्लै होइन, उहाँसँगै सयौँ काला, सेता र खैरा रंगका भेडाहरु पनि भेटिन्छन् । यीनै भेडाको रेखदेख गोठालो गर्नु उहाँको दैनिकी हो । मध्यपहाडी लोकमार्गको रोल्पा, रुकुम र बागलुङको सिमाना पातीहाल्ने भन्दा केही माथि तिर पहेँलो त्रिपालले छाएको एउटा गोठ छ । त्यही गोठ छेउमा तीन वटा ठूला–ठूला डरलाग्दा कुकुरहरु पनि छन् ।
उहाँ विहान बेलुकाको खाना यही पकाएर खाने गर्नुहुन्छ भने रात बिताउने पनि यही छाप्रो नै हो । घर्तीले गोठै छेउमा बाँधेर राख्नु भएका तीन वटा कुकुर आफ्नो र भेँडाहरुको ‘सुरक्षा गार्ड’ हुन् । भेँडा चोरी हुन र वन्यजन्तुबाट जोगाउनका लागि यी कुकुरहरु काफी छन् । यो ठाउँ उच्च पहाडी क्षेत्रमा पर्छ । यो क्षेत्र करिब ३२ सय मिटरको उचाइमा छ ।

उहाँको गोठ रहेको ठाउँ रिगताल क्षेत्रमा पर्छ । गोठ रिगताल क्षेत्रमा भए पनि उहाँ त्यो भन्दा निकै माथिल्लो क्षेत्रमा भेडाहरु लिएर जाने गरेको बताउनुहुन्छ । उहाँ सधैभरी एकै ठाउँ भने बस्नु हुन्न । हिउँदमा औल (भल्कोट) र वर्षातको समयमा लेक तिर बढी बस्नु हुन्छ । यसरी लेकबेसी गर्न थालेको तीन दशक बढी भएको बीरबल बताउनुहुन्छ ।

सानै उमेरदेखि भेडा पाल्दै आउनु भएकाे वीरबल बुढ्यौली लाग्दै गए पनि उहाँमा त्यो जोश र जाँगर भने उस्तै छ । १४ वर्षको उमेरदेखि भेडापालन गर्दै आउनु भएका उहाँ अहिले ५१ वर्ष पार गरिसक्नु भयो । हात खुट्टा चल्दा सम्म र शरीरमा शक्ति हुँदा सम्म भँेडा नै पाल्ने सोचमा वीरबल हुनुहुन्छ ।

सामान्य लेखपढ गर्नु भएका उहाँले जीवनमा धेरै बाधा अवरोध पार गर्दै यहाँसम्म आइ पुगेको बताउनुभयो । अहिले निसीखोलाको रिग, पातीहाल्ने, रोल्पा र रुकुमको सिमाना तिलाचन क्षेत्रमा भेँडा चराउने गर्दै आउनु भएको छ ।


वीरबलका बाउबाजे र त्यस अगाडिका पुस्ताले पनि पशुपालन गर्दै आएका थिए । बाउबाजेले गर्दै आएको पशुपालनलाई आफुले निरन्तरता दिए पनि अहिलेका युवा पुस्ताले पशुपालनमा चासो नदेखाएको वीरबल बताउनुहुन्छ ।

‘जिजू बाजेदेखि नै भेडाहरु पाल्दै आएका रैछन्, हामीले पनि त्यही गरियो, जमानाले गर्दा अहिलेका मान्छेले यस्तो गर्दैनन्, म २७ सालको हो, म पछिकाले भेडा पाल्नै छोडे,’ बीरबलले भन्नुभयो ‘अहिले त स्कूल पढ्ने, गाडीहरुमा हिँड्ने विदेश जाने रे, पहिले हाम्रो पालामा पढिएन, विदेश पनि गइएन, यस्तै भेँडाहरु पाल्ने लेक–लेक हिँड्ने गरियो ।’
जमाना फेरिदै गए पछि मान्छेहरुले आफ्नो पेसा समेत फेर्दै आएको बताउनुहुन्छ । आफ्नो पालामा पढाई लेखाइको खासै महत्व नभएको सुनाउँदै अहिले विद्यालय नजाने बालबालिका कोही नभएको उहाँको बुझाई छ । ‘जमानाले गर्दा यस्तो हुँदो रैछ, उतिबेला न पढाई लेखाई थियो, न विदेश जानु, के पेसा गर्ने त ? त्यसो हुँदा यस्तै गाई भैँसी भेडाबाख्राको गोठाले भइयो, पढाइ भए पो विदेश जाने, नोकरी खोज्ने ? पढाइ लेखाई नभए गर्ने यही रैछ’ बीरबलले भन्नुभयो ।

आफूले पनि कक्षा ३ पास गरेको स्मरण गर्दै शिक्षाको महत्व नबुझ्दा विद्यालय छोडेको र सानैदेखि भेँडापालनमा लागेको उहाँको भनाई छ । ‘मैले सानै देखि भेँडा चराउन थालेको हुँ । स्कुलमा तीन पढ्दा पढ्दै गाउँको दाइले लौ लाहुर तिर जाउँ भन्यो, अनि बटौली तिर गएर केही काम गरियो, १३ महिनामा घर फर्किएँ, फेरी स्कूल गएँ, स्कूल गएर तीन पास गरे,’ उहाँले आफ्नो बाल्यकाललाई सम्झिदै भन्नुभयो ‘त्यसपछि छोडेर भेडा गोठाले भएँ, भेडा गोठालो गर्दा गर्दै बिहे गरे ।’
बीरबल भेँडा चराउँदै गर्दा २०५२ सालको जनयुद्धमा माओवादीको अपहरणमा पनि पर्नु भयो । अपरणमा परेर फर्किए पछि पनि उहाँले त्यही पेसालाई अँगाल्नु भयो । उहाँलाई कहिल्यै पेसा बदल्ने सोँच आएन ।

‘२०५२ साल तिर जनयुद्ध भयो, जनयुद्धमा अपहरण गरेर ५ महिना राखे, त्यहाँबाट छुटे पछि पनि फेरि गोठ आएँ र एक डेढ सय भेँडा बनाए, त्यही बेला भेँडामा रोग आयो र सबै मरे र पनि भेँडा पाल्ने रहर मरेन, मन मानेन,’ घर्तीले सुनाउनुभयो ।

रोगले सयौ भेँडा बाख्रा मरेपछि उहाँले केही समय भेँडा पाल्न छोड्नु भयो । वर्षौदेखि भेँडा सँगै रमाउँदै आएको त्यो मन कहाँ यत्तिकै बस्न सक्थ्यो र ? घर्तीले केही समय भेडा पाल्न जोडे पनि पुनः ६ वर्ष अगाडि देखि पुरानै पेसालाई निरन्तरता दिन थाल्नुभयो ।

उहाँले आफूहरुको परम्परागत पेशालाई अहिलेका युवा पुस्ताले बेवास्ता गरेको गुनासो गर्नुहुन्छ । घर्तीले भेँडासँगै लेक बेसी गरेर जीविका चलाउँदै आएको भन्दै अहिलेका पुस्ताले आफ्नो परम्परागत पेशा व्यावसाय माथि घृणा गर्न थालेको बताउनुहुन्छ ।

‘अहिलेका त स्कूल पढ्ने रे, स्कुल पढेर नोकरी खोज्ने रे, विदेश जाने रे, शहर बजारमा बस्ने रे, हाम्ले भेँडा बाख्रा पाल्दा त किन पाल्छौँ, यस्तो जंगलमा हिँड्ने होइन, मैलो भएर यस्तो फाटेको लुगा लाएर, हिँड्ने होइन,’ बीरबलले भन्नुभयो ।

उहाँले विकासले गर्दा परम्परागत कुराहरु धेरै लोप हुँदै गएको र भेँडापालन पनि बिस्तारै हट्दै जान थालेको बताउनुभयो । घर्तीले अहिले गाउँका युवाहरु विदशे जाने र शहर बजारमा बस्ने गर्दा पुराना परम्परागत पेशा व्यावसाय पनि हराउँदै गएको उहाँको भनाई छ । अहिलेका युवाहरुमा गाउँमा व्यवसाय गर्न भन्दा विदेश जान तयार हुने भन्दै गाउँका खेतबारी समेत बाँझिन थालेको उहाँको गुनासो छ ।

‘हामीलाई त सानोमा कति दुःख थियो, बाउबाजे नुन बोक्न बटौली जान्थे रे, तम्घास, चोरकाटे, फेँदीसम्म त म पनि पुगे, उतिबेला ६ रुप्पे पाथी थियो नुन, उतिबेला तलतल गएर मकै कोदो खोजेर, ल्याएर खानु पथ्र्यो,’ उहाँले भन्नुभयो ‘अहिले त कसौडीको ढकनी उगारेर हेर्छन्, आटो देखे खाँदैनन्, उनीहरु त भात नै खाने रे ।’
घर्तीका तीन भाई छोरा छन् । उनीहरु बजार तिर रहेको उहाँको भनाई छ । घर परिवार यही व्यवसायबाट नै चल्दै आएको उहाँको भनाई छ । उहाँले भेँडा बेचेर वार्षिक ८/१० लाख कमाउन सकिने बताउनुहुन्छ ।

‘भेँडाहरु पाल्दा फाइदा छ, तर बढी दुःख हुन्छ, बर्खामा यी यसरी लेक लेकमा बस्नु पर्छ, हिउँदमा पनि डाला काटेर हाल्नु पर्छ,’ अरु केही गर्न सकिएन,’ उहाँले भन्नुभयो ‘मेरो त यही भेँडासँगै लेकबेसी गर्दै जीवन बित्न थाल्यो, छोराहरु तीन भाई छन्, पोखरा तिर छन्, अब उनीहरु आएर यसरी मैले जस्तो भेँडा पाल्दैनन्, उनीहरुलाई त शहर बजार नै राम्रो लाग्छ ।’

भेडालाई खर्क तिर लैजाँदै वीरबल । तस्बिर डम्मर बुढा मगर/हिमालय टाइम्स ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?