कांग्रेस बैठक : स्थानीय निर्वाचनको नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम राख्ने

Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समितिको आजको बैठकमा आगामी दिनमा स्थानीय निर्वाचनको नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ ।

बुधवार पार्टी कार्यालय सानेपालमा बसेकको पार्टीको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्यहरुले यस्तो धारणा राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बिहीवार बाँकी केन्द्रिय सदस्य र पदाधिकारीले बोलेपछि पार्टीले निस्कर्ष निकाल्ने बताउनु भयो ।

उहाँले जनाधारलाई मध्यनजर राखेर गठबन्धनलाई अघि लैजानुपर्ने कुरामा आज केन्द्रिय सदस्यहरुले जोड दिएको बताउनु भयो । प्रवक्ता महतले पार्टीको भ्रातृ संरचना र संगठनहरुलाई पूर्णता दिने र आगामी प्रदेश र संघको निर्वाचनका लागि नयाँ अभियान शुरु गर्नुपर्ने कुरा पनि उठेको बताउनु भयो । उहाँले पार्टी भित्रका असन्तुष्टिहरु पार्टीभित्र नै कुराहरु अभिव्यक्त गर्नुपर्ने कुरापनि छलफल भएको बताउनु भयो । त्यस्तै सरकारका एकवर्षे कामहरुको बारेमा पनि छलप भएको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘अधिकांश साथीहरुले बोलिसक्नुभएको छ । भोलि पदाधिकारी लगायत केही बाँकी केन्द्रिय सदस्यहरुले बोलेर हामी निस्कर्षमा पुग्छौँ । आजको बैठकमा धेरै साथीहरुले बोल्नुभयो । समग्रमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता बारेमा अधिकांश साथीहरुले आफ्नो धारणा राख्नुभएको छ । आउने समयमा गठबन्धनमा जाँदा स्थानीय निकायको अनुभवलाई मध्यनजर राखेर, जनाधारलाई मध्यनजर राखेर गठबन्धनलाई अघि लैजानुपर्छ भन्ने साथीहरुको भनाइ रह्यो । त्यस्तै पार्टीको जतिपनि भ्रातृ संरचना, शुभेच्छुक संगठन विभागहरुलाई चाँडै पूर्णता दिएर अघि बढ्नुपर्ने कुरा भयो । घरघर जाऔँ नेपाली काँग्रेस जिताऔँ अभियान पार्टीको पक्षमा स्थानीय निर्वाचनमा माहोल बनाउन सहयोग पुगेको थियो । त्यस्तै अभियान आउने निर्वाचनअघि पनि गर्नुपर्छ भन्ने विषयमा पनि कुरा भयो । पार्टी भित्रका असन्तुष्टिहरु पार्टीभित्र नै कुराहरु अभिव्यक्त गर्नुपर्छ, बाहिर यी कुराहरु लैजाँदा अन्योल सिर्जना हुने त्यसले आउने निर्वाचनलाई पनि मद्दत नगर्ने, एकताको सन्देश नजाने भएकोले त्यस्तो काम नगरौँ भन्ने अधिकांश साथीहरुको कुरा रह्यो । एकवर्षे नेपाली काँग्रेसको नेतृत्वको सरकारको पनि मोटामोटी टिप्पणी र आँकलन गर्ने काम भयो । कोभिडको व्यवथापन भएको, भ्रष्टाचार रोकिएको, स्थानीय निर्वाचन सफलताको साथ सम्पन्न भएको राम्रो कुरा आयो । महंगी, मूल्यवृद्धि, मलखादको अभावका बारेमा सरकार गम्भीर रहेको छ, यसमा ध्यान दिनुपर्छ भनेर सुझाव आयो ।’

 

प्रवक्ता महतले महंगी, मूल्यवृद्धि, मलखादको अभावका बारेमा सरकार गम्भीर बनेर आगामी निर्वाचन लक्षित हुनुपर्ने पनि बैठकमा माग उठको बताउनु भयो ।

नोटः आज हामीले खिचेको बाइट गुणस्तर हुन नसक्दा सोही बाइटलाई केही सुधारेर पठाएका छौँ । अनुकुलता हेरेर प्रयोग गर्नुहोला । धन्यवाद ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?