एमालेले भन्यो- राज्य डरलाग्दो रूपमा बिचौलियाको नियन्त्रणमा

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने भएको छ । आफूले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । राज्यको नियामक निकाय कमजोर हुँदा बिचौलियाको चलखेल भएर उपभोग्य वस्तुको मूल्य आकाशिएको उहाँले बताउनुभयो । सोमबार काठमाडौंमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा सबैले उपभोक्ताका साझा मुद्दा बनाएर मूल्य नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।

मूल्यवृद्धिले गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुईथरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको उहाँले दाबी गर्नुभयो । ‘मैले नै घरमा हरेकपटक एकथरि तरकारी पाक्ने छ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरि तरकारी पकाउने अवस्था मेरो छैन,’ उहाँले भन्नुभयो, ‘मन्त्री पनि भएँ, सांसद पनि छु । तर, मेरो घरमा दुईथरि तरकारी बनाउने स्थिति छैन । अरूको के होला ?’ एमाले सुशासन विभागका प्रमुख यज्ञराज सुनुवारले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो ।

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभयो । कालो धनलाई सेतो बनाउन अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको उहाँले बताउनुभयो । आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको उहाँको भनाइ छ । ‘कालो धनलाई सेतो बनाउने प्रयासहरू भए । अहिले गभर्नरमाथिको हमला त्यही हो । हिजो उहाँहरूले हटाउने प्रयास गर्नुभएकै हो,’ ज्ञवालीले भन्नुभयो, ‘जम्माजम्मी कारण के ? कसैले बाहिरबाट ४० करोड रुपैयाँ ल्यायो । स्रोत देखाउन सकेन । मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नू । त्यो गर्न नमानेबापत राष्ट्र बैंकमाथि हमला भएको हो । अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् । आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको छ ।’

ज्ञवालीले राज्य डरलाग्दो रूपमा बिचौलियाको नियन्त्रणमा जान थालेको बताउनुभयो । राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालोबजारी र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उहाँको आरोप छ । अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उहाँले उल्लेख गर्नुभयो । राज्यले एकथरि उद्योगलाई लाभैलाभ र अर्कोथरिलाई बन्द गर्नुपर्ने अवस्थामा पु¥याएको उहाँले आरोप लगाउनुभयो ।

रुपन्देही घटना : सडकदेखि सदनसम्म एमालेको विरोध
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्विमिङ पुलमा खसालेको घटनाको एमालेले चर्को विरोध गरेको छ । स्विमिङ पुलमा धकेल्ने प्रहरी अधिकारीलाई कारबाही गर्न नेकपा एमालेले माग गरेको छ । एमालेले यसबारे सडकदेखि सदनसम्म विरोध जनाएको छ । आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले वडा अध्यक्ष क्षेत्रीलाई धकेलेर पुलभित्र फाल्नुभएको थियो ।

डिएसपीमाथि कारबाहीको माग
वडा अध्यक्षलाई स्विमिङ पुलमा धकेल्ने प्रहरी अधिकारीलाई कारबाही गर्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै एमालेले वडाध्यक्ष क्षेत्रीमाथि दुव्र्यवहार गर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी केसीलाई कारबाहीको माग गरेको हो । घटनाको भत्र्सना गर्दै एमालेका नेताहरूले डिएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । यस्तै, युवा संघ नेपालले वडाध्यक्षलाई पोखरीमा फाल्ने डिएसपीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । डिएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै युवा संघ नेपालले सोमबार रुपन्देहीमा विरोध प्रदर्शन गरेको हो । संघका केन्द्रीय अध्यक्ष सुमन पुरीले गृहमन्त्री बालकृष्ण खाँणले भाइ रामकृष्णको आग्रहमा पदको दुरुपयोग गरी एमालेका जनप्रतिनिधिमाथि ज्यादती गरेको आरोप लगाउनुभयो । डिएसपी केसीलाई तत्काल कारबाही गर्न र नगरसभा सञ्चालन गर्न माग गर्दै उनीहरूले आफूहरूको माग सम्बोधन नभए युवा संघले कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रहरी लगाएर शासनको दम्भ देखाउने ? गृहमन्त्रीज्यूले त्यहाँको विस्तृत विवरण सदनमा पेश गर्नुपर्छ : भट्टराई
एमाले सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रहरीको शासन चलाउन खोजेको हो ? भनेर गृहमन्त्रीलाई प्रश्नसमेत गर्नुभयो । गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको नगरपालिकामा प्रहरीको ज्यादती गराएको उहाँको आरोप छ । ‘डिएसपी ठगबहादुर केसीले वडा अध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेको छ । यही हो लोकतन्त्र ?’ उहाँले भन्नुभयो, ‘प्रहरी लगाएर शासन गर्ने कोसिस भइरहेको छ । गृहमन्त्रीको भाइ त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको मातहतमा प्रहरी छ । अनि प्रहरी लगाएर शासनको दम्भ देखाउने ? गृहमन्त्रीज्यूले त्यहाँको विस्तृत विवरण सदनमा पेश गर्नुपर्छ । कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्राएर पोखरीमा चोबल्ने डिएसपी कारबाहीमा पर्छ कि पर्दैन ? हामी हेर्न चाहन्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?