यसवर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै

लेखनाथ पोखरेल
Read Time = 7 mins

काठमाडौं । यसवर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै रहने बताइएको छ । समग्र क्षेत्रको योगदान घटेकोले वृद्धिदरमा धक्का लागेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकसम्मको यथार्थ गणना तथा चौथो त्रैमासिकको अनुमानित आर्थिक क्रियाकलापका आधारमा उक्त प्रक्षेपण गरेको हो । सरकारले चालु वर्षको बजेटमा आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । विश्व बैंक र एसियाली विकास बैंकले ४.१ प्रतिशत वृद्धिदर हासिल हुने प्रक्षेपण गरेकोमा तथ्यांक कार्यालयले भने २.१६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । गत वर्ष आर्थिक वृद्धिदर ५.६ प्रतिशत थियो भने कार्यालयले ५.४ प्रतिशत वृद्धिदर अनुमान गरेको थियो । यसवर्ष निर्माण र खानी क्षेत्रमा आएको उल्लेख्य गिरावटका कारण समग्र आर्थिक वृद्धिदर प्रभावित भएको विभागको भनाइ छ ।

तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/०८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर दोस्रो त्रैमासिकमा १.१ प्रतिशत ऋणात्मक थियो । आर्थिक वर्ष २०७६/०७७ मा २.४ प्रतिशतको ऋणात्मक आर्थिक वृद्धि थियो भने २०७३/०७४ मा सर्वाधिक ८.६ प्रतिशतको वृद्धिदर हासिल भएको थियो ।

सरकारले चालु वर्षको बजेटमा आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकोमा राष्ट्रिय तथ्यांक कार्यालयले भने २.१६ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ

त्यस्तै, नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । जसमा कृषि क्षेत्रको २४.१६ प्रतिशत योगदान रहनेछ भने गैरकृषि क्षेत्रको ७५.८८ प्रतिशत योगदान रहनेछ । अघिल्लो वर्ष भने कृषि क्षेत्रको २४.६७ प्रतिशतको योगदान थियो । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा प्राथमिक क्षेत्र अर्थात् कृषि, वन तथा मत्स्य र खानी तथा उत्खननको २४.६ प्रतिशत योगदान रहनेछ ।

जिडिपीमा द्वितीय क्षेत्र अर्थात् उद्योग, विद्युत् तथा ग्यास, पानीको आपूर्ति र निर्माणको १२.९ प्रतिशत योगदान रहनेछ भने सेवा क्षेत्रको योगदान ६२.४ प्रतिशत रहनेछ । सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेसागत, प्रशासिनक तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य रहेका छन् ।

उद्योग क्षेत्रको योगदान भने ५.३२ प्रतिशतमा झर्नेछ । वनस्पति, तोरी, सोयाविन तथा सूर्यमुखी तेल उत्पादनका साथै फलाम तथा स्टिलजन्य उत्पादनमा कमीका कारण उद्योग क्षेत्रमा गत आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि (जिएभी) वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक रहने कार्यालयको प्रक्षेपण छ । त्यस्तै, निर्माण क्षेत्रको योगदान ५.५२ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा निर्माण क्षेत्रमा कुल मूल्य अभिवृद्धि (जिएभी) वृद्धिदर २.६२ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण छ । सार्वजनिक तथा निजी निर्माण कार्यमा आएको शिथिलता र निर्माण सामग्री आयात तथा आन्तरिक उत्पादनमा आएको कमीले निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको हो ।

त्यसैगरी, घरजग्गा क्षेत्रको योगदान ८.३७ प्रतिशत रहने बताइएको छ । घरजग्गा कारोबारमा मन्दी आए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले अघिल्लो वर्षको तुलनामा यस वर्ष २.१७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । त्यसैगरी, शिक्षा क्षेत्रको योगदान ८.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा कुल मूल्य अभिवृद्धि (जीएभी) ४.०७ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । स्वास्थ्य क्षेत्रको योजदान १.९२ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ६.५१ प्रतिशतले कुल मूल्य अभिवृद्धि(जिएभी) वृद्धि हुने अनुमान गरिएको छ ।

प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर
चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार तीन सय ९९ अमेरिकी डलरमा सीमित हुन पुगेको छ । जुन एक लाख ८२ हजार ६ सय ८३ नेपाली रुपैयाँ हो । आर्थिक मन्दीको कारण आर्थिक वृद्धिदरमा संकुचन हुँदा प्रतिव्यक्ति आय बढ्न नसकेको हो । प्रतिव्यक्ति आय गतवर्षकै स्थिर रहेको छ । राष्ट्रिय उत्पादन (जिएनआई) का आधारमा भने प्रतिव्यक्ति आय तीन अमेरिकी डलर बढेर १४ सय १० डलर पुगेको छ । गत वर्ष १४ सय सात डलर थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?