Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

गुल्मीमा ७५ प्रतिशत रोपाइँ

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीमा असार मसान्तसम्म ७५ प्रतिशत धान रोपाइँ सकिएको छ । रासायनिक मलको अभाव भए तापनि पर्याप्त मनसुनी वर्षा भएका कारण असार मसान्तसम्म यस जिल्लामा ७५ प्रतिशत धान रोपाइँ सकिएको हो । गत वर्ष यो समयसम्म यस जिल्लामा ५५ प्रतिशत धान रोपाइँ सकिएको थियो । यो वर्ष धान रोपाइँको प्रतिशत बढेको छ । मकै र जर्डन धान भएकाबाहेक जिल्लाका ठूला फाँटहरूमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैते धानको रूपमा स्थानीय मार्सी, सि–एच ४५, चैते ५, हर्दिनाथ १ रोपिन्छ । यस जिल्लामा नौ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जसमा चैते धान ३५० हेक्टर क्षेत्रफलमा र वर्षे धान आठ हजार ८०३ हेक्टर क्षेत्रफलमा धान रोपिन्छ । त्यस्तै, हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सीलगायत जातका धान रोप्ने गरिन्छ ।

यहाँ उन्नत जातका सावाँमन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धान समेत रोपिएको छ । ‘कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गूणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन्,’ कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, ‘उन्नत र हाइब्रिड जातका धानमा नपाइने गूण स्थानीय जातमा पाइने र यसको भात खाँदा भोक नलाग्ने र कतिपय त बास्नादार पनि हुन्छन् ।’

कृषि ज्ञान केन्द्रले बिउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको भण्डारीले बताउनुभयो । चैते र वर्षे गरी कुल २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादन वृद्धिका लागि विकासे र रैथाने जात धानका बिउ बराबरी लगाइनुपर्ने कृषि विज्ञसमेत रहनुभएका प्रमुख भण्डारीले बताउनुभयो । ‘तर, अहिले रैथानेभन्दा विकासे धान लगाउने चलन बढी छ ।’ उहाँले भन्नुभयो, ‘रैथाने धानका बीउले हावा पानी, रोग सबै भोगिसकेको हुन्छ ।’ अप्ठेरोमा साथ दिनसक्ने रैथाने जातको धान भएको भण्डारीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका अनुसार यस जिल्लामा गत वर्ष पाँच करोड बराबरको चामल आयात भएको थियो । मसिना र बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको भण्डारीको भनाइ छ ।

एकजनाले सरदर बर्सेनि १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार ५०० मेट्रिक टन चामल आवश्यक हुन्छ । त्यसमध्ये करिब १७ हजार मेट्रिक टन चामल जिल्लामै उपलब्ध रहेको भण्डारीको भनाइ छ । ‘पहिले मकै, कोदो, फापर पनि खाने गरिन्थ्यो ।’ भण्डारी भन्नुहुन्छ, ‘अहिले त्यसको खपत घट्दो छ । पाए तीन पहरसम्म भात खाने बानीले चामलको खपत बढ्दो क्रममा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?