निवर्तमान अर्थमन्त्रीसँग समितिले आज बयान लिने

Read Time = 3 mins

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिले शर्मालाई छलफलका लागि बोलाएको छ । निवर्तमान अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित समितिले शर्मालाई बिहीबार बिहान ८ बजे छलफलका लागि बोलाएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार बिहीबार बस्ने समितिको बैठकले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिनेछ । समितिलाई सभामुख अग्नि सापकोटाले १० दिनको समय दिएकोमा अब दुई दिनमात्रै बाँकी रहेको छ ।
अझै केही व्यक्तिको बयान लिन बाँकी नै रहेको र सिसिटिभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएकाले समितिले थप समय आवश्यक पर्ने संकेत दिएको छ ।

समितिले बुधबार अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ । समितिले अन्नपूर्ण दैनिकका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको हो । पत्रकारद्वयले आफूहरू समाचारको विश्वसनीयतामा कुनै शंका नरहेको भन्दै समाचारको स्रोत खोल्न नमिल्ने बताउनुभएको थियो । जेठ १४ गते राती अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ भएको यथेष्ट प्रमाण पाएपछि नै समाचार लेखिएको र समितिलाई पनि सोही जानकारी दिएको पत्रकार थापाले बताउनुभएको छ ।

अन्नपूर्ण पोष्टमा पहिलोपटक अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचारपछि उत्पन्न विवादका कारण अर्थमन्त्री शर्मा राजीनामा दिन बाध्य हुनुभएको थियो । कान्तिपुरलगायत अन्य सञ्चारमाध्यमहरूले समेत प्राथमिकताका साथ अर्थमन्त्री शर्माविरुद्धका समाचारहरू सम्प्रेण गर्दै आएका थिए । तर, अर्थमन्त्री शर्माले भने आफूविरुद्धका आरोप र सामाचारहरूको खण्डन गर्दै आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?