कांग्रेसले २२ दिने राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान चलाउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसले आगामी संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी राष्ट्रव्यापी अभियान चलाउने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले आसन्न निर्वाचनलाई लक्षित गर्दै विशेष अभियान चलाउने निर्णय गरेको हो । बैठकमा केन्द्रीय सदस्यहरूले चुनावलक्षित प्रचारप्रसार र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने माग गरेका थिए । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी भदौ २ गतेदेखि २४ गतेसम्म ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने जानकारी दिँदै भन्नुभयो, ‘हामीले स्थानीय चुनाव अगाडि पनि देशव्यापी अभियान चलायौँ, चुनावलक्षित त्यस्तो अभियान फेरि पनि चलाउनुपर्ने र त्यसले संगठनलाई चुस्त राख्नुका साथै सक्रिय बनाउने कुरा आएको छ । आगामी चुनावलाई लक्षित गरी फेरि त्यस्तै अभियान चलाउने निर्णय भएको छ ।’ केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम अब केन्द्रीय कार्यालयले अभियानको खाका तयार गर्नेछ । कांग्रेसले स्थानीय चुनावअघि एकमहिने अभियान चलाएको थियो ।

कांग्रेस संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन
नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको छ । सभापति देउवाले बुधबार पार्टी संसदीय दलको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको हो । यसअघि प्रमुख सचेतकमा रहनुभएका बालकृष्ण खाँण गृहमन्त्री भएपछि एक वर्षदेखि प्रमुख सचेतक पद रिक्त थियो । त्यस्तै, संसदीय दलकी सचेतक पुष्पा भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएपछि सचेतक पद पनि रिक्त रहेको थियो । यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसक्नु भएकी यादवले पार्टीको कोषाध्यक्षको जिम्मेवारीसमेत बहन गरिसक्नु भएको छ । विश्वकर्मा भने कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?