स्वार्थी पुँजीवादी बाटोमा हिँडेको सत्तारूढ गठबन्धन आफैँ फुटेर जान्छ : ओली

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनमा आफैँ फुट आउने दाबी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कतिपयले सत्तारूढ गठबन्धन फोडौँ भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैँ फुटेर जाने बताउनुभएको हो । उहाँले गठबन्धनमा आबद्ध दलहरू सबै स्वार्थी पुँजीवादी बाटोमा हिँडेकाले उनीहरू कहिल्यै एकताबद्ध हुन नसक्ने तर्कसमेत गर्नुभयो ।

सत्तारूढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरूको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताउनुभयो । देश बनाउने पार्टीको महान् उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरूलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाइ थियो ।

उहाँले भन्नुभयोे, ‘सबैभन्दा अगाडि त एउटा प्रतिक्रियावादी मनशाय बोकेको, देशद्रोही मनशाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ । त्यो अनेक हिसाबले हामीलाई असफल बनाउन आउने, हाम्रा महान् उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ । त्यसलाई हामीले मिल्काउनुपर्नेछ । कतिले भन्छन् यो गठबन्धन फौडौँ । समयक्रममा गठबन्धन आफैं फुट्छ । स्वार्थी पुँजीवादी बाटो हिँडेर कहिल्यै एकताबद्ध हुने सम्भावना नै हुँदैन । यो स्वार्थको खेल हो यिनीहरूको । उद्देश्यमा, गन्तव्यमा एकता होइन । स्वार्थको एकता हो यो । तसर्थ उनीहरूको स्वार्थको एकता स्वार्थको टकरावमा समाप्त हुन्छ । यो नियम हो । त्यसकारण हामीले धेरै हतार गरेर यिनीहरूको यो एकता फोड्नका लागि एकदम चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यकता छैन । यो एकता स्वार्थको टकरावबाट फुट्छ आफ्नै हिसाबले ।’

ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढ्नेसमेत बताउनुभयो । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरू इमानमा नरहने अवस्था अब नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने उहाँले बताउनुभयो ।
ओलीले स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराउनुभयो । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमालेले हार्‍यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो । अर्काको रूखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरूले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने अध्यक्ष ओलीको भनाइ थियो ।

महँगीको विरुद्धमा एमालेले साउन १६ मा प्रदर्शन गर्ने
नेकपा (एमाले)ले महँगी अचाक्ली बढेको भन्दै उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महँगीविरुद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी वनाइएको छ । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ । राजधानीको वसन्तपुरबाट सु्रु हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, उपत्यकाका तीन जिल्लाका पार्टी अध्यक्ष, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

गठबन्धनको धेरै भरोसा गर्दा अपेक्षाकृत नतिजा आएन : नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको गीत बढी गाएकाले स्थानीय चुनावमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भरोसा बढी गर्नाले र अरूको सहारामा बाँच्ने बानीले पार्टीलाई घाटा पर्ने उहाँँले बताउनुभयो । आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने उहाँको दाबी थियो । ‘गठबन्धनको गीत हामीले बढी गायौँ । गठबन्धनको भरोसा धेरै गर्‍यौँ । अरूको भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । अरूको सहारामा बाँच्ने बानी पर्दो रहेछ । अरूको सहारामा बाँच्ने मान्छेले केही गर्न सक्दैन । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनौँ’, नेपालले भन्नुभयो ।

आगामी प्रदेश र संघको निर्वाचनमा धेरै सिट ल्याउनका लागि तयारीमा जुट्न आवश्यक रहेको नेपालको भनाइ थियो । प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने नेपालको दाबी छ । नेपालले तत्कालीन नेकपा फुटाउन केपी शर्मा ओलीको हात रहेको बताउनुभएको छ । नेकपालाई ओलीले एकलौटी रूपमा कम्पनीझैँ गरी चलाउन खोजेपछि आफूहरू एकठाउँमा बस्न नसकेको बताउनुभएको हो । नेकपाका तत्कालीन अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले भन्नुभयोे,’ सरकारमा पनि आफ्नो आदेश पालना गर्नेलाई मात्र मन्त्री बनाउने काम भयो । बहुमत पुग्दैन कि भनेर पार्टीको बैठक नै बोलाइएन ।’ त्यस्तै नेपालले दुई-दुईपटक प्रतिनिधिसभा विघटन हुँदा पार्टी र देशलाई नै नोक्सान पुगेको पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?