कमल इटनी नामका मेरा मित्रले फेसबुकमा पोष्ट गरेका रहेछन्- सिंहदरबारका ती शासक र यी शासक शीर्षकमा । प्रजापरिषद्का नेता टंकप्रसाद आचार्यलाई गिरफ्तार गरिसकेपछि नरशमशेरले सोधेछन्- देशको सरकार भनेको के हो तँलाई थाहा छ ? सरकार भनेको मुटु हो भनेर आचार्यले जवाफ फर्काएछन् । मुट भन्ने थाहा पाउँदापाउँदै बिगार्न हुन्छ त भनी नरशमशेरले भन्दा आचार्यले भनेछन्-मुटुमा कीरा परेपछि चिरफार गर्नुपर्दछ । त्यसपछि बढ्ता बोल्छस् भन्दै उनलाई पिट्न थालिएछ ।
त्यस्तै बहादुर शमशेरले शहीद शुक्रराज शास्त्रीलाई सोधछन्–त्यस्ता कार्य गरेर तँ नेवारले हाम्रो मुलुकमा के खोजेको ? शास्त्रीले मौलिक अधिकार खोजेको भन्दा अधिकार भनेको के भनेछन् । अधिकार भनेको के भन्दा शास्त्रीले फण्डामेन्टल राइट भनेछन् । राइट भनेको के भनी रिसाउँदै सोध्दा हक भन्ने उत्तर दिएपछि हाम्रो राज्यमा तँ नेवारको हक भन्दै बहादुर शमशेर रिसाएको इतिहास इटनीजीले प्रस्तुत गरेका छन् ।
कांग्रेसमा समाजवाद र कांग्रेसी नेताहरूमा समाजवादी चरित्र कुन कुनामा लुकेर बसेको छ पत्तो पाउन मुस्किल पर्ने भइसकेको छ भने साम्यवादलाई हृदयतः स्वीकार गरेर राजनीतिमा होमिएकाहरू नेपालका कम्युनिष्ट पार्टीहरूमा खोज्दा सिला खोजे झैँ खोज्नुपर्दछ ।
नेपालमा त्यस्तै भइरहेको छ । जनता हक खोजिरहेका छन् । बिग्रेको राजनीतिलाई सपार्न उद्यत छन् तर सरकारमा बसेकाहरूले राज्य आफ्नै मात्रै ठान्न थालेका छन् । सिंहदरबार, बालुवाटार र शीतल निवासमा घुमिफिरी अरूको पहुँच पुग्दै नपुगोस्, आफ्नै मात्रै हालीमुहाली चलिरहोस् भन्ने उद्देश्य राजनीतिको हुने गरेको छ । खाली खुट्टा काँकडभिट्टा र कञ्चनपुरदेखि हक खोज्दै सर्वसाधारण पैदल राजधानी आउँदा २३ दिन लाग्छ तर घुम्ने मेचमाथि अन्धो मान्छे भने झैँ सिंहदरबार पूर्णतः मौन रहेको छ । तिनै पीडितसँग भेट गर्नुपर्ला भन्ने डरले सरकार आफू बस्ने वरपर निषेधाज्ञा जारी गरेर सुत्न चाहन्छ ।
नेपालमा हुने गरेको राजनीति, नेताहरूको स्वभाव र जनताको समर्थन अचम्मको छ । नेपालको राजनीतिक परिदृश्यलाई आजसम्म न कसैले यसै हुन्छ भनेर ठोकुवा गर्न सक्दछ न आँकलन गरिएका दुई तीन सम्भावनाबाट बाहिर नै जाने गरेको छ । एकपटक स्थापित भएको अवस्था भविष्यमा कति समय रहन्छ भनेर न कसैले भन्न सक्दछ या कहिले टुंगिन्छ भन्ने नै अनुमान गर्न सकिन्छ । विश्वासै नगरिएको परिस्थिति सिर्जना भएर लामो समयसम्म स्थिर रहने गरेको पनि छ र दीर्घकालसम्म स्थिर होला भनेको अवस्था भोलिपल्टै बदलिने गरेको पनि पाइन्छ । जनताले पूर्णतः बहिष्कार गर्लान् भनेकाले अत्यधिक बहुमत प्राप्त गर्ने र हारको कुनै गुञ्जायस नभएकाको जमानत जफत हुने पनि गर्दछ ।
एकातिर जनताको राजनीतिप्रतिको दृष्टिकोण यस्तो पाइन्छ भने अर्कोतिर दशकौँदेखि उही व्यवहार, दृष्टि र समर्थन पनि देखिन्छ । बीपी कोइरालाले नेपाली कांग्रेसलाई समाजवादी पार्टी भनेर व्याख्या गरेदेखि परिचय पाएको कांग्रेसले अहिलेसम्म पनि त्यो परिचयलाई गुमाउनु परेको छैन । स्थापनाकालमा साम्यवादलाई आफ्नो अन्तिम लक्ष्य निर्धारण गरेका कम्युनिष्ट पार्टीहरूलाई अहिले पनि आमनागरिकले त्यही रूपमा लिएको देखिन्छ । कांग्रेसमा समाजवाद र कांग्रेसी नेताहरूमा समाजवादी चरित्र कुन–कुनामा लुकेर बसेको छ पत्तो पाउन मुस्किल पर्ने भइसकेको छ भने साम्यवादलाई हृदयतः स्वीकार गरेर राजनीतिमा होमिएकाहरू नेपालका कम्युनिष्ट पार्टीहरूमा खोज्दा सिला खोजे झैँ खोज्नुपर्दछ ।
यति हुँदाहुँदै रोचक के छ भने कांग्रेसका नेताहरूले समाजवादको व्याख्यासहित धुवाँदार भाषण रन्काउँदा थपडी बजाउनेहरूको संख्या कत्ति पनि घटेको छैन । लोकतन्त्रको व्याख्या गर्न सक्ने एकादुई नेता छन् र तिनकै आडमा कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टीका रूपमा रहन सफल भएको छ । कम्युनिष्ट भनेको के हो र साम्यवाद कस्तो हुन्छ भन्ने जरो टुप्पो थाहा नपाएकाहरूको भीड नै कम्युनिष्ट पार्टीहरू बनेका छन् र पनि उनैका भाषणबाट नेपालमा साम्यवाद स्थापित हुन्छ भन्नेमा विश्वास गर्ने अझै प्रशस्तै भेटिन्छन् ।
समाजवादको नारा दिएर नथाक्नेहरूलाई आजभोलि मासुबिनाको भोजन नरुच्ने भइसकेको छ । राजधानी बाहिरका जिल्लाकाले नेताहरूलाई कुनै कार्यक्रममा निम्तो डाके भने तारे होटलकै व्यवस्था गर्नुपर्दछ । साम्यवादी भनिएका कम्युनिष्ट पार्टीका नेताहरूको घाँटीबाट आजभोलि ब्ल्याक लेबल पनि छिर्दैन, ब्लु लेबल नै चाहिन्छ । सवारी चलाउँदाको रवाफका बारेमा त वर्णन नै गर्नुपर्दैन । नेपालमा भने यी दुबैखाले दलहरूका नेताहरू सिद्धान्तवादीकै रूपमा रहन सक्नुलाई सामान्य मान्न सकिँदैन । जयजयकार चलिरहेकै छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूलाई लोकतन्त्र र समाजवादका बारेमा दश मिनेट व्याख्या गरिदिनुहोस् न भन्यो भने तीस चालीस प्रतिशतको होसहवास उड्ने निश्चित छ । कांग्रेसका झण्डामा चारतारा किन छन् र राता र सेता तीन धर्काहरू किन राखिएको हो भन्यो भने खोइ बीपीले के सोचर राखेका होलान् भन्लान् जस्ता थुप्रै छन् । समाजवाद र साम्यवादका बीचमा के फरक छ भनेर कम्युनिष्ट पार्टी हाँक्नेहरूले घोकेका भरमा पाँच मिनेट त बोल्लान् तर त्यस्तै पनि पच्चीस प्रतिशत भन्दा बढी त छैनन् जस्तै भइसकेको छ । साम्यवाद भनेको परिकल्पनामात्रै हो यथार्थमा सम्भव छैन भन्ने ज्ञान कतिलाई होला ? यद्यपि कांग्रेस समाजवादी र कम्युनिष्टलाई साम्यवादी नै हुन् भनी ठान्नेहरू पर्याप्त भेटिन्छन् ।
समाजवादी र साम्यवादी भनिएका नेताहरू जहाज चढेर जिल्ला जान्छन् । जहाजबाट उत्रिने बित्तिकै जाडोमा हिटर र गर्मीमा एसी चलाउँदै कार्यक्रम स्थलमा पुग्छन् । घरमा थोत्रो साइकल नभएकाहरूले सय सय रुपैयाँ उठाएर तिनै नेताहरूलाई सय किलाका माला भिराउने क्रम बढ्दै गएको छ । गाउँमा टिनले छाएको घर नभएको नेताले राजधानीमा महल बनाइसकेको छ र पनि फाटेको सुरुवाल लगाएकाले हजार-हजार रुपैयाँ उठाएर नेतालाई जिल्लामा बसुञ्जेल कुनै अप्ठेरो नहोस् भनी व्यवस्थापन गर्ने चलन चलेकै छ ।
एउटा दलका नेताले नाति पुस्तासम्मकालाई सुती-सुती खाने सम्पत्ति जोड्यो भनेर अर्को दलको नेता पनातिलाई सुरक्षित बनाउन कस्सिन्छ । जनसेवा र राष्ट्रसेवामा होइन कि पारिवारिक विरासत र रवाफ बढाउन नेताहरूमा प्रतिस्पर्धा चलिरहेको प्रष्टै देखिन्छ । एकां लज्जां परित्यज्य सर्वत्र विजयी भवेत् भने झैँ आफूलाई जनताको सेवक भनेर नथाक्नेहरू पनि तिनै बनेका छन् । यस्तै नेताहरूको भविष्य सुरक्षित बनाउन दिलोज्यान दिएर कस्सिने जनता पनि यही नेपालमै छन् ।
साथसाथै एकातिर राजनीतिक दलहरू जनतासँग विश्वस्त हुन नसक्ने र जनताको विश्वास जितेको दाबी गर्न नछाड्ने अनि अर्कोतिर जनताले दलहरू र दलका नेताहरूलाई पत्याउँदै नपत्याउने मुलुक नेपाल नै हो । जति नपत्याए पनि बारम्बार तिनै नपत्याएका नेताहरूलाई जनताले रोज्न नछाड्ने देश पनि नेपाल नै हो । भाषणमा, सामूहिक छलफलमा र घरघरमा पारिवारिक चर्चामा भ्रष्टाचार र भ्रष्टाचारीका बारेमा अत्यधिक कुराकानी हुने मुलुक नेपाल नै हो र तिनै भ्रष्टाचारी भनिएकाहरूलाई निर्वाचनहरूमा अनुमोदन गर्दै जनताले आफ्नो अधिकार हस्तान्तरण गरेर संघ, प्रदेश र स्थानीय तहका सरकारमा पठाउने राष्ट्र पनि नेपाल नै हो ।
आजसम्म नेपाली कांग्रेस भन्ने बित्तिकै लोकतान्त्रिक समाजवादी पार्टी भन्ने गरिएको छ । नेकपा एमाले भनेको समाजवादका माध्यमबाट साम्यवादमा पुग्ने लक्ष्य राखेको पार्टी भन्ने ठान्दछन् भने नेकपा माओवादी भनेको साम्यवादकै पक्षधर भन्ने बुझिन्छ ।
राजनीतिका नाममा रा पनि नबुझेकालाई संसद्मा पठाउने, समाजसेवाका नाममा सिन्को नभाँचेकालाई विश्वास गरेर चुनाव जिताउने र जनताका बीचमा जीवनमै नगएकालाई अत्यधिक विश्वास गरेर निरन्तर जनसेवामा लागेकालाई पाखा लगाउने प्रवृत्ति नेपालमै पाइन्छ । नैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा अत्यन्त खराबलाई जान्दाजान्दै स्वागत गर्ने र सदाचार, निष्ठा र आदर्शका पर्यायहरूलाई तिरष्कार गरेका उदाहरण पर्याप्त पाइन्छन् । चुनाव जितेपछि फर्केर एकपटक पनि गाउँमा नआएकालाई पुनः चुनाव जिताउने र गाउँमै बसी गाउँको विकासमा निरन्तर सक्रिय रहने गरेकालाई चुनाव जित्नै नदिने चलन पनि नेपालमै छ ।
यही प्रवृत्तिका माझमा सक्रिय राजनीतिक दलहरू कहिले निर्वाचन जितेको उन्मादमा मात्तिने गर्दछन् भने एकपटक चुनाव हारे भने आत्तिएर के गर्ने र कसो गर्ने गर्दछन् । बहुमत नआए पनि सबैभन्दा ठूलो दल हुने बित्तिकै संसारै जिते जस्तो ठान्ने र अर्को दलभन्दा केही सानो हुनपुगे दलका नेताहरू पार्टी बदल्ने कि दलको नाम फेर्ने भनेर छट्पटिन थाल्दछन् । पार्टीको नाम फेर्ने भन्ने चर्चा नेपाली कांग्रेसमा चलेको अहिलेसम्म सुनिएको छैन तर कम्युनिष्ट नामधारी पार्टीहरूमा भने बेलाबेलामा सुनिन्छ तर नाम फेर्ने हिम्मत गर्न सकेको पनि पाइँदैन ।
नेताहरूका स्वभाव र दलहरूका चरित्र हेर्दा नेपालमा सक्रिय कुनै दल र दलका नेताहरूका बीचमा भिन्नता पाइँदैन । जुनसुकै दलका सरकार गठन भए पनि सरकारले लिएका नीति, नेताहरूका व्यवहार र देशको गति उस्तै छ तर अर्को दलभन्दा आफू भिन्न भएको दाबी सबै दलहरूले गर्दछन् । दलहरूका सिद्धान्तमा समाजवादी, साम्यवादी, उदारवादी, प्रजातन्त्रवादी, राजावादी, कम्युनिष्ट आदि शब्दावलीहरू राखिएको छ तर सबैको चरित्र समान नै पाइन्छ यद्यपि नेताहरू एकले अर्कोलाई औंला ठड्याउन छाड्दैनन् । पुराना र नयाँ भनिएका सबै राजनीतिक दलहरूका बीचमा फरक भएको जनताले अनुभव गर्न सकेका छैनन् ।
यद्यपि आजसम्म नेपाली कांग्रेस भन्ने बित्तिकै लोकतान्त्रिक समाजवादी पार्टी भन्ने गरिएको छ । नेकपा एमाले भनेको समाजवादका माध्यमबाट साम्यवादमा पुग्ने लक्ष्य राखेको पार्टी भन्ने ठान्दछन् भने नेकपा माओवादी भनेको साम्यवादकै पक्षधर भन्ने बुझिन्छ । राप्रपालाई सबैले राजावादी पार्टी भन्दछन् भने स्वतन्त्र पार्टीको सिद्धान्त के हो भन्ने कसैले भेउ पाउन सकेका छैनन् । यी सबै पार्टीका सभापतिहरूका बीचमा या चिनिएका नेताहरूका व्यवहारमा सबै कुरामा समानता बाहेक केही भेटिँदैन तर आमरूपमा यही भाष्य परम्परागत रूपमा नै गरिँदै आइएको छ ।
रेष्टुरेन्ट जाने नेपालीले टेबुलमा राखेका मेनु आद्योपान्त पढ्छ र अन्त्यमा कि मम मगाउँछ कि चाउमिन ल्याउन भन्छ भन्ने गरिन्छ । केही अघिसम्म नेपाली राजनीतिमा पनि ठ्याक्कै त्यस्तै हुँदै आएको थियो । निर्वाचनमा नेपाली जनताले कि त नेपाली कांग्रेस कि नेकपा एमालेलाई छान्दै आएका थिए । आजभोलिका युवाहरूले मम र चाउमिनका अलावा पिज्जा, बर्गर आदि खान रुचि बढाएजस्तै राजनीतिमा पनि अन्य केही दलहरूमा जनताले दृष्टि पुर्याउन थालेको पाइन्छ । मम र पिज्जाले बजार बढाउन कुनै मिहिनेत नगर्ने तर नयाँ परिकारहरूको प्रचार बढ्दै गएजस्तै पुराना दलहरूको सक्रियता बढ्न नसक्दा नयाँहरूले स्थान जमाउँदै जान थालेका छन् । तर, चरित्र र व्यवहारमा फरकपन दिन सकेनन् भने कुनै अर्थ रहँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच